लहान । सिरहाको नवराजपुर गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ को उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा नं.५ लाई ४२ रनले पराजित गर्दै वडा नं.४ च्याम्पियन बनेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नं.४ ले निर्धारित खेलमा १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नं.५ को टोली १६.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै समेटियो । यससँगै वडा नं.४ ले उपाधि आफ्नो नाममा लेखाउन सफल भयो । प्रतियोगिताको समापन गाउँपालिका अध्यक्ष शिव उदगार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका जनप्रतिनिधि, पूर्वउपाध्यक्ष शोभा यादव, प्रमुख प्रशासकीय अधिकृत, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैतालगायत जनप्रतिनिधि, राजनीतिकर्मी, युवा तथा खेलप्रेमीहरूको उपस्थिति थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ । उत्कृष्ट ब्याट्सम्यान जितेन्द्रप्रसाद यादव घोषित हुनुभयो भने वडा नं.५ का कप्तान सेन्डिलले उत्कृष्ट बलर र प्लेयर अफ द टुर्नामेन्टको उपाधि जित्नुभयो । त्यस्तै, उत्कृष्ट फिल्डर मनिष यादव बन्दा फाइनल खेलका उत्कृष्ट खेलाडी मिथिलेश सिंह घोषित हुनुभयो । क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका विवेक यादवलाई पनि सम्मान गरिएको थियो । स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउने, नयाँ क्रिकेट प्रतिभाको पहिचान गर्ने तथा आपसी सद्भाव र एकता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको सफल समापनसँगै आयोजकले सहभागी खेलाडी, सहयोगी, अतिथि तथा दर्शकप्रति आभार व्यक्त गरेको छ ।
चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






