काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- लुम्बिनी गुरुयोजना क्षेत्रअन्तर्गत निषेधित स्थानमा सञ्चालन गरिएका पसलहरू हटाउन शुरु गरेको छ । लुम्बिनी विकास कोषले मंसिर १० गते जारी गरेको सार्वजनिक सूचनाअनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको समन्वयमा पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत स्थानमा राखिएका पसल हटाइएको हो । कोषले मंसिर ११ गतेदेखि लागू हुने गरी २४ घण्टाभित्र पसल हटाउन अनुरोध गरेको थियो । लुम्बिनीको पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्दै गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पसल हटाइएको कोषले जनाएको छ । कोषले आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ । सूचनाविपरीत पसल सञ्चालन गरी सामान हटाउन अटेर गरेमा प्रचलित कानुनअनुसार सामान जफत गरिने जनाएको छ । २- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन् । आफ्नो पक्षको कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले संविधान र पार्टी विधानअनुसार आफू नै आधिकारिक सभापति रहेको र न्यायालयबाट पनि आफूहरूकै पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे । ‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ । हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ,’ उनले भने । उनले अब आफू पार्टी सभापति र प्रधानमन्त्री नबन्ने स्पष्ट पार्दै बाँकी जीवन देश र जनताका लागि योगदान गर्न चाहेको बताए । देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पनि देउवा नेतृत्वकै कांग्रेस आधिकारिक भएको दाबी गर्दै यस विषयमा भ्रममा नपर्न आग्रह गरेका छन् । ३- इरानको अनौपचारिक मुद्रा बजारमा अमेरिकी डलरको मूल्य तीन लाख तोमान नजिक पुगेको छ । इरानी मुद्रा रियाल लगातार कमजोर बन्दै गएपछि डलरको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । नोभेम्बर २८ मा खुला बजारमा एक अमेरिकी डलरको मूल्य करिब २९ लाख ९२ हजारदेखि २९ लाख ९९ हजार रियालसम्म पुगेको थियो । इरानमा दैनिक कारोबारमा प्रयोग हुने तोमानमा यो मूल्य करिब २ लाख ९९ हजारदेखि २ लाख ९९ हजार ९०० तोमान बराबर हुन्छ । नोभेम्बर २९ मा केही मुद्रा विनिमय दर निगरानी गर्ने संस्थाले डलरको मूल्य ३ लाख २ हजार ५०० तोमानसम्म पुगेको देखाएका छन् । इरानमा एक तोमान बराबर १० रियाल हुन्छ । त्यसैले ३ लाख तोमानको डलर मूल्यलाई रियालमा गणना गर्दा ३० लाख रियाल हुन्छ । तोमानको प्रयोग सर्वसाधारणको दैनिक कारोबारमा बढी हुने भएकाले बजारमा डलरको मूल्य प्रायः तोमानमै उल्लेख गरिन्छ । पछिल्ला केही दिनयता विदेशी मुद्राको मूल्य तीव्र रूपमा बढेको छ । नोभेम्बर २३ मा एक डलरको मूल्य करिब २ लाख ७० हजार तोमान रहेकोमा त्यसको केही दिनमै बढेर तीन लाखको हाराहारीमा पुगेको हो । रियाल कमजोर हुनुमा अमेरिकी प्रतिबन्ध, इरानमाथिको आर्थिक दबाब, विदेशी मुद्रा सञ्चितिमा पहुँचको कठिनाइ र व्यापारमा देखिएको अवरोधलाई प्रमुख कारण मानिएको छ । अमेरिकाले नोभेम्बर २३ मा इरानको विदेशी मुद्रा कारोबारमा संलग्न केही कम्पनी तथा वित्तीय सञ्जालमाथि थप प्रतिबन्ध लगाएपछि पनि रियालमा दबाब बढेको थियो । यसैबीच, इरानको केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हिम्मतीले मुद्रा बजार स्थिर बनाउन बैंक हस्तक्षेप गर्न तयार रहेको बताएका छन् । उनले आधारभूत वस्तु तथा औषधि आयातका लागि आवश्यक विदेशी मुद्रा केही महिनासम्म उपलब्ध गराउन सकिने दाबी गरेका छन् । तर बजारको अपेक्षा र राजनीतिक अवस्थाले विनिमय दरमा प्रभाव पारिरहेको उनको भनाइ छ । मुद्राको अवमूल्यनसँगै इरानमा महँगीसमेत तीव्र बनेको छ । आधिकारिक विवरणअनुसार सन् २०२६ अक्टोबरमा उपभोक्ता मूल्य अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८.