Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी हुन् आज दिनभरका प्रमुख २० समाचार
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह आज अपराह्न स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई केहीबेर अघि नेपाल एयरलाइन्सको विमानबाट काठमाडौँ आइपुगेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत भएका प्रधानमन्त्री शाहलाई आज नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा भारत सरकार र नयाँदिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए । २- नेपालमा विश्वप्रसिद्ध भारतीय प्राविधिक शिक्षण संस्था आईआईटीको शाखा स्थापना हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रतिष्ठित भारतीय शैक्षिक संस्थाको क्याम्पस स्थापना प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको शाखा स्थापना हुने घोषणा गरेका थिए । प्रधानमन्त्री शाहले यसले नेपाललाई प्राविधिक शिक्षाको केन्द्र बनाउन सहयोग पुग्ने र भविष्यमा भारतीय विद्यार्थीसमेत नेपालमा अध्ययन गर्न आउने वातावरण बनाइने बताएका थिए । भारतसँगको शैक्षिक सहकार्यअन्तर्गत नेपाली विद्यार्थीका लागि कानुन, प्रविधि र कृत्रिम बौद्धिकताजस्ता विषयमा छात्रवृत्ति तथा तालिमका अवसर विस्तार गरिनेछ । दुई देशका शैक्षिक संस्थाबीच प्राध्यापक र विज्ञ आदानप्रदानलाई पनि प्रोत्साहन गरिनेछ । प्रधानमन्त्री शाहको भारत भ्रमणका अवसरमा जारी संयुक्त दृष्टिकोण पत्रमा शिक्षा तथा सीप विकासका अन्य महत्वपूर्ण विषयहरू पनि समेटिएका छन् । संयुक्त दृष्टिकोण पत्रअनुसार हाल सञ्चालनमा रहेका छात्रवृत्ति योजनाहरूलाई विस्तार गर्दै अब नेपाली विद्यार्थीहरूका लागि कानुन (ल), प्रविधि (टेक्नोलोजी) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक तथा नयाँ विषयहरूमा थप छात्रवृत्ति र तालिमका अवसरहरू प्रदान गरिनेछ । यसैगरी, दुई देशका शैक्षिक तथा तालिम संस्थाहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै प्राध्यापक (फ्याकल्टी) र विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिने बताइएको छ । नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्न भारतको सहयोगमा एक व्यावसायिक तालिम केन्द्र (भोकेसनल ट्रेनिङ इन्स्टिच्युट) स्थापना गरिने भएको छ। उक्त केन्द्रमार्फत नेपाली युवाहरूलाई उत्पादन (म्यानुफ्याक्चरिङ), सेवा (सर्भिसेज) र उद्यमशीलताका क्षेत्रमा आवश्यक व्यावहारिक सीप तथा तालिम प्रदान गरिनेछ । त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘नालन्दा केन्द्र’ स्थापना गरी नालन्दा विश्वविद्यालयसँग सहकार्य गरिने, नेपालमा आईसीएआर (ICAR) सेन्टर अफ एक्सिलेन्स स्थापना गर्दै दुई देशका कृषि विश्वविद्यालयहरूबीच सम्बन्ध विस्तार गरिने तथा प्रमुख मेडिकल संस्थानहरूबीच विद्यार्थी र प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिने उल्लेख छ । ३- लोपोन्मुख राउटे समुदायले आफ्नो परम्परागत सीप, कला, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सोमबार कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गर्दै समुदायका प्रतिनिधिहरूले परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान जोगाउन राज्यको पहल आवश्यक रहेको बताएका थिए । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक मन्त्री सीता वादीसमेत सहभागी छलफलमा राउटे समुदायको परम्परागत काष्ठकला तथा हस्तकलाको प्रवर्द्धन, भाषा र संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा दिगो आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने विषय उठाइएको थियो । छलफलमा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीप संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका थिए । उनले यसका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर समुदायको सीपलाई आयआर्जनसँग जोड्नुपर्ने तथा भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका थिए । श्रेष्ठले आवश्यक समन्वय र व्यवस्था मिलाउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक मन्त्री वादीलाई निर्देशनसमेत दिएका थिए । ४- नेपाल आयल निगमले भारतको सहयोगमा झापामा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र निर्माण गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार नयाँदिल्लीमा परियोजनाको शिलान्यास गरिएको निगमले जनाएको छ । निगमका अनुसार भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गरिनेछ । यसमध्ये भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर पाइपलाइन रहनेछ । पाइपलाइनको व्यास ८ इन्च हुनेछ । परियोजनाअन्तर्गत झापामा ६ हजार ६०० किलोलिटर क्षमताको पेट्रोल भण्डारण ट्याङ्की र १२ हजार ३०० किलोलिटर क्षमताको डिजेल भण्डारण ट्याङ्कीसहित आधुनिक टर्मिनल निर्माण गरिनेछ । उक्त परियोजना भारत सरकारको पूर्ण अनुदानमा निर्माण हुने निगमले जनाएको छ । यसैगरी, भारतको सहयोगमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना पनि हस्तान्तरण गरिएको छ । दोस्रो चरणमा ४ हजार १०० किलोलिटर क्षमताका दुईवटा पेट्रोल ट्याङ्की, २४ वटा स्वचालित ट्याङ्कर लोडिङ ग्यान्ट्री, टर्मिनल स्वचालन प्रणाली, गुणस्तर नियन्त्रण प्रयोगशाला र अग्नि नियन्त्रण सुविधाको निर्माण तथा स्तरोन्नति गरिएको छ । परियोजना सम्पन्न भएपछि अमलेखगञ्ज नेपालकै पहिलो अत्याधुनिक टर्मिनल बन्ने निगमले जनाएको छ । यो परियोजना नेपाल सरकार र भारत सरकारबीच सन् २०१५ मा भएको सरकारी तहको सम्झौता तथा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच भएको व्यावसायिक सम्झौताअनुसार निर्माण गरिएको हो । निगमका अनुसार दुवै परियोजनाले नेपालको पेट्रोलियम पदार्थ भण्डारण तथा आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय आशिका तामाङ र केपी खनालबीच विवाद भएको छ । सांसद तामाङले खनाललाई एउटा जनमुद्दाबारे कुरा गर्न फोन गर्दा उनको स्वकीय सचिवले ह्वाट्सएपमार्फत मात्र सम्पर्क गर्न आग्