काडमाडौं । सिद्धार्थ बैंक र डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी संस्था भिसाबीच सिद्धार्थ बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवाको सुदृढीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौताले सिद्धार्थ बैंकका ग्राहकका लागि कार्ड सेवा तथा भुक्तानी स्वीकार्यता विस्तारसँगै नयाँ सेवाको विकास गरी उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न दीर्घकालीन रणनीतिक सहकार्यको आधार तयार गरेको बैंकले जनाएको छ । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले भन्नुभयो, ‘यस सम्झौताले सिद्धार्थ बैंकको भिसा कार्ड व्यवसाय थप सुदृढ बनाउन महत्त्वपूर्ण आधार तयार गरेको छ । यस रणनीतिक सहकार्यमार्फत् भिसा कार्ड पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि तथा कार्डको प्रयोग बढाउँदै डिजिटल भुक्तानी प्रणाली विकासमा थप योगदान पुर्याउने हाम्रो लक्ष्य रहेको छ ।’ त्यसैगरी भिसाका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले भन्नुभयो, ‘नेपालको डिजिटल भुक्तानी प्रणाली तीव्ररूपमा विस्तार भइरहेको अवस्थामा सिद्धार्थ बैंकसँगको यो सहकार्यले देशभर सुरक्षित, विश्वसनीय तथा नवीन भुक्तानी सेवाको पहुँच विस्तार गर्ने भिसाको प्रतिबद्धता थप बलियो बनाएको छ ।’ सम्झौताअन्तर्गत सिद्धार्थ बैंकले आफ्ना ग्राहकका लागि सुरक्षित, सहज तथा नवीन डिजिटल भुक्तानी समाधान विस्तार गर्दै थप आकर्षक सुविधा र विशेष अफर ल्याउने योजना बनाएको छ । यसैबीच सिद्धार्थ बैंकले सडक बोर्ड नेपालसँगको सहकार्यमा नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक सवारीसाधनका लागि एन ट्याग सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार सवारीसाधनको अगाडिको सिसामा टाँसिने उक्त विद्युतीय(आरफिड) स्टिकरको मद्दतले टोल बुथमा नरोकिकन तोकिएको एन ट्याग लेनबाट सिधै गुड्दा स्वचालितरूपमा टोल शुल्क भुक्तानी हुन्छ । जसले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाएर समय र इन्धनको बचत गर्नुका साथै यात्रालाई पूर्णरूपमा नगदरहित र छरितो बनाउँछ । ग्राहकले अनलाइन आवेदन भरेर नजिकैको सिद्धार्थ बैंकको शाखाबाट एन ट्याग संकलन तथा सक्रिय गर्न सक्ने बताइएको छ ।
सिद्धार्थ र भिसाबीच सम्झौता

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






