मंसिर । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले ढोरपाटन उपत्यका क्षेत्रमा विद्युत् विस्तार गरी पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौर, बोबाङ हुँदै ढोरपाटनसम्म लाइन पुर्याएको हो । बुर्तिबाङ बजारदेखि ३५ किलोमिटर लाइन तानेर विद्युत् पुर्याएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो । ढोरपाटनमा उपत्यकासँगै नवी, भुजी, स्यालपाखे, छेन्तुङलगायतका ठाउँमा विद्युत् विस्तार गरेको उहाँको भनाइ छ । विद्युत् प्राधिकरणको १८ करोड रुपैयाँ लागतमा ११ केभी प्रसारण लाइन विस्तार भएको प्रमुख मरासिनीले जानकारी दिनुभयो । गत वर्ष प्राधिकरणले ढोरपाटनमा विद्युत् पुर्याए पनि सञ्चालन गर्न सकिएको थिएन । बर्खाको समयमा बाढीपहिरोले पोल बगाउने र तार चुँडिएको हुँदा अहिले मर्मत गरेर विद्युत् सञ्चालन गरिएको उहाँको भनाइ छ । प्रमुख मरासिनीले भन्नुभयो, ‘ढोरपाटनसम्म विद्युत् अघिल्लो वर्ष नै पुर्याएका थियौँ । तर, सञ्चालन भएको थिएन । यसपटक मर्मत गरेर घर–घरमा विद्युत् जडान हुन थालेको छ । अब नियमितरूपमा विद्युत् सञ्चालन हुनेछ । यहाँ स्थानीय हाइड्रोपावरमार्फत् विद्युत् सेवा सञ्चालन हुँदै आएको थियो । जनसंख्या बढी विद्युत् उत्पादन क्षमता कम हुँदा केही समस्या परेको रहेछ । अब त्यो समस्या समाधान हुनेछ ।’ बुर्तिबाङ सबस्टेसनको ११ केभी बुर्तिबाङ फिडरअन्तर्गत रहेको उक्त लाइन सञ्चालनपछि बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज गरिएकाले उक्त क्षेत्रका उपभोक्तालाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति भएको मरासिनीको भनाइ थियो । प्रसारण लाइन सञ्चालनसँगै उक्त क्षेत्रका उपभोक्ताले अब विद्युत् जडानका लागि जुनसुकै समयमा पनि बागलुङ वितरण केन्द्रको बुर्तिबाङ नो लाइटमार्फत् आवेदन फाराम भरी विद्युत् जडानका लागि अनुरोध गर्न सक्ने उहाँले बताउनुभयो । प्रसारण लाइन सञ्चालनमा आएसँगै ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रका उपभोक्ताले भोग्दै आएको न्यून भोल्टेज समस्या समाधान हुनुका साथै गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्तिमा सुधार हुने अपेक्षा गरिएको ढोरपाटन नगरपालिका ९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा तीव्ररूपमा बस्ती विस्तार हुँदै गएपछि विद्युत् समस्या बढ्न थालेको भन्दै केन्द्रीय प्रसारण लाइन भएपछि अब समस्या नहुने उहाँको भनाइ छ । बागलुङ जिल्लामा अब निसीखोला गाउँपालिका-५ स्थित निसिलढोरमा मात्र राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुग्न बाँकी रहेको छ । उक्त क्षेत्रमा चालु आर्थिक वर्षभित्र विद्युतीकरण गर्न आवश्यक बजेटको व्यवस्था भइसकेकाले अब ठेक्का प्रक्रिया अगाडि बढाई विद्युतीकरणको काम सुरु गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निसिलढोरमा समेत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ ।
शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






