सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई त्यहाँबाट हट्न निर्देशन दिएको छ । वर्तमान सरकार गठन भएपछि अव्यवस्थित रूपमा बसेका सुकुम्बासी हटाउने कामलाई तीव्रता दिइएको थियो । खोला किनार, विभिन्न सार्वजनिक जग्गालगायत कतिपय ठाउँहरूमा व्यक्तिका जग्गासमेत मिचेर सुकुम्बासी बस्दै आएका थिए । यसले गर्दा शहरको बीचबीचमा हाँसका बथानमा बकुल्ला जसरी अव्यवस्थित बसोवास र सुन्दर बस्तीका बीच र छेउछाउमा रहेका झुप्राहरूले गर्दा शहर कुरूप देखिन पुगेको थियो । त्यतिमात्र होइन ती बस्तीहरूमा बस्ने सबै सुकुम्बासी थिएनन् । सुकुम्बासीलाई मोहरा बनाएर आफ्नो घरजग्गा भएका हुकुमबासीहरू पनि बस्ने गरेका थिए । त्यस्ताले ती सुकुम्बासीहरूलाई आफ्ना कारिन्दा जस्तो बनाएर आफू तिनका मालिक वा नेता बन्ने गरेका थिए । यस्तो अवस्थामा सुकुम्बासीलाई हटाउनु आवश्यक थियो । तर अनायास हटाउनुभन्दा पनि तिनलाई व्यवस्थित गर्नुपर्ने थियो तर सरकारले व्यवस्थित गर्न सकेन, हटायोमात्र । ती बस्तीहरू खाली गर्ने क्रममा सुकुम्बासीलाई बलजफ्ती हटाइयो । त्यसबेला वर्षा ऋतु सुरु हुनलागेको थियो । डोजर लगेर तिनीहरू बस्दै आएका बस्तीहरू भत्काइयो । आफ्नो वैकल्पिक व्यवस्था हुनेहरू त्यता गए । आफ्नो घरबास हुनेहरू पनि सुकुम्बासी बस्तीका जग्गाजमिन ओगटेर बसेका थिए, तिनीहरूलाई त्यस्तो ठूलो समस्या परेन तर जो वास्तविक सुकुम्बासी थिए तिनलाई त्यसबेला ठूलो समस्या पर्यो । तिनको जाने ठाउँ कतै थिएन । सरकारले होल्डिङ सेन्टरमा लगेर तिनलाई राख्यो । त्यस्ता होल्डिङ सेन्टर अस्थायी रूपमा स्थापना भएका थिए । केही दिनपछि तिनलाई त्यहाँबाट पनि हटाइयो । त्यो समय एसइई परीक्षाका लागि विद्यार्थीहरू तयार भएर बसेका थिए । त्यसरी अनायास विस्थापित भएका विद्यार्थीहरू चिहिलबिहिल भए । तिनीहरूलाई मानसिक तनाव भयो । परीक्षाका बेला बसेर पढ्ने ठाउँ पनि तिनीहरूले पाएनन् । कतिपय ठूलठूला नेताहरूका घर पनि सुकुम्बासी बस्तीभित्र भएका चर्चा त्यसबेला चल्यो । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूका घरसमेत सुकुम्बासी बस्तीमा भएको जानकारी प्राप्त भयो । ती भव्य चारपाँच तले महलहरू भत्काउन सरकार हिच्किचायो । यसरी त्यहाँ विभेदको व्यवहार सिर्जना भयो । जो होचो उसका मुखमा घोचो भनेजस्तो भयो । हटाइएका सुकुम्बासीहरू होल्डिङ सेन्टरमा बसे, जसोतसो तिनीहरूले आफ्नो गुजारा गर्दै आए । बर्खे झरीको सामना गरे । मानसिक तनावका कारण केही व्यक्तिहरू आत्महत्या गर्न विश भएका थिए । अर्कातिर सरकारले ती सुकुम्बासी बस्तीका झुप्रे आवास भत्कायो । त्यस्ता ठाउँहरूमा इँटा, सिमेन्ट र छडका भग्नावशेष थुप्रिएर बसे तर त्यहाँबाट त्यसलाई पन्छाउने काम भएन । ती अहिलेसम्म पनि अव्यवस्थित र कुरूप अवस्थामै रहेका छन् । केही टाठाबाठा जनप्रतिनिधिहरूले त्यस्ता ठाउँका फलामहरू जम्मा गरेर कबाडीलाई बिक्री गरी लाखौं कमाए भन्ने पनि चर्चा भइरहेकै छ । सरकार राम्रो सुरुवातका साथ उदाएको थियो तर बीचैमा कताकता अलमलिएको जस्तो अवस्था छ । सरकारले ती ठाउँहरूमा भत्काउने काम मात्र गर्यो तर बनाउने काम गरेको छैन । यसरी भत्काइएका ती ठाउँहरू छ सात महिना त्यस्तै अवस्थामा छन् । शहरको कुरूपता हटाई तिनलाई व्यवस्थित गर्न सरकारले यस्तो कदम चालेको हो तर उल्टो त्यसरी भत्काएर छोडिएका ती