काठमाडौं । वीरगन्ज नाकाबाट हुने निर्यात व्यापारमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वस्तुअनुसार फरक प्रवृत्ति देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी भने घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्मको अवधिमा निर्यातका प्रमुख पाँच वस्तुमध्ये तीन वस्तुको निकासी बढेको हो । दुई प्रमुख वस्तुको निकासी घटेको छ । यसले वीरगन्ज नाकाबाट हुने निर्यात व्यापारमा खाद्यतेलको वर्चस्व कायमै रहे पनि वस्तुअनुसार बजारको माग र निर्यातको अवस्था फरक रहेको देखाउँछ । निर्यातको पहिलो स्थानमा रहेको प्रशोधित भटमासको तेलको निकासीमा वृद्धि देखिएको छ । चालु आवको पहिलो तीन महिनामा यसको निर्यात परिमाण र मूल्य दुवै बढेको भन्सारको तुलनात्मक विवरणले देखाउँछ । चालु आवको यस अवधिमा यो नाकाबाट ३० अर्ब ६२ करोड रुपैयाँ बराबरको १२ करोड ३९ लाख लिटर प्रशोधित भटमासको तेल निकासी भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब ९८ करोड रुपैयाँ बराबरको ६ करोड ७१ लाख लिटर भटमासको तेल निर्यात भएको थियो । तुलनात्मक रूपमा भटमासको तेलको निर्यातमा उल्लेख्य सुधार आएको हो । यसैगरी फलफूलको जुसको निर्यातमा पनि वृद्धि भएको छ । चालु आवमा जुसको निकासी परिमाण र मूल्य दुवै बढेको देखिन्छ । चालु आवको पहिलो त्रैमासिक अवधिमा यो नाकाहुँदै २ अर्ब २० करोड रुपैयाँ बराबरको २ करोड २६ लाख लिटर जुस निर्यात भएको छ । गत आवको सोही अवधिमा २ अर्ब ७ करोड रुपैयाँ बराबरको २ करोड १२ लाख लिटर जुस निकासी भएको थियो । फलाम तथा फलामबाट बनेका सामग्रीको निर्यातमा समेत वृद्धि भएको छ । चालु आवको पहिलो तीन महिनामा यो नाकाहुँदै १ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५५ लाख ९६ हजार किलो फलाम तथा फलामबाट बनेका सामग्री निर्यात भएको छ । जबकि गत आवको सोही अवधिमा यो नाकाहुँदै ६५ करोड रुपैयाँ बराबरको ५१ लाख किलो फलामजन्य वस्तु निकासी भएको थियो । यी तीन वस्तुको निकासी बढ्नुले वीरगन्ज नाकाबाट हुने निर्यातमा खाद्यतेलबाहेक अन्य वस्तुको कारोबार पनि विस्तार भइरहेको संकेत गर्छ । तर प्रशोधित पाम तेलको निर्यातमा भने गिरावट आएको छ । गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाम तेलको निकासी परिमाण घटेको भन्सारको तथ्यांक छ । चालु आवमा २ अर्ब ५१ करोड रुपैयाँ बराबरको ७९ लाख २९ हजार लिटर पाम तेल निकासी भएको छ । गत आवको सोही अवधिमा यो नाकाहुँदै १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ७९ लाख ६४ हजार लिटर पाम तेल निकासी भएको थियो । अन्य खाद्य तेलको निर्यात पनि अघिल्लो वर्षको तुलनामा घटेको छ । चालु आवमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको ८० लाख ७२ हजार लिटर अन्य खाद्य तेल निकासी भएको छ । गत आवको सोही अवधिमा यो नाकाहुँदै १ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ करोड ६८ लाख लिटर अन्य खाद्य तेल निकासी भएको थियो । वीरगन्ज नाकाबाट हुने निर्यातमा प्रशोधित खाद्यतेलको ठूलो हिस्सा रहने गरेको छ । भारतबाट हुने माग, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य, प्रशोधन लागत तथा व्यापारिक नीतिले यस्तो निर्यातलाई प्रभाव पार्ने गर्छ । नेपालमा कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर भारततर्फ पठाइने खाद्यतेलको कारोबारले समेत वीरगन्ज नाकाको निर्यातलाई प्रभावित पार्दै आएको छ । फलफूलको जुस र फलामजन्य सामग्रीको निकासी बढ्नुले निर्यातका वस्तुमा विविधता थपिँदै गएको देखिन्छ । तर पाम तेल तथा अन्य खाद्य तेलको निर्यात घट्नुले समग्र निर्यात व्यापारमा वस्तुअनुसारको उतारचढाव रहेको स्पष्ट हुन्छ । वीरगन्ज भन्सारको तथ्यांकले चालु आवको पहिलो तीन महिनामा निर्यात व्यापारको संरचनामा परिवर्तन देखाएको छ । केही वस्तुको निकासी बढे पनि खाद्यतेलका सबै प्रकारको निर्यातमा समान वृद्धि भने हुन सकेको छैन ।
वीरगन्ज नाकाबाट ३० अर्ब ६२ करोड रुपैयाँको भटमासको तेलको निर्यात, अन्य कति भए निकासी ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