७ प्रतिशत बढेको थियो । खाद्यान्न तथा पेय पदार्थको मूल्यवृद्धि अझ उच्च रहेको छ । यसले सर्वसाधारणको क्रयशक्ति र दैनिक जीवनयापनमा थप दबाब पारेको छ । यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने रणनीतिबारे बोल्दै डलरको मूल्य ३० लाख रियालसम्म पुग्न सक्ने चेतावनी दिएका थिए । अहिले खुला बजारमा डलरको मूल्य त्यही स्तरको आसपास पुगेको छ । ४- इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० सिरिज एक खेल बाँकी छँदै ३–१ ले जितेको छ । आइतबार सिड्नीमा भएको चौथो खेलमा अस्ट्रेलियालाई ७ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज आफ्नो पक्षमा पारेको हो । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसका साम करनले अविजित ५० रन बनाए । जेम्स कोल्सले ३३ रनको योगदान दिए । १८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान मिचेल मार्सले ५७ बलमा ११९ रनको आक्रामक इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् । इंग्ल्यान्डका हेनरी क्रोम्बले ३ विकेट लिए भने आदिल रसिद र जेमी ओभरटनले पनि महत्त्वपूर्ण विकेट लिए । अन्तिम ओभरमा अस्ट्रेलियालाई १२ रन आवश्यक हुँदा क्रोम्बले मार्स र जोएल डेभिसलाई लगातार बलमा आउट गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका थिए । यसअघि पहिलो खेल अस्ट्रेलियाले ३ विकेटले जितेको थियो भने दोस्रो र तेस्रो खेल इंग्ल्यान्डले क्रमशः ८ विकेट र ७ विकेटले जितेको थियो । अब पाँचौँ तथा अन्तिम खेल डिसेम्बर २ मा क्यानबेरामा हुनेछ । ५- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग वर्तमान युद्धमोर्चाकै अवस्थामा युद्धविराम गर्न आफ्नो देश तयार रहेको बताएका छन् । उनले दुवै देशका सेना अहिले तैनाथ रहेकै स्थानमा रोकिएर युद्ध अन्त्यका लागि कूटनीतिक वार्ता अघि बढाउन प्रस्ताव गरेका छन् । अलजजिरासँगको अन्तर्वार्तामा जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको कब्जामा रहेका क्षेत्रबाट पछि हट्न तयार नभएको भन्दै वर्तमान सैन्य अवस्थामै युद्ध रोक्नु युक्रेनका लागि ठूलो सम्झौता हुने बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्ध अन्त्यका लागि पहल जारी राख्न आग्रह गर्दै शान्ति सम्झौताको भार युक्रेनमाथि मात्रै थोपर्न नहुने बताएका छन् । यसैबीच, रुस र युक्रेनबीच अमेरिकाको मध्यस्थतामा अर्को चरणको वार्ता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने भएको छ । बैठकको मिति भने तय भइसकेको छैन। यसअघि भएका वार्तामा युद्ध अन्त्य, कैदीबन्दी आदानप्रदान, युक्रेनको सुरक्षा र भूभागसम्बन्धी विषयमा छलफल भए पनि ठोस सहमति हुन सकेको छैन । डोनबास क्षेत्रको भविष्य र रुसको भूभागसम्बन्धी माग शान्ति सम्झौताका प्रमुख अवरोध बनेका छन् । रुसले डोनबासका बाँकी क्षेत्रमा पनि युक्रेनी सेना हटाउन माग गर्दै आएको छ भने युक्रेनले त्यसलाई आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताविरुद्ध मानेको छ । ६- काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसन सञ्चालनमा आएको छ । चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मातातीर्थ–चोभार खण्डबाट सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरण गर्न ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ । तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोक क्षेत्रतर्फ र छवटा कीर्तिपुर तथा आसपासका क्षेत्रतर्फ विस्तार गरिएका छन् । फिडरहरूलाई क्रमशः चार्ज गरी स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार सबस्टेसनको अनुगमन गरी ११ केभी फिडरहरू तत्काल चार्ज गरेर विद्युत् भार (लोड) स्थानान्तरणको काम अघि बढाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । कार्यकारी निर्देशक श्रेष्ठले चोभार सबस्टेसन सञ्चालनमा आएपछि विशेषगरी कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने बताए । उनले हिउँदयाममा काठमाडौं उपत्यकाको विद्युत् माग बढ्ने भएकाले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसनले आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्युत् भार स्थानान्तरणको काम तत्काल सम्पन्न गर्न निर्देशन दिएका हुन् । चोभार सबस्टेसन सञ्चालनमा आएसँगै स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत् भारको केही हिस्सा चोभार सबस्टेसनमा स्थानान्तरण गरिनेछ । यसबाट विद्यमान सबस्टेसनहरूको भार व्यवस्थापनमा सहयोग पुग्नुका साथै काठमाडौं उपत्यकाको समग्र विद्युत् आपूर्ति प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा अन्य अवरोधका कारण काम अघि बढाउन कठिनाइ भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको हो । चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ । यी संरचना निर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली थप सुदृढ हुनेछ । चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो । एसियाली विकास बैंक (एडीबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो । ७- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हामी तयार छौँ’ अभियानमा सहभागी हुने पार्टी नेताहरुलाई दिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा समूहको प्रभावमा परेर पार्टीको हितविपरीत गतिविधि गर्नेलाई कारबाही गरिने चेतावनी दिएका हुन् । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पनि पार्टीको विधान र नीतिविपरीत काम नगर्न सचेत गराउदै पार्टीको हितविपरीत काम गर्नेहरू पार्टीमा नरहने उनको भनाइ थियो । उनले पार्टीको विधान अनुसार अगाडी बढ्न आफु बाध्य रहेको बताउदै देउवा समुहले गर्ने भनेको महाधिवेशन काँग्रेसको नभएको बताए । उनले अन्य दल वा समुहमा लाग्ने जनप्रतिनिधि र नेता कार्यक्रताले काँग्रेस छोड्नुपर्नेमा आफु स्पष्ट रहेको समेत उल्लेख गरेका थिए । थापाले सबै समूहलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रयास जारी राखेको उल्लेख गर्दै सरकारका गलत कामको भण्डाफोर गर्ने बताए । उनले सुकुम्बासी र बाढीपीडितका मुद्दासहित सरकारका कमजोरीविरुद्ध कांग्रेसले देशव्यापी अभियान सञ्चालन गर्ने जानकारी दिए । त्यस्तै, सार्वजनिक ओहोदामा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न कांग्रेस तयार रहेको पनि उनले बताएका छन् । ८- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो उपाधि ट्रफी टुर आजदेखि सुरु