काठमाडौं । नेपालमा आगामी डिसेम्बर ४ देखि २१ सम्म आयोजना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले शुक्रबार सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले पहिलो खेल इटलीसँग खेल्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डिसेम्बर ४ मा नेपाल र इटलीबीच प्रतिस्पर्धा हुनेछ । घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालले दोस्रो खेल डिसेम्बर ६ मा युगाण्डासँग खेल्नेछ । त्यस्तै, नेपालले डिसेम्बर १० मा संयुक्त अरब इमिरेट्स (युएई), डिसेम्बर १२ मा जर्सी, डिसेम्बर १४ मा क्यानडा, डिसेम्बर १८ मा नामिबिया र डिसेम्बर २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोट प्लेअफमा नेपालसहित आठ टोली सहभागी हुनेछन् । लिग-२ को पुछारमा रहेका नामिबिया, नेपाल, क्यानडा र युएईसँगै आइसिसी च्यालेन्ज लिगबाट छनोट भएका इटली, कुवेत, युगाण्डा र जर्सीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा सहभागी आठ टोलीले एकअर्कासँग एक-एक खेल खेल्नेछन् । सिंगल राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगिताबाट अंकतालिकाको शीर्ष चार स्थानमा रहने टोली सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् । यसअघि नै लिग-२ को शीर्ष चारमा रहँदै अमेरिका, स्कटल्याण्ड, नेदरल्याण्ड्स र ओमानले ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरिसकेका छन् । ग्लोबल क्वालिफायरमा कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट छनोट हुने टोलीले सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपमा स्थान बनाउनेछन् । घरेलु मैदानमा हुने छनोट प्लेअफ नेपालका लागि विश्वकप यात्रालाई निरन्तरता दिने महत्त्वपूर्ण अवसरका रूपमा रहनेछ ।
विश्वकप छनोट प्लेअफको खेलतालिका : नेपालको पहिलो खेल इटलीसँग

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






