काठमाडौं । अभिनेता प्रदीप खड्का र पल शाह फेरि एकसाथ पर्दामा देखिने हुनुभएको छ । निर्देशक कृषा चौलागाईंले दुवैलाई लिएर चलचित्र ‘उही तिम्रो’ निर्माण गर्ने हुनुभएको हो । चलचित्रको शुक्रबार शुभमुहूर्त गर्दै औपचारिक निर्माण घोषणा गरिएको हो । यसअघि ‘पूजार सार्की’मा सहकार्य गर्नुभएका प्रदीप र पलको जोडीलाई यस चलचित्रमा पनि दर्शकले देख्न पाउनेछन् । चलचित्रमा सिम्रन पन्त र जुना विश्वकर्मासहित लक्ष्मी गिरी, राजाराम पौडेललगायत कलाकारको अभिनय रहनेछ । जुना यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गर्दैहुनुहुन्छ । अभिमन्यु निरविको कथा तथा संवाद रहेको चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गर्नुहुनेछ । पुरुषोत्तम प्रधानले छायांकन गर्ने चलचित्रको निर्माण विशाल चौलागाईंले गर्दै हुनुहुन्छ । चलचित्रको छायांकन आगामी मंसिरदेखि म्याग्दीबाट सुरु हुनेछ भने काभ्रेको बनेपामा छायांकन गरिनेछ । चलचित्र आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको छ ।
कृषाको ‘उही तिम्रो’मा पल र प्रदीप

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






