काठमाडौं । नेपाली हिप-हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्याप रियालिटी शो ‘एमटिभी हसल’ को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । उक्त कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टिभिएस एन्टर्क आबद्ध भएको छ । आयोजकका अनुसार मलिन मिडिया एण्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको ‘हसल बाई नेपहप’ लाई टिभिएस एन्टर्क प्रिजेन्ट्सका रूपमा प्रस्तुत गरिनेछ । कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण हुने कार्यक्रमलाई प्रिमियम र्याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको छ । अन्तर्राष्ट्रियस्तरको र्याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप-हप पहिचान रहने बताइएको छ । कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ र स्थापित र्यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप-हप संस्कृतिलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित टिभिएस एन्टर्कले कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ पुस्ताको सोचसँग जोडिएको टिभिएस एन्टर्कको सहकार्यले नेपाली हिप-हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । ‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने ‘हसल बाई नेपहप’ ले नेपाली हिप-हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्दै नेपाली संगीतको नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
‘हसल बाई नेपहप’को प्रायोजक टिभिएस एन्टर्क

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






