जनकपुरधाम।नेपाली कांग्रेसका महासचिव प्रदीप पौडेलले सरकारको क्रियाकलापका कारण लोकतन्त्र समाप्त हुने र मुलुकमा अराजकता बढ्ने खतरा रहेको बताएका छन्। उनले सरकारले विधिको शासनलाई कमजोर बनाउँदै मुलुकलाई अराजकतर्फ धकेल्न खोजेको आरोप लगाए। जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले विगतमा प्रश्न गर्नेहरूलाई हेप्ने गरेको सरकारले अहिले प्रश्न गर्नेलाई थुन्ने, अपमानित गर्ने र विधिको शासन नमान्ने प्रवृत्ति देखाएको बताए। पुराना दलको विरोध गर्दै उदाएको नयाँ पार्टी झन् बढी अराजक बन्न खोजेको उनको आरोप थियो। पछिल्ला घटनाक्रमले सरकारको व्यवहार लोकतान्त्रिक सिद्धान्तविपरीत रहेको पुष्टि गरेको उनले बताए। सुनकोशी–मरिण डाइभर्सनदेखि सञ्चार गृहमा प्रवेश गरी पत्रकार पक्राउ गर्ने घटनाले सरकारको स्वेच्छाचारी चरित्र देखाएको पौडेलले आरोप लगाए। यस्तै अवस्था रहे नेपाली कांग्रेस चुप लागेर नबस्ने भन्दै उनले दुर्गानन्द झा जन्मिन सक्ने चेतावनी समेत दिए। सरकार दुई तिहाइको दम्भमा अघि बढिरहेको र अन्य दललाई कमजोर बनाउने तथा ती दलभित्र खेल्ने प्रयास गरिरहेको उनको भनाइ थियो। सरकारले नेपाली कांग्रेसमाथि नियोजित रूपमा आरोप लगाएर पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेको भन्दै उनले त्यस्ता गतिविधिले कांग्रेस कमजोर नभई अझ सशक्त भएर जाने बताए। पौडेलले सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था सिर्जना गरिरहेको आरोप पनि लगाए। स्थानीय तहको निर्वाचन मिति ६ महिनाअघि नै घोषणा हुनुपर्ने संवैधानिक प्रावधान भए पनि सरकारको गतिविधि हेर्दा निर्वाचन गराउनेतर्फ ध्यान नदिएको उनले बताए। मधेस प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस सभापति गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको प्रसङ्गमा पौडेलले त्यसलाई अन्य राजनीतिक अर्थ लगाउन नहुने बताए। मधेस प्रदेशमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार रहोस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै उनले त्यसका लागि कुनै पनि प्रकारको अनैतिक गठबन्धन नगर्ने स्पष्ट पारे।
सरकार अराजकतातर्फ उन्मुख : प्रदीप पौडेल

Read Complete Original Article
Published originally on नेपालन्युज






