Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विपत् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक

विपत् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपत् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक

काठमाडौं । नेपाली सेनाले विपत् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक बनेको बताएको छ । विभिन्न सरकारी निकायबीच क्षेत्राधिकारको दोहोरोपन देखिँदा विपत् व्यवस्थापनमा चुनौती थपिएको सेनाले बताएको हो । विपत् व्यवस्थापनमा छरितो र एकल ‘चेन अफ कमाण्ड’ आवश्यक हुने सेनाका सहायक रथी सुवासजंग थापाले बताउनुभयो । विपत् व्यवस्थापनमा देखिएको अधिकारको दोहोरोपन हटाई स्पष्ट, छिटो र प्रभावकारी कमाण्ड तथा समन्वय प्रणाली विकास गरिनुपर्ने उहाँको भनाइ छ । पुनःस्थापना र पुनर्निर्माणको नेतृत्व जिल्ला तहले गर्ने तथा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ छ ।

सेनाले विपत् व्यवस्थापनमा गृह मन्त्रालय, एनडिआरआरएमए तथा प्रदेश र स्थानीय तहका आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूबीच अधिकारको दोहोरोपन हटाएर संकटको घडीमा प्रभावकारी उद्धारका लागि स्पष्ट र छरितो एकीकृत कमाण्ड प्रणाली तर्जुमा गर्न नीति निर्माताहरूको ध्यानाकर्षण गराएको छ । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपत्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको शुक्रबारको बैठकमा सेनाले नेपालतर्फ फर्किएका कम्तीमा ४५ वटा हिमताल जुनसुकै बेला फुट्नसक्ने जोखिम रहेको भन्दै पूर्वसूचना प्रणालीलाई घरधुरी तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिइएको हो ।

थापाले भोटेकोशी क्षेत्रमा आएको बाढी नेपालमा यसअघि अनुभव नगरिएको प्रकृतिको रहेको र त्यसका लागि पर्याप्त पूर्वतयारी नभएको निष्कर्ष सुनाउनुभयो । विपत् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सञ्चालन हुँदै आएका कार्यक्रम र ‘रेजिलियन्स स्टार्ट्स फ्रम होम’ अर्थात् घरबाटै विपत् प्रतिरोधात्मक क्षमताको सुरुवात हुनुपर्ने अवधारणालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार हिमपहिरो तथा गेग्रानसहित आएको भोटेकोशीको बाढीले रसुवागढी, स्याफ्रुबेँसी, टिमुरे, हाकु, बेत्रावती हुँदै त्रिशूली क्षेत्रसम्म ठूलो क्षति पुर्‍याएको थियो । बाढीको तीव्र वेग र उच्च बहावका कारण छोटो समयमै ठूलो मानवीय तथा भौतिक क्षति भएको उहाँले जानकारी दिनुभयो ।

जलविद्युत् आयोजनाका सुरुङमा जटिल उद्धार
भोटेकोशी बाढीबाट प्रभावित ११ वटा जलविद्युत् आयोजनाका ६ वटा सुरुङमा समेत खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो । प्रारम्भिक विवरणअनुसार ती आयोजनामा कार्यरत २ हजार २१५ जना कामदारमध्ये ८८८ जना हराइरहेको सूचना प्राप्त भएपछि उद्धार टोलीले सुरुङभित्र खोजी सुरु गरेको थियो ।

सहायक रथी थापाका अनुसार सुरुङसम्म पुग्ने बाटो अवरुद्ध हुनु, ठूलो उपकरण लैजान नसक्नु, पानी र गेग्रान जम्नु, अक्सिजनको कमी हुनु तथा संरचना भत्किनु उद्धारका प्रमुख चुनौती थिए । कतिपय स्थानमा हातैले खनेर तथा वैकल्पिक सुरुङ बनाएर उद्धार टोली भित्र प्रवेश गर्नुपरेको थियो । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्ने क्रममा चारजना कामदारको शव फेलापरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस क्षेत्रमा लामो समयसम्म खोजी गर्दा पाँच जनाको शव फेलापरेको थियो ।

अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङमा समेत नेपाली, भारतीय तथा अन्य विदेशी उद्धार टोलीको सहयोगमा खोजी गरिएको थियो । सो क्रममा ११औँ दिनमा एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको उहाँले बताउनुभयो । बाढीबाट बनेको हावाको खाली स्थान (एयर पकेट) तथा तुलनात्मक रूपमा सुरक्षित ठाउँमा रहन पाएकाले ती व्यक्ति जीवित रहन सफल भएको हुनसक्ने सेनाको अनुमान छ । त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको र एक जनाको शव फेलापरेको जानकारी पनि उहाँले दिनुभयो । अन्य प्रभावित सुरुङ तथा जलविद्युत् आयोजनामा समेत विभिन्न चरणमा खोजी र उद्धार कार्य सञ्चालन गरिएको थियो ।

टिमुरेदेखि त्रिवेणीसम्म ‘टि टु टी’ अपरेसन, ११२ शव हस्तान्तरण
भोटेकोशी बाढी पहिरोमा ज्यान गुमाएकामध्ये ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नदीले बगाएर टाढा पुर्‍याएका शवहरूको खोजीका लागि रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणी (भारत सीमा)सम्म दुवै किनारमा ‘टी टु टी’ (टिमुरे टु त्रिवेणी) विशेष अपरेसन सञ्चालन गरिएको थियो । विपत् सुरु भएलगत्तै प्रहरी प्रधान कार्यालयमा चौबिसै घण्टा सञ्चालन हुनेगरी ‘विपत् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरी कार्यसम्पादन भइरहेको प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीका कारण आठ जिल्लाका २६ स्थानीय तह प्रभावित भएकामा सरकारले १५ वटा स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हालसम्म एक हजार ४७६ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ भने खोजी कार्यमा तालिमप्राप्त कुकुर (केनाइन) समेत प्रयोग गरिएको छ ।

ADVERTISEMENT

शव पहिचान तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रहरीले प्रविधिको उच्च उपयोग गरेको जनाएको छ । फेला परेका सबै शवहरूको फोटोसहितको विवरण नेपाल प्रहरीको वेबसाइटमा अभिलेखीकरण गरिएको छ, जसले गर्दा देश-विदेशमा रहेका आफन्तहरूलाई पहिचान गर्न सहज भएको छ । यसका साथै डिएनए प्रोफाइलिङ, फरेन्सिक जाँच तथा कानुनी प्रक्रिया सहजीकरणको लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कै नेतृत्वमा डेडिकेटेड टिम परिचालन गरिएको छ ।

बेपत्ता व्यक्तिको खोजीलाई निरन्तरता दिइएको छ : एआइजी कार्की
भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानमा नेपाल प्रहरीले प्रहरी चौकी पुनःस्थापना तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ । बेत्रावती, स्याफ्रुबेँसी, टिमुरे र हाकु क्षेत्रमा प्रहरीको उपस्थिति पुनःस्थापित गरिएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि भौगोलिक अवस्थाका कारण छाडिएको हाकु क्षेत्रमा समेत पुनः प्रहरी चौकी स्थापना गरिएको छ । उहाँका अनुसार स्याफ्रुँमा प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालित छ । हाल पनि उपलब्ध म्यानुअल विधिबाट खोजी कार्य जारी छ । जमिनमुनि शव पहिचान गर्नसक्ने प्रविधि प्रयोगमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उद्धारमा अनियन्त्रित ड्रोन अभावले दुर्घटनाको जोखिम : प्रधानसेनापति सिग्देल
प्रधानसेनापति अशोकराज सिग्देलले प्राकृतिक विपत्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र (एयरस्पेस)को उचित व्यवस्थापन नहुँदा ठूलो दुर्घटना निम्तिन सक्ने बताउनुभएको छ । प्रभावित क्षेत्रमा जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर तथा अन्य हवाई साधनसँग ठोक्किने जोखिम रहेको उहाँले बताउनुभयो । ड्रोन सञ्चालक र हेलिकप्टर पाइलटबीच प्रभावकारी सञ्चार तथा समन्वय नहुँदा हवाई दुर्घटनाको जोखिम बढेको उहाँको भनाइ छ । विपत्का समयमा अग्रमोर्चामा खटिने हवाई तथा स्थल सुरक्षा निकायहरूबीच पर्याप्त सञ्चार र समन्वय नहुँदा उद्धार उडानहरू निकै जोखिमपूर्ण बन्दै गएको उहाँले बताउनुभयो ।

