काठमाडौं, कात्तिक २२ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले विश्व राजनीतिमा शक्ति राष्ट्रहरूको दबदबा बढ्दै गएको र ‘शक्ति नै सत्य हो’ भन्ने खतरनाक धारणा पुनः देखा परिरहेको बताउनुभएकाे छ । अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको प्रदर्शनभन्दा कानुन, सार्वभौमसत्ता र संवादलाई प्राथमिकता दिनुपर्ने उहाँकाे धारणा छ । साइप्रस कम्युनिष्ट पार्टी स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा साइप्रसको राजधानी निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले शक्तिशाली राष्ट्रहरूको स्वार्थभन्दा अन्तर्राष्ट्रिय कानुन र राष्ट्रहरूको सार्वभौम समानता माथि हुनुपर्ने धारणा राख्नुभएको हो । ‘शक्तिशालीको नियमभन्दा अन्तर्राष्ट्रिय कानुन माथि हुनुपर्छ, प्रभुत्व जमाउने प्रवृत्तिभन्दा सार्वभौमसत्ता माथि हुनुपर्छ र बल प्रयोग वा दबाबभन्दा संवाद माथि हुनुपर्छ,’ उहाँले सम्बोधनका क्रममा भन्नुभयाे । शान्ति शक्तिशाली राष्ट्रहरूको मात्र विशेषाधिकार नभई प्रत्येक राष्ट्रको मौलिक अधिकार भएको उल्लेख गर्दै ज्ञवालीले विश्व शान्ति, सार्वभौम समानता र अहस्तक्षेपको नीतिप्रति अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन प्रतिबद्ध रहनुपर्ने बताउनुभयाे । उहाँले समकालीन विश्व पुँजीवादको संरचनात्मक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले सम्पत्ति र अवसरको असमान वितरण, श्रमिकको रोजगारी असुरक्षा, वास्तविक ज्यालामा स्थिरता तथा शिक्षा, स्वास्थ्य र आवासजस्ता आधारभूत आवश्यकताको व्यापारीकरणप्रति चिन्ता व्यक्त गर्नुभयाे । उहाँले विश्वमा पर्याप्त सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमता हुँदाहुँदै पनि करिब एक अर्ब मानिस चरम गरिबीको अवस्थामा रहेको उल्लेख गर्नुभयाे । वर्तमान आर्थिक संरचनाले अर्बपतिहरूको सानो वर्गलाई लाभ पुर्याइरहेको तर श्रमिक र विपन्न समुदायले त्यसको लाभ पाउन नसकेको उहाँको विश्लेषण छ । ज्ञवालीले पुँजीवादको संकटलाई आर्थिक समस्याका रूपमा मात्र नभई नैतिक र सामाजिक संकटका रूपमा समेत व्याख्या गर्नुभयाे । उहाँका अनुसार कुनै पनि आर्थिक प्रणालीको मूल्यांकन त्यसले कति सम्पत्ति उत्पादन गर्यो भन्ने आधारमा मात्र नभई उत्पादित सम्पत्ति कसरी वितरण भयो र त्यसले बहुसंख्यक जनताको आवश्यकता कति पूरा गर्यो भन्ने आधारमा गरिनुपर्छ । प्रविधिको विकास र कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगबारे पनि उहाँले आफ्नो धारणा राख्नुभएको छ । कृत्रिम बौद्धिकता, रोबोटिक्स र डिजिटल प्रविधिमा भएका प्रगतिले मानव कल्याणमा ठूलो योगदान पुर्याउन सक्ने भए पनि कर्पोरेट नियन्त्रण अत्यधिक केन्द्रित हुँदा श्रमिक विस्थापन, निगरानी विस्तार र सम्पत्तिको केन्द्रीकरण बढ्न सक्ने उहाँको भनाइ छ । ‘प्रविधिले मानवताको सेवा गर्नुपर्छ, मानवीय स्वतन्त्रताको विस्तार गर्नुपर्छ र लोकतान्त्रिक नियन्त्रणको अधीनमा रहनुपर्छ,’ उहाँले भन्नुभएको छ । समाजवादलाई विगतका संघर्षको सम्झना वा राजनीतिक नारामा मात्र सीमित गर्न नहुने बताउँदै ज्ञवालीले यसलाई प्रणालीगत शोषण, असमानता र निजी नाफालाई मानवीय आवश्यकताभन्दा माथि राख्ने प्रवृत्तिविरुद्धको ऐतिहासिक विकल्पका रूपमा प्रस्तुत गर्नुभयाे । उहाँले मार्क्सवादलाई जड सिद्धान्तका रूपमा नभई प्रत्येक देशको इतिहास, संस्कृति र सामाजिक परिस्थितिअनुसार सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्ने बताउनुभयाे । समाजवादतर्फ अघि बढ्न सबै देशका लागि एउटै सार्वभौमिक खाका हुन नसक्ने उहाँको धारणा छ ।