नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तिव्र बनाउने बताएका हुन् । विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ । एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने उल्लेख गर्दै दाहालले कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताए । उनले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको जानकारी दिँदै अन्य कम्युनिष्ट समूहसँग पनि निरन्तर छलफल भइरहेको बताए । विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै सहकार्य तथा कार्यगत एकतालाई विस्तार गर्नसके मात्रै देशमा देखिएका समस्याको समाधान गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ । हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन । अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ । हामीले विगतमा पनि नेपालमा समाजवादी निर्माणको निम्ति जसरी वामपन्थी जनमतको निकै ठूलो बाहुल्य छ, त्यसलाई एक ठाउँमा ल्याएर मात्रै साँचो अर्थ र व्यवहारिक अर्थमा समाजवादको ढोका खोल्न सकिन्छ भनेर एकताको झण्डा नउठाएको होइन । तर त्यसलाई बचाउन सकिएन । एक पटक असफल भयो भन्दैमा फेरि पनि प्रयास नै नगर्ने भन्ने हुन सक्दैन । हामी अहिले पनि फेरि कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित यहाँसम्म आएका छौँ । हामी केन्द्रमा आशावादी छौँ, तपाईंहरु सबैले तल पनि सामुहिक प्रयास गर्नुपर्छ । विभिन्न पक्षसँग सहकार्यमा नै छौँ । त्यो सहकार्य र कार्यगत एकताको प्रक्रियालाई अघि बढाउँदै लैजाने र विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै एकताकै झण्डामा केन्द्रित गर्ने र मात्रै देशमा देखापरेका समस्याहरूको समाधान गर्न सकिन्छ । एमालेसँग तीन बुँदे सहकार्यको प्रस्ताव गर्दैगर्दा वा नेकपा मसालसँग दुई बुँदै प्रस्ताव गर्दैगर्दा लगातार नै अन्य पक्षसँग पनि छलफल गरिरहेका छौँ । यो प्रक्रिया अघि बढिरहेको छ ।’ संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको बताए । शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनले जानकारी दिए । देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने उनले विश्वास व्यक्त गरे । दाहालले अन्तर्राष्ट्रिय शक्तिसँगको संवाद र सम्बन्ध विस्तारमा विगतमा आफूहरूबाट कमजोरी भएको महशुस गर्दै अन्तर्राष्ट्रिय भुमिकालाई निरन्तर अघि बढाइरहेको पनि बताए । दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संरचना र मान्यताहरू विघटन हुँदै गएको उल्लेख गर्दै उनले विश्वमा नयाँ मान्यता र संरचना निर्माणका लागि ध्रुवीकरणको लहर चलिरहेको बताए । अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै नेपालले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘आज देशमा देखापरेको राजनीतिक संकटलाई हेर्दा यत्तिले पनि पुग्दैन भनेर हामीले शान्ति सम्झौता, संविधान सभाका सहयात्रीसँग पनि मोर्चा बनाउनेकुरालाई पनि त्यत्तिकै महत्त्व दिएर छलफल गरिरहेका छौँ । त्यो छलफल पनि सकारात्मक ढंगले, रचनात्मक ढंगले अघि बढाएका छौँ । त्यसमा आशाप्रद प्रगति हुँदै छ । शान्तिका पक्षधर, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीका पक्षधर, एकताका पक्षधर सबै सहयात्रीसँग सहकार्य गर्ने उद्देश्यका साथ सकारात्मक ढंगले वार्ता र संवादतर्फ अघि बढ्न अपिल गर्न चाहन्छु । हामी सबैले देशभरबाट पहल गर्दा म के देख्छु भने हामी त्यसमा पनि एउटा मोर्चा बनाउन सफल हुनेछौँ ।’ संयोजक दाहालले अन्तर्राष्ट्रिय शक्तिसँग संवाद बनाइ अघि बढाउने कुरामा आफूहरू चुकेको महशुस गरेर अन्तर्राष्ट्रिय भुमिकालाई निरन्तर अघि बढाइरहेको जिकिर गरे । दोस्रो विश्वयुद्धपछि निर्माण भएका संरचनाहरू, मान्यताहरू विघटन भइरहेको बताए । नयाँ मान्यता र संरचना बनाउन विश्वमा ध्रुवीकरणको लहर चलेको बताए ।
सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छ : प्रचण्ड

Read Complete Original Article
Published originally on पर्दाफास





