वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद

काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ। भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो। समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा भारतीय विदेशमन्त्री डा. जयशंकर प्रमुख वक्ता र अर्थमन्त्री डा. वाग्ले अतिथि वक्ताका रुपमा थिए। अर्थमन्त्री वाग्लेले शीतयुद्धको अन्त्यपछि विश्वले व्यापार र आर्थिक क्षेत्रमा बहुपक्षीयतालाई प्राथमिकता दिएको स्मरण गर्दै पछिल्ला वर्षमा त्यसको आधार कमजोर बन्दै गएको उल्लेख गरे। उनले व्यापारिक गुटहरूको विस्तार र विश्वव्यापी विखण्डन बढिरहेको अवस्थामा विपद् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र क्षेत्रीय सहकार्यलाई संस्थागत गर्न सकिने सम्भावनाबारे जिज्ञासा राखे। डा. वाग्लेले अन्तर्राष्ट्रिय सहकार्यका विभिन्न प्रयासलाई औपचारिक संस्थागत संरचनाले बलियो बनाउनु पर्ने हो वा साझेदार मुलुकबीचको समझदारीका आधारमा अघि बढाउनु उपयुक्त हुने हो भन्ने प्रश्न समेत गरे। “के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौं ?” अर्थमन्त्री वाग्लेले प्रश्न गर्दै बहुध्रुवीय विश्व व्यवस्थालाई क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यले कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा जयशंकरको धारणा मागे। जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा देशहरू औपचारिक प्रतिबद्धताभन्दा व्यावहारिक सहकार्यतर्फ आकर्षित हुँदै गएको बताए। उनका अनुसार औपचारिक संस्थागत संरचना निर्माण गर्ने क्रममा आपसी वार्ता, प्रशासनिक प्रक्रिया, आर्थिक दायित्व र नियम निर्धारणमै धेरै समय खर्च हुने हुँदा कतिपय अवस्थामा मूल उद्देश्य नै ओझेलमा पर्ने गरेको छ। औपचारिक संरचना आवश्यक पर्ने क्षेत्रमा त्यस्तो व्यवस्था उपयुक्त हुने उल्लेख गर्दै उनले सबै सहकार्यलाई संस्थागत संरचनामा बाँध्न आवश्यक नरहेको धारणा राखे। अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई औपचारिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले सहकार्यको स्वरूप विषय, साझेदार र प्रतिबद्धताको स्तरअनुसार फरक हुन सक्ने बताए। जयशंकरले ब्रिक्सको उदाहरण दिँदै उक्त समूहको आफ्नै सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नरहेको उल्लेख गरे। उनले ब्रिक्स र सांघाई सहयोग संगठनको संरचनाबीच रहेको भिन्नतालाई औंल्याउँदै सहकार्यका सबै संयन्त्रको स्वरूप एउटै ढाँचामा अघि बढ्न नसक्ने स्पष्ट पारे। “तपाईंले मलाई प्रवृत्तिबारे सोध्नु भयो भने, म भन्छु, प्रवृत्ति स्पष्ट रूपमा बढी तदर्थ र बढी समान विचारधाराका समूहहरूतर्फ गइरहेको छ,” भारतीय मन्त्री जयशंकरले भने। भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा द्विपक्षीयभन्दा फरक प्रकृतिका त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधारा भएका मुलुकका करिब ५० वटा समूह निर्माण गरेको प्रसङ्ग उल्लेख गर्दै उनले कम प्रशासनिक भार र परिणाममुखी सहकार्यप्रति देशहरूको रुचि बढिरहेको बताए। यसअघि अर्थमन्त्री वाग्लेले नेपालले भारतबाट प्राप्त गरेको विपद् प्रतिकार्य सहयोगको प्रशंसा गरेका थिए। उनले सन् २०१५ को भूकम्प र हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला भारतले विपद् आएको केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको स्मरण गर्दै नेपाल त्यसप्रति कृतज्ञ रहेको बताए। विश्वव्यापी तनाव, आर्थिक विखण्डन र ठूला शक्तिहरूको बदलिँदो भूमिकाका बीच अन्तर्राष्ट्रिय सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित उक्त संवादले बहुपक्षीयता, क्षेत्रीय साझेदारी र परिणाममुखी कूटनीतिबारे दुई नेताबीच विचार आदानप्रदानको अवसर प्रदान गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ट्युनिसियामा प्रहरी र प्रदर्शनकारीबिच झडप, देशव्यापी असन्तोष बढ्दै
ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिससहित विभिन्न सहरमा प्रहरीसँग प्रदर्शनकारीको झडप भएको छ । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु तथा सार्वजनिक सेवाको कमजोर अवस्थालाई लिएर बिहीबार प्रदर्शन चर्किएको हो । राजधानीको उपनगरीय... ...

गड्डाचौकी नाका हुँदै भारततर्फ लागेका रविले भने- जेलमा गरेका भाकल पूरा गर्न जाँदैछु
महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गरेका छन् । सभापति लामिछानेले पत्नीसहित स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा)को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहिटीस्थित कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको सो पार्टीका सचिवालय सदस्य एवं सांसद ...

अवैध रूपमा नेपाल पस्न लागेका श्रीलंकाका ३ र एक भारतीय नागरिक पक्राउ
भारतीय सुरक्षा स्रोतका अनुसार नेपाल प्रवेश गरेपछि उनीहरू शरणार्थीका रूपमा युरोपको फ्रान्स वा बेलायत जाने तयारीमा थिए। उनीहरू दलालमार्फत नेपाल आउन लागेको स्रोतको दाबी छ। ...

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य
बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबिच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुलकार सञ्चालनसँगै लगानी... ...