‘सामाजिक सम्बन्धहरूको विश्लेषण गर्न, शोषणको पर्दाफास गर्न र रूपान्तरणको बाटो पहिल्याउन मार्क्सवाद एक अपरिहार्य विधि हो,’ उहाँले भन्नुभएको छ । अन्तर्राष्ट्रिय वामपन्थी आन्दोलनले २१ औँ शताब्दीका संकटको समाधान समाजवादसँग छ भन्ने कुरा व्यावहारिक उपलब्धि र सिद्धान्तनिष्ठ शासनमार्फत प्रमाणित गर्नुपर्ने चुनौती रहेको पनि उहाँले औँल्याउनुभयाे । ज्ञवालीले विश्वका विभिन्न देशमा अति दक्षिणपन्थी लोकरिझ्याइँ, अधिनायकवाद र नवफासीवादी प्रवृत्तिको पुनरुत्थान भइरहेको भन्दै यसले लोकतन्त्र, मानव अधिकार र अन्तर्राष्ट्रिय शान्तिका लागि चुनौती खडा गरेको बताउनुभयाे । यस्ता प्रवृत्तिको प्रतिरोध गर्न वामपन्थी शक्तिहरूले श्रमिक, युवा, किसान, महिला, बुद्धिजीवी र सीमान्तकृत समुदायसँगको सम्बन्ध बलियो बनाउनुपर्ने उहाँको भनाइ छ । राजनीतिक भाषण र घोषणापत्रमा मात्र सीमित नभई सुरक्षित रोजगारी, जीवन धान्न पुग्ने ज्याला, किफायती आवास, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा र जलवायु न्यायजस्ता जनताका दैनिक आवश्यकतामा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयाे । सम्बोधनका क्रममा ज्ञवालीले नेपालको राजनीतिक परिवर्तन र नेकपा (एमाले) को अनुभवबारे समेत चर्चा गर्नुभयाे । एमाले मार्क्सवाद र जनताको बहुदलीय जनवादबाट निर्देशित रहेको उल्लेख गर्दै उहाँले राजनीतिक बहुलवाद, संवैधानिक शासन, बहुदलीय प्रतिस्पर्धा र लोकतान्त्रिक अधिकारलाई सामाजिक–आर्थिक रूपान्तरणसँग जोड्नुपर्ने धारणा राख्नुभयाे । नेपालमा निरंकुश शासनविरुद्धको संघर्ष, २०६२/६३ को जनआन्दोलन, राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा एमालेले अग्रणी भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयाे । ‘राजनीतिक लोकतन्त्र र सामाजिक न्याय एकअर्काका परिपूरक हुन्,’ उहाँले भन्नुभयाे । सरकारमा रहँदा एमालेले सामाजिक न्याय, सामाजिक सुरक्षा, समावेशीकरण, राष्ट्रिय हित र पूर्वाधार विकासका क्षेत्रमा योगदान गरेको दाबी गर्दै उहाँले नेपालको राष्ट्रिय परिकल्पना ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको बताउनुभयाे । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे बोल्दै ज्ञवालीले युवा पुस्ताका आकांक्षालाई सम्बोधन गर्नुपर्ने र लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयाे ।‘लोकतान्त्रिक संस्थाहरूको विनाशलाई कहिल्यै क्रान्ति मान्न सकिँदैन, राजनीतिक परिवर्तनको भाषा कहिल्यै पनि हिंसा हुनु हुँदैन,’ उहाँले स्पष्ट पार्नुभयाे । एमाले संवैधानिक राजनीति, शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको जनादेशको सम्मानप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले नेपालको आन्तरिक असन्तुष्टिलाई भू–राजनीतिक स्वार्थका लागि प्रयोग गरिनु नहुने धारणा पनि राख्नुभयाे । नेपालको परराष्ट्र नीति सार्वभौम समानता, भौगोलिक अखण्डता, अहस्तक्षेप, असंलग्नता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय सम्बन्धमा सबै राष्ट्रको समान मर्यादा हुनुपर्ने बताउनुभयाे । सम्बोधनको अन्त्यमा ज्ञवालीले विश्वव्यापी वामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्दै अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धता बलियो बनाउनुपर्नेमा जोड दिनुभयाे । उहाँले शान्ति, समानता, न्याय, श्रमिक अधिकार, लोकतान्त्रिक स्वतन्त्रता र जलवायु न्यायका लागि संयुक्त पहल आवश्यक रहेको बताउँदै प्रभुत्वको सट्टा सार्वभौम समानता र द्वन्द्वको सट्टा सहयोगमा आधारित बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा उभिन आह्वान गर्नुभएयाे ।
शक्तिशालीको नियमभन्दा अन्तर्राष्ट्रिय कानुन माथि हुनुपर्छ : प्रदीप ज्ञवाली

Read Complete Original Article
Published originally on जनताटाइम्स


![पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/kukurtihar_3_RuXCZfEJmx.jpeg)