गरेको छ । ‘च्याम्पियन्स ट्रफी टुर’ सुदूरपश्चिमको अछामस्थित बैद्यनाथ धामबाट सुरु भएको हो । मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टुरअन्तर्गत सुदूरपश्चिमका विभिन्न जिल्लामा ट्रफी प्रदर्शन, र्याली तथा विशेष कार्यक्रम आयोजना गरिनेछ । कार्यतालिकाअनुसार मंसिर १३ गते अछाम र बाजुरा, १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी र दार्चुला तथा १७ गते बझाङमा ट्रफी टुर हुनेछ । त्यस्तै, मंसिर १८ गते परशुराम धाम, १९ गते टीकापुर र महेन्द्रनगर तथा २० गते धनगढीमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ। धनगढीमा र्यालीसँगै महोत्सव मैदानमा विशेष सांगीतिक कार्यक्रमसमेत हुनेछ । सुदूरपश्चिम रोयल्सले आफ्नो ऐतिहासिक उपाधि समर्थक र स्थानीय समुदायसँग उत्सवका रूपमा बाँड्न ट्रफी टुर आयोजना गरेको बताएको छ । ९- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह तथा समग्र प्रतियोगिताको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सुर्खेतमा विशेष सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । आगामी मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा प्रतियोगिताको उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा विशिष्ट पाहुनाको आगमन, खेलाडी तथा पदाधिकारीको आवास र दर्शकको भीडलाई ध्यानमा राख्दै सुरक्षा रणनीतिबारे छलफल गरिएको हो । बैठकले प्रतियोगिताभर सबै सुरक्षा निकायबीच समन्वय, सूचना आदानप्रदान र आवश्यकताअनुसार संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। रङ्गशालाको प्रवेश तथा निकास व्यवस्थापन, भीड नियन्त्रण, पार्किङ, ट्राफिक व्यवस्थापन, सीसीटीभी निगरानी र नियमित गस्तीलाई प्राथमिकतामा राखिएको छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ गरी ११ टोलीका खेलाडी सहभागी हुनेछन् । १०- नेपाली कांग्रेसले पुस मसान्तसम्म जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको तयारी बारे जानकारी दिदै अधिवेशनका मितिबारे सम्बन्धित जिल्ला तथा प्रदेश समितिसँग परामर्श गरी निर्वाचन समितिले अन्तिम निर्णय सार्वजनिक गर्ने बताए । जस अनुसार काँग्रेसले हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । मौसम र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै हिमाली जिल्लाको अधिवेशन छिटो गर्न लागिएको हो । त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेभित्र सम्पन्न गर्ने तयारी छ। सातै प्रदेशको अधिवेशन एकै दिन नगरी एक–दुई दिनको फरकमा सञ्चालन गरिने तयारी गरिएको छ । जिल्ला र प्रदेश अधिवेशन अघि काङ्ग्रेसले देशभरका ७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ । ११- नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छपाइ, आपूर्ति तथा ढुवानीका लागि बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचनामार्फत पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट बोलपत्र माग गरेको हो । इच्छुक कम्पनीले आगामी पुस १४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पुस १४ गते दिउँसो १ बजे खोलिनेछ । बोलपत्रसम्बन्धी कागजात खरिद गर्ने अन्तिम मिति भने पुस १३ गते तोकिएको छ । बोलपत्र पेस गर्दा कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्नेछ । बोलपत्र १२० दिनसम्म मान्य रहने राष्ट्र बैंकले जनाएको छ । यसका लागि मङ्सिर २५ गते