तीनवटै सुरक्षा निकायबीचको समन्वयमा कुनै समस्या थिएन : डिआइजी ढकाल
सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डिआइजी) कृष्ण ढकालले विपत् प्रतिकार्यलाई नतिजामुखी बनाउन विषयगत क्लस्टरहरूलाई तत्काल पूर्ण सक्रिय तुल्याउनुपर्ने बताउनुभयो । सुरक्षा निकायलाई विशुद्ध खोज तथा उद्धारमा मात्रै केन्द्रित गर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सीमापार विपत्का घटना न्यूनीकरण गर्न चीन, नेपाल र भारतबीच मिनेट–सेकेण्डमै सूचना आदानप्रदान हुने त्रिपक्षीय पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ छ । विपत्मा कागजी रूपमा धेरै क्लस्टरहरू गठन भए पनि स्थलगत रूपमा ती प्रभावकारी हुन नसक्दा सुरक्षाकर्मीले नै स्वास्थ्यलगायत अन्य विविध क्षेत्रको समेत जिम्मेवारी लिनुपरेको उहाँले बताउनुभयो । सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बाढी तथा विपत् प्रतिकार्यमा सुरक्षा निकायहरूबीचको ‘चेन अफ कमाण्ड’ र अन्तरनिकाय समन्वय उत्कृष्ट रहेको उहाँले दाबी गर्नुभयो । यद्यपि, विपत् व्यवस्थापनसँग जोडिएका राष्ट्रिय संरचनाहरूबीच कार्यक्षेत्रको दोहोरोपना रहेको उहाँले पनि स्वीकार गर्नुभयो ।

शनिबार दिउँसोबाट वर्षा कम हुने
आज (शनिबार)देखि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि क्रमिक रूपमा कम हुँदै जाने भएको छ । मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि अर्नबको प्रभाव प्रभाव क्रमिक रूपमा कम हुँदै जाने जनाएको हो । प्रभाव कम हुने भए पनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन विभागका मौसमविद् डेभिड ढकालले आग्रह गर्नुभयो । भारतमा शक्तिशाली चक्रवात ‘अर्णव’को शक्ति बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भए पनि नेपाल प्रवेश गर्दा कमजोर भएकाले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको असर भने सामान्य रहेको विभागले जनाएको छ ।

मौसम विश्लेषणअनुसार शनिबार बिहानसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको तीव्रता केही बढ्नसक्ने सम्भावना छ । यस अवधिमा केही स्थानमा भारी वर्षा हुनुका साथै उच्च हिमाली भू-भागमा बाक्लो हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । यद्यपि, लगातार ठूलो वर्षा भने नहुने मौसमविद्को भनाइ छ । भारी वर्षा भइहाले पनि त्यो १ देखि २ घण्टाभन्दा बढी नटिक्ने र अधिकांश समय सिमसिम पानी पर्ने भएकाले ठूलो विपद्को सम्भावना भने कम रहेको छ । तर, पनि आकस्मिक विपत् निम्तिन सक्ने भएकाले पहिरो, डुबान तथा हिमपहिरोको जोखिम रहेका क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । शनिबार दिउँसोबाट वर्षा केही कम हुने भए पनि मौसम पूर्णरूपमा खुल्न भने केही समय लाग्ने देखिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध
ताजा खबरJust now

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

काठमाडौँ। बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्। धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ। आज बिहान ४ः५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका-९ पिनथली र वडा नम्बर ८ स्थित गिम्दीबेँसीस्थित ...

नेपालन्युज
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु
ताजा खबरJust now

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। पार्टीका... ...

रातोपाटी
रोकिएन वर्षा, एनपीएलका खेल प्रभावित (तस्बिरहरू)
ताजा खबरJust now

रोकिएन वर्षा, एनपीएलका खेल प्रभावित (तस्बिरहरू)

काठमाडौँ । अविरल वर्षाका कारण नेपाल प्रिमियर लिगअन्तर्गतका आजका खेल प्रभावित भएका छन् । वर्षा नरोकिएको, मैदान र प्यारापिटमा पनि पानी जम्मा भएकाले आज खेल हुने सम्भावना टर्दै गएको छ ।... ...

रातोपाटी
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
ताजा खबरJust now

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

हेटौँडा । लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ । मकवानपुरका प्रमुख ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play