व्यवसायीको गुनासो- दशैँमा सोचेजस्तो व्यापार भएन

यस पटकको दशैँमा फेन्सी, कपडा तथा सुनचाँदीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । काठमाडौंको न्युरोड, ललितपुरको पाटन क्षेत्रका व्यवसायीहरुले यस पटकको दशैंमा कपडा तथा सुनचाँदीको व्यापार सोचेजस्तो हुन नसकेको गुनासो गरेका हुन् । गत वर्षहरुमा न्युरोड तथा पाटन क्षेत्रमा दशैँभर किनमेल गर्नेको बाक्लो भीड हुने गर्दथ्यो । व्यवसायीहरुले समेत मनग्य आम्दानी गर्दथे । यस वर्ष रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा गएको बाढीका कारण सिर्जित समस्या र सामनमा भएको मूल्यवृद्धिको कारण व्यापार प्रभावित भएको व्यवसायीहरुको अनुभव छ । कतिपय व्यवसायीले दशैँका लागि लाखौं रुपैयाँको सामान तयारी अवस्थामा राखेपनि अपेक्षित विक्री हुन नसकेको गुनासो गरेका छन् । कपडा व्यवसायी प्रमिला श्रेष्ठले यस वर्ष दशैँका लागि चारदेखि पाँच लाख रुपैयाँ बराबरको सामान विक्रीका लागि राखे पनि सोचेजस्तो व्यापार नभएको बताइन् । रसुवामा आएको बाढीको कारण आम नागरिकको दशैं नै प्रभावित भएको कारण अपेक्षित व्यापार नभएको उनको बुझाइ छ । उनले विगतकाम वर्षहरुभन्दा झन्डै आधा जति मात्र व्यापार भएको बताइन् । उनले भनिन्, ‘यो पालीको दशैँमा खासै राम्रो व्यापार भएन । ४–५ लाखको सामान निकालेका थिएँ । तर सोचेजस्तो भएन । अहिले नागरिक सबै पीडामा भएर पनि यस पटक सोचेजस्तो व्यापार हुन सकेन ।’ कपडा व्यवसायी प्रचण्डराज जोशीले यस वर्षको दशैंमा व्यापार व्यवसाय अघिल्ला वर्षको तुलनामा निकै खस्किएको बताए । उनले सधैं लाखौँ फाइदा हुने गरे व्यापार गर्ने गरेपनि यसपटक लगानी समेत उठ्न नसकेको गुनासो गरे । उनले भने, ‘अहिले व्यापार व्यवसाय पहिलेको भन्दा धेरै नै खस्किएको छ । विशेषगरी रसुवा बाढी आएपछि व्यापार नराम्रोसँग प्रभावित भयो । यो पटक दशैं घाटामै गयो ।’ अर्का कपडा व्यवसायी राम नेपालीले पनि यस वर्षको दशैँमा अघिल्लो वर्षको तुलनामा करिव आधा कम व्यापार भएको बताए । नागरिकमा उल्लासको कमी तथा विपद्जन्य घटनाको कारण दशैंमा व्यापार खस्किएको उनको अनुभव छ । उनले भने, ‘सधैँको दशैंमा एकदमै राम्रो व्यापार हुन्थ्यो । अहिले त एकदम कम भयो । पछिल्लो समय विभिन्न नदीमा आएको बाढी र सामान पनि महंगिएको कारणले सोचेजस्तो व्यापार हुन सकेन । पोहोर सालभन्दा झण्डै आधा कम व्यापार भयो यो पटक ।’ सुनचाँदी व्यवसायी जेनी शाक्यले पनि दशैंमा सुनचाँदीका गरगहनाको कारोबार अपेक्षाअनुसार हुन नसकेको गुनासो गरिन् । बाढीबाट प्रभावित भएका नागरिकले दशै समेत मनाउन नपाएको कारण सुनचाँदीको मात्र नभई सबै क्षेत्रमा अपेक्षाकृत व्यापार हुन नसकेको उनको अनुभव छ । उनले भनिन्, ‘यो पटकको दशैंमा सुनचाँदीका गरगहनाको सोचेजस्तो व्यापा भएन । धेरै मानिस पीडामा परेको तथा धेरै जनाले दशैं नै नमनाएको कारणले पनि हुनसक्छ व्यापार खस्किएको हो । अन्य व्यवसायको तुलनामा सुनको व्यापार अलि थोरै नै हुने भएपनि यस पटकको केही कुराको पनि व्यापार त्यस्तो सोचेजस्तो भएको छैन ।’ व्यवसायीहरुले दशैँलाई लक्षित गरेर सामानको मौज्दात तथा तयारी गरिए पनि बजारमा माग अपेक्षाअनुसार नबढ्दा व्यापारमा कमी आएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

‘आईसीसीको पूर्ण सदस्यता लिने हाम्रो अन्तिम लक्ष्य हो’
नेपाल राष्ट्रको लागि खेल्दा हामी सबै एक ठाउँमा हुन्छौँ, तर खेलकुदको विकासका लागि यस्तो स्थानीय स्तरको अपनत्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ; जुन एनपीएलले गरिरहेको मलाई लाग्छ। ...

११ वर्षमा १ प्रतिशत भूमिहीन दलित पनि पाएनन् जग्गा
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संविधानको धारा ४० अनुसार हालसम्म ९२४ भूमिहीन दलित परिवारले जग्गा प्राप्त गरेका छन् । ...

पीडीएनए प्रारम्भिक नतिजा : रसुवा बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति
योजना आयोगले सार्वजनिक गरेको पीडीएनए घरधुरी सर्वेक्षणको प्रारम्भिक नतिजाले जनताको घर, जग्गा, व्यवसाय लगायतमा ७९ अर्ब १७ करोड बराबर क्षति भएको छ, पूर्वाधार, उत्पादनशील, सामाजिक र वातावरण लगायत क्षेत्रमा भएको क्षति यसमा समावेश छैन । ...