दिउँसो १२ बजे राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठकसमेत आयोजना गरिने सूचनामा उल्लेख छ । १२- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको पेसागत सुरक्षा तथा श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यालयअगाडि पत्रकारले एक घण्टा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार बिहान ११ बजेदेखि धर्ना दिइएको हो । पत्रकारहरूले ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित प्रदर्शन गरेका हुन् । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध गर्नेहरूमाथि कारबाही नभएको भन्दै महासंघले आन्दोलन गरेको जनाएको छ । त्यस्तै, लोककल्याणकारी विज्ञापनको रकम कटौती र सरकारी सञ्चारमाध्यमबाट श्रमजीवी पत्रकारलाई निष्कासन गरिएको विषयमा पनि महासंघले आपत्ति जनाएको छ । महासंघले मंसिर १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेको छ । १३- स्पेनमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनपूर्वका सर्वेक्षणले विपक्षी पिपुल्स पार्टी (पीपी) सबैभन्दा अगाडि देखिएको छ । उसले दक्षिणपन्थी दल भोक्ससँग गठबन्धन गरेर सरकार बनाउन सक्ने अनुमान गरिएको छ । स्पेनको संसद्को तल्लो सदनमा ३५० सिट छन् । बहुमतका लागि १७६ सिट आवश्यक पर्छ । नोभेम्बर २७ सम्मका सर्वेक्षणअनुसार पीपीले १३१ र भोक्सले ६३ सिट जित्ने अनुमान छ । दुवै दलको सम्भावित सिट जोड्दा १९४ पुग्छ । प्रधानमन्त्री पेड्रो सान्चेजको समाजवादी पार्टीले भने ११९ सिट पाउने अनुमान गरिएको छ । यदि दक्षिणपन्थी गठबन्धन सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको शासन अन्त्य भएयता पहिलोपटक सत्तामा आउन सक्ने देखिएको हो । दक्षिणपन्थी गठबन्धनले बहुमत हासिल गरेमा पीपीका नेता अल्बेर्तो नुनेज फेइखू प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ भने भोक्सका नेता सान्तियागो आबास्कालले महत्त्वपूर्ण भूमिका पाउन सक्ने बताइएको छ । निर्वाचनमा घरको मूल्य र भाडा वृद्धि, आवास अभाव, आप्रवासन र अर्थतन्त्र प्रमुख मुद्दा बनेका छन् । प्रधानमन्त्री सान्चेजको सरकारले आगामी वर्षमा एक लाख सस्तो सरकारी आवास निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । पीपीले १० लाख नयाँ घर बनाउने वाचा गरेको छ भने भोक्सले स्पेनी नागरिकलाई आवासमा प्राथमिकता दिने नीति अघि सारेको छ । वर्तमान प्रधानमन्त्री सान्चेजलाई भ्रष्टाचारका आरोपले पनि दबाबमा पारेको छ । उनकी पत्नी बेगोना गोमेज र भाइ डेभिड सान्चेजमाथि विभिन्न अनियमितताका आरोप लागेका छन् । विपक्षी दलहरूले यी विषयलाई सरकारविरुद्धको प्रमुख मुद्दा बनाउँदै आएका छन् । सन् २०२३ को निर्वाचनपछि स्पष्ट बहुमत नपाएका सान्चेजले कातालोनियाका पृथकतावादी दलसहित साना दलको समर्थनमा सरकार बनाएका थिए । पृथकतावादी नेताहरूलाई आममाफी दिने उनको निर्णयले दक्षिणपन्थी दल र आफ्नै समर्थकको एउटा हिस्सासमेत असन्तुष्ट बनेको थियो । १४- नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि कात्तिकसम्म आन्तरिक खपतपछि बचत भएको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिएको हो । यसबाट प्राधिकरणले कुल २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । चार महिनाको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ । कात्तिक महिनामा मात्रै ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी विद्युत् निर्यात असोजमा भएको थियो । असोजमा ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात गरी ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुग्दा यस वर्ष निर्यात प्रभावित भएको बताएका छन् । केही आयोजनाको उत्पादन बन्द भए पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य मात्रामा निर्यात गर्न सफल भएको उनको भनाइ छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गर्दा १० अर्ब ५६ करोड रुपैयाँ खर्च भएको थियो । विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी गरेको नेपाल लगातार दुई वर्षदेखि विद्युतको खुद निर्यातकर्ता बन्दै आएको छ । १५- नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा सरकारमाथि राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सापकोटालाई दबाब दिएर आफूअनुकूल बयान गराउन खोजिएको भन्ने विषय गम्भीर रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापालगायतलाई लक्षित गरी बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिलाई तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको भन्ने आरोप सार्वजनिक भएको उल्लेख गरेका छन् । ‘राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हो,’ उनले भनेका छन्। सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेखित विषयले गम्भीर प्रश्न उठाएको भन्दै आङ्देम्बेले सरकारसँग निष्पक्ष अनुसन्धान भइरहेको हो वा नियोजित रूपमा फसाउने षड्यन्त्र भइरहेको हो भन्ने स्पष्ट जवाफ माग गरेका छन् । कांग्रेसले प्रकरणका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । ‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ,’ आङ्देम्बेले भनेका छन्। दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै उनले राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार बन्न नहुने बताएका छन् । १६- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको २ हजारले बढेर तोलाको दुई लाख ४८ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३२१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३१९५ रुपैयाँमा कारोबार भएको थियो । १७- भारत सरकारले निर्वाचन क्षेत्र पुनर्निर्धारण र महिला आरक्षणसम्बन्धी नयाँ विधेयक अघि बढाएसँगै भारतीय संसद्को संरचनामा ठूलो परिवर्तन हुने भएको देखिएको छ । नयाँ प्रस्तावअनुसार हाल ५४३ सदस्य रहेको लोकसभाको सिट संख्या बढाएर ८१६ पुर्याउने तयारी गरिएको छ । यससँगै राज्य विधानसभाको सिट संख्या पनि ५० प्रतिशत बढाउने प्रस्ताव गरिएको छ । भारतमा निर्वाचन क्षेत्र पुनर्निर्धारण भन्नाले जनसंख्याको अवस्था र राजनीतिक प्रतिनिधित्वलाई ध्यानमा राखेर निर्वाचन क्षेत्रको सीमा तथा संसद् र विधानसभामा राज्यले पाउने सिट संख्या निर्धारण गर्ने प्रक्रिया हो । यस प्रक्रियामा कुन क्षेत्रमा कति जनसंख्या रहने, कुन भूभागलाई एउटै निर्वाचन क्षेत्रमा समेट्ने र कुन निर्वाचन क्षेत्र महिला तथा अनुसूचित जाति र जनजातिका लागि आरक्षित गर्ने भन्ने निर्णय गरिन्छ । अहिले भारतको लोकसभामा ५४३ निर्वाचित सिट छन् । नयाँ प्रस्ताव पारित भए प्रत्येक राज्य र केन्द्रशासित प्रदेशको विद्यमान सिट संख्यामा ५० प्रतिशत वृद्धि हुनेछ । यसरी लोकसभाको कुल निर्वाचित सिट संख्या ८१६ पुग्ने प्रस्ताव छ । संविधान संशोधनमार्फत लोकसभाको अधिकतम सदस्य संख्या पनि ५५० बाट