ठाउँहरू पहिलेभन्दा झनै कुरूप देखिएका छन् । त्यहाँ कुनै सुन्दर संरचनात्मक निर्माण हुन सकेको छैन । अहिलेसम्म पनि होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूलाई सरकारले ती ठाउँहरू खाली गर्न अहिले कडा निर्देशन दिएको छ । तिनले आफ्नो कतै जाने ठाउँ पाएका भए यत्रो लामो अवधिसम्ममा ती कतै गइसक्थे । टेक्ने जमिन र समाउने हाँगो केही नपाएका व्यक्तिहरू मात्र होल्डिङ सेन्टरमा यति लामो समयसम्म बसिरहेका छन् । नत्र विभिन्न खालका भुक्तमान, मानसिक तनाव र अपमान सहेर तिनीहरू त्यहाँ बस्ने थिएनन् । बर्खा जसोतसो गुजारे अब हिउँद लागेको छ र जाडो सुरु भएको छ । यस्तो बेलामा सरकारले तिनीहरूलाई वैकल्पिक व्यवस्थाबिना होल्डिङ सेन्टरबाट हटाउँदा तिनीहरूको अवस्था कस्तो भएको होला ? अनुमान गर्न सकिन्छ । सरकार जसको सहानुभूति र समर्थनबाट बनेको छ त्यसले खोलो तर्यो लौरो बिर्सियो भन्ने उखानलाई चरितार्थ गर्दै तिनै व्यक्तिहरूलाई तनावमा पारिरहेको छ । ठीक छ, सरकारको सुकुम्बासी हटाउने कदम गलत थिएन किनभने तिनले विभिन्न ऐलानी र खोला किनारका जग्गाहरू ओगटेर बसेका थिए । ठाउँठाउँमा राम्रा आबादी जग्गा पनि तिनीहरूले ओगटेका थिए । कहीँ कतै दाजुभाइका बीच अंशझगडा भएर खाली रहेका ठूला पटांगिनीहरू पनि सुकुम्बासीहरूले ओगटेका थिए । त्यतिमात्र होइन सरकार र व्यक्तिका बीचमा मुद्दामामिला भइरहेका जग्गा पनि ओगटिएका थिए । यस्ता राम्रा आबादी जग्गामा आँखा लगाउनेहरूको संख्या निकै ठूलो थियो । तिनीहरूलाई निरुत्साहित गर्नु अत्यन्त जरुरी थियो र सरकारले त्यो कदम चालेको थियो । यसमा ती प्रभावितबाहेक अरूको कुनै गुनासो पनि थिएन तर सहानुभूति भने थियो । किनभने जसको कुनै बस्ने वैकल्पिक व्यवस्था थिएन ती अवश्य पनि अप्ठ्यारोमा परेका थिए तर तिनीहरूलाई हटाउनुमात्रै विकल्प थिएन, तिनीहरूलाई स्थापित गर्ने उपाय पनि खोज्नुपर्थ्यो । अहिलेसम्म होल्डिङ सेन्टरमै बस्दैआएकालाई अब फेरि त्यहाँबाट पनि तुरुन्त हट्न निर्देशन दिँदा तिनीहरू घरको न घाटको बन्ने अवस्था निश्चित छ । यस्तो अवस्थालाई दृष्टिगत गरी प्रतिपक्षी दलहरूले पनि विरोधमा आवाज उठाएका छन् । यस क्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको यस कदमविरुद्ध गम्भीर रूपमा आपत्ति जनाउँदै विरोध गर्नुभएको छ । माइतीघर मण्डलामा सुकुम्बासीहरूको समर्थनमा नागरिक ऐक्यबद्धता प्रदर्शन पनि भएको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले फोहोर फ्याँकेजस्तो तरिकाले सुकुम्बासी समस्या समाधान नहुने तर्क गर्नुभएको छ । सरकारले सुकुम्बासी समस्या सामान्य समस्या होइन भन्ने दृष्टिकोणले हेर्न सक्नुपर्छ र तिनको उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसका साथै सुकुम्बासीलाई हटाइएको ठाउँमा सरकारले यथाशीघ्र रूपमा कुनै मठमन्दिर, क्रीडास्थल, स्थानीय निकायका कार्यालय, सरकारी कार्यालय, उद्यानहरू आदि बनाएर तिनलाई व्यवस्थित गर्न सकेका खण्डमा मात्र तिनले सार्थकता पाउनेछन्, नत्र बसिरहेका सुकुम्बासीलाई हटाएर त्यस ठाउँमा कुँडाकर्कट थुपार्नुको कुनै औचित्य पुष्टि हुनसक्दैन । हिउँदको जाडोमा तिनीहरूलाई बसिराखेको ठाउँबाट पुनः हटाउनुलाई औचित्यपूर्ण मान्न सकिँदैन ।
सुकुम्बासीको कन्तबिजोक !

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






