लण्डन । स्पेनिस ला लिगामा रियल म्याड्रिडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार १२औँ जित निकाल्दा इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए । शनिबार राती घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेल्टाविरुद्ध पुनरागमन जित निकालेको हो । छैटौं मिनेटमै पाब्लो डुरानले गोल गरेपछि सेल्टाले अग्रता लिएको थियो । पहिलो हाफमै खेल बराबरी गर्ने अवसर पाएको रियलका किलियन एम्बाप्पे भने पेनाल्टीमा चुक्नुभयो । दोस्रो हाफमा जुड बेलिङ्घमले ६७औँ मिनेटमा गोल गर्दै रियललाई बराबरीमा फर्काउनुभयो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा कार्लोस एस्पीले निर्णायक गोल गरेपछि रियलले तीन अंक जोड्यो । भिनिसियस जुनियरको क्रसमा हेडर प्रहार गर्नुभएका एस्पीले गोलरक्षकले फर्काएको बललाई रिबाउन्डमा जाली चुमाउनुभएको थियो । मैदान प्रवेश गरेको ६ मिनेटमै उहाँले निर्णायक गोल गर्नुभयो । जितसँगै रियलले ११ खेलबाट ३३ अंक जोड्दै शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । चार खेलको प्रतिबन्ध पूरा गर्नुभएका भिनिसियस दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएको थियो । लामो समयपछि सुरुवाती टोलीमा अवसर पाउनुभएका ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले भने ६० मिनेटअघि नै मैदान छाड्नुभयो । यता, पिएसजीले निसलाई ३-२ ले पराजित गर्दै सबै प्रतियोगितामा लगातार १२औँ जित निकालेको छ । निसको मैदानमा घरेलु टोलीले आठौं मिनेटमा मोहम्मद अमौराको गोलबाट अग्रता लिए पनि पिएसजीले पहिलो हाफमै खेल उल्टायो । ३१औँ मिनेटमा सेनी मायुलुले पेनाल्टीमा बराबरी गोल गर्नुभयो । त्यसको ५५ सेकेण्डपछि देसीरे डुइले गोल गर्दै पिएसजीलाई अघि बढाउनुभयो । पहिलो हाफमै घुँडामा चोट लागेर स्ट्रेचरमा मैदानबाहिर लगिएका डुइको स्थानमा आउनुभएका फेरान टोरेसले ८५औँ मिनेटमा गोल गर्नुभयो । इन्जुरी समयमा अली अब्दीले गोल गरे पनि निसले बराबरी गर्न सकेन । पिएसजी ११ खेलमा २६ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको लिलभन्दा पाँच अंकले अघि रहेको पिएसजीका प्रशिक्षक लुइस एनरिकेले शीर्ष डिभिजनमा ३००औँ जित पूरा गर्नुभएको छ । प्रिमियर लिगमा भने आर्सनल न्युक्यासलसँग २-२ को बराबरीमा रोकियो । एबेरेची एजेले ३३औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा अघि रहेको आर्सनलविरुद्ध न्युक्यासलले दोस्रो हाफमा पुनरागमन गर्यो । हार्भे बार्न्सले ४९औँ मिनेटमा बराबरी गोल गर्नुभयो भने ६२औँ मिनेटमा मालिक थियावले न्युक्यासललाई अघि बढाउनुभयो । नोनी मडुएकेले ७८औँ मिनेटमा गोल गरेपछि आर्सनलले हार टार्यो । म्यानचेस्टर सिटी फुलहमसँग १-१ को बराबरीमा रोकियो । फुलहमका रोड्रिगो मुनिजले १६औँ मिनेटमा गोल गरेपछि इलियट एन्डरसनले ५७औँ मिनेटमा सिटीलाई बराबरीमा फर्काउनुभयो । चेल्सी भने लिड्स युनाइटेडसँग ४-१ ले पराजित भयो । लिड्सका नोआ ओकाफोरले दुई तथा डोमिनिक काल्भर्ट लेविन र ब्रेन्डन आरोन्सनले एक–एक गोल गर्नुभयो । अन्य खेलमा टोटनहमले इप्सविचलाई २-०, बोर्नमाउथले नटिङ्घम फरेस्टलाई २-० र कोभेन्ट्रीले क्रिस्टल प्यालेसलाई ३-२ ले हराए । एस्टन भिल्ला र सन्डरल्याण्डले गोलरहित बराबरी खेले । ला लिगाका अन्य खेलमा आलाभेसले डेपोर्टिभो ला कोरुनालाई ३-१, भ्यालेन्सियाले रायो भालेकानोलाई १-० ले हराए । सेभिया र रियल बेटिसले १-१ को बराबरी खेले । शुक्रबार एस्पान्योलले एथलेटिक बिल्बाओलाई १-० ले पराजित गरेको थियो । एजेन्सी
युरोपेली लिगमा रोमाञ्चक भिडन्त

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