बढाएर ८५० पुर्याउने प्रस्ताव गरिएको छ । यसमा राज्यबाट बढीमा ८१५ र केन्द्रशासित प्रदेशबाट ३५ सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसैगरी, नयाँ विधेयकको अर्को महत्त्वपूर्ण पक्ष महिला आरक्षण हो । प्रस्तावअनुसार लोकसभा र राज्य विधानसभामा महिलाका लागि ३३ प्रतिशत सिट आरक्षित गरिनेछ। सिट संख्या बढाएर आरक्षण लागू गर्दा अहिले निर्वाचित सांसदको प्रतिनिधित्वमा ठूलो कटौती नगरी महिलालाई थप अवसर दिन सकिने सरकारको तर्क छ । यसबाट संसद् र प्रदेशसभामा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ । विधेयक पारित भएपछि सरकारले निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग गठन गर्नेछ । आयोगको नेतृत्व सर्वोच्च अदालतका बहालवाला वा पूर्वन्यायाधीशले गर्ने प्रस्ताव छ । आयोगमा प्रमुख निर्वाचन आयुक्त वा उनले तोकेको निर्वाचन आयुक्त तथा सम्बन्धित राज्यका निर्वाचन आयुक्त पनि रहनेछन् । आयोगले जनसंख्याको विवरण, भौगोलिक अवस्था र प्रतिनिधित्वलाई आधार बनाएर निर्वाचन क्षेत्रको नयाँ सीमा निर्धारण गर्नेछ। प्रारम्भिक प्रस्ताव सार्वजनिक गरेपछि सम्बन्धित क्षेत्रमा जनसुनुवाइसमेत गरिनेछ । नयाँ प्रस्तावमा जनगणना र निर्वाचन क्षेत्र पुनर्निर्धारणलाई अलग गरिएको छ । भारतमा सन् २०२१ मा हुनुपर्ने जनगणना कोभिड महामारीका कारण हुन सकेको थिएन । नयाँ जनगणना र त्यसको अन्तिम विवरण पर्खिँदा निर्वाचन क्षेत्र पुनर्निर्धारण तथा महिला आरक्षण कार्यान्वयनमा थप ढिलाइ हुने सरकारको भनाइ छ । त्यसैले नयाँ विधेयकमार्फत जनगणनाको प्रक्रिया पूरा नभए पनि निर्वाचन क्षेत्र पुनर्निर्धारण अघि बढाउने बाटो खोल्न खोजिएको हो । यसअघि सन् २०२६ अप्रिलमा सरकारले ल्याएको परिसीमन र महिला आरक्षणसम्बन्धी विधेयक लोकसभामा आवश्यक दुईतिहाइ समर्थन नपाएपछि पारित हुन सकेको थिएन । त्यसबेला जनसंख्याका आधारमा सिट संख्या बढाउँदा दक्षिण भारतीय राज्यको प्रतिनिधित्व घट्न सक्ने भन्दै विरोध भएको थियो । नयाँ प्रस्तावमा सबै राज्यको सिट संख्या समान अनुपातमा ५० प्रतिशत बढाउने व्यवस्था गरेर उक्त असन्तुष्टि सम्बोधन गर्न खोजिएको छ । १८- इजरायलका कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सत्ता जोगाउन नयाँ राजनीतिक प्रस्ताव अघि सारेका छन् । उनले एकता सरकार गठन भए आफू दोस्रो कार्यकालमा प्रधानमन्त्री बन्न तयार रहेको बताउँदै गाडी आइजेनकोटलाई पहिले प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । नेतान्याहुको प्रस्तावपछि आइजेनकोटले २४ घण्टाभित्र सहमति जुटाउन आग्रह गरेका छन् । दुवै नेताबीच आइतबार वार्ता हुने तय भएको छ । गत अक्टोबर २७ मा भएको निर्वाचनमा नेतान्याहुको गठबन्धनले बहुमत गुमाएको थियो । निर्वाचनमा उनको लिकुड पार्टीले २७ सिट र आइजेनकोटको पार्टीले २१ सिट जितेका थिए । १२० सदस्यीय संसद्मा सरकार बनाउन ६१ सिट आवश्यक पर्छ । आइजेनकोटले नेतान्याहुविरुद्धका दलसँग गठबन्धन निर्माणको प्रयास गरिरहेका बेला आएको यो प्रस्तावलाई विपक्षी गठबन्धनका केही नेताले सरकार गठन प्रक्रिया रोक्ने चालका रूपमा व्याख्या गरेका छन् । नेतान्याहुको प्रस्तावप्रति गठबन्धनभित्रै मतभेद देखिएको छ । आइजेनकोटले भने वास्तविक एकता र नीतिगत सहमतिका आधारमा मात्रै अघि बढ्ने बताएका छन् । नेतान्याहुको प्रस्ताव इमानदार हो भन्ने प्रमाणित गर्ने जिम्मेवारी उनकै भएको गठबन्धनका नेता नफ्ताली बेनेटले बताएका छन् । १९- स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड डिपोर्टिभो अलाभेससँग २–१ गोलअन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा हार बेहोरेसँगै रियल म्याड्रिडलाई उपाधि दौडमा धक्का लागेको छ । खेलको २२औँ मिनेटमा टोनी मार्टिनेजले गोल गर्दै अलाभेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको रियलले दोस्रो हाफमा पनि अपेक्षित प्रदर्शन गर्न सकेन । खेलको ६१औँ मिनेटमा एन्जेल पेरेजले गोल गर्दै अलाभेसको अग्रता २–० पुर्याएका थिए । त्यसपछि रियलले आक्रमण तीव्र बनाएको थियो । खेलको ६९औँ मिनेटमा किलियन एम्बाप्पेले जुड बेलिङ्घमको पासमा गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा रियल २–१ ले पराजित भयो । खेलको ८८औँ मिनेटमा जुड बेलिङ्घम दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । सुरुमा रियलले पेनाल्टी पाएको भए पनि भिडियो सहायक रेफ्रीको समीक्षा पछि उक्त निर्णय उल्टाइएको थियो । यो हारसँगै रियल म्याड्रिडको घरेलु मैदानमा जारी अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसअघि टोलीले यस सिजन घरेलु मैदानमा लगातार १० खेल जितेको थियो । हारपछि रियल ३३ अंकसहित ला लिगाको तेस्रो स्थानमा झरेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल तीन अंकले पछाडि छ भने दोस्रो स्थानको एट्लेटिको म्याड्रिडभन्दा एक अंकले पछाडि छ । २०- कृत्रिम बुद्धिमत्ता प्रविधि निर्माता कम्पनी ओपनएआईले व्यापारिक गोप्य सूचना चोरी गरेको आरोप लगाउँदै एप्पलविरुद्ध काउन्टर मुद्दा दायर गरेको छ । एप्पलले आफ्ना पूर्वकर्मचारीमार्फत गोप्य सूचना प्राप्त गरेको र ओपनएआईका आगामी उपकरण विकासमा अवरोध पुर्याएको आरोप लगाएको हो । क्यालिफोर्नियाको अदालतमा शुक्रबार दायर गरिएको मुद्दामा ओपनएआईले एप्पलले आफ्नो पूर्वकर्मचारीलाई पुनः नियुक्त गरेर नयाँ उपकरण र भविष्यका उत्पादन योजनासम्बन्धी गोप्य विवरण प्राप्त गरेको दाबी गरेको छ । ती कर्मचारीले ओपनएआईका दर्जनौँ गोप्य कागजात व्यक्तिगत मोबाइलमा पठाएको र एप्पलका उच्च अधिकारीसमक्ष कम्पनीका योजना प्रस्तुत गरेको आरोप पनि लगाइएको छ । ओपनएआईले कृत्रिम बुद्धिमत्तामा आधारित व्यक्तिगत उपकरण विकास गरिरहेको छ । ती उपकरणले एप्पलको आफ्नै बजारमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले एप्पलले हार्डवेयर आपूर्तिकर्तालाई ओपनएआईसँग सहकार्य नगर्न प्रोत्साहित गरेको आरोप पनि मुद्दामा उल्लेख छ । यसअघि एप्पलले जुलाईमा ओपनएआई र उसका दुई पूर्वकर्मचारीविरुद्ध व्यापारिक गोप्य सूचना चोरी गरेको आरोपमा मुद्दा दायर गरेको थियो । एप्पलले आफ्ना कर्मचारीले कम्पनीका आन्तरिक विवरण चोरेर ओपनएआईलाई उपलब्ध गराएको दाबी गरेको थियो । ओपनएआईले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । एप्पलले ओपनएआईको पछिल्लो मुद्दालाई आफ्नो मूल मुद्दाबाट ध्यान मोड्ने प्रयास भन्दै आरोप अस्वीकार गरेको छ । एप्पलले आफ्ना गोप्य प्रविधि र उत्पादनसम्बन्धी सूचना चोरी भएको विषय नै मुद्दाको मुख्य आधार रहेको बताएको छ । ओपनएआईले गत वर्ष एप्पलका पूर्वप्रमुख डिजाइनर जोनी आइभले स्थापना गरेको डिजाइन कम्पनी ६ अर्ब ५० करोड अमेरिकी डलरमा खरिद गरेको थियो । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
यी हुन् आज दिनभरका प्रमुख २० समाचार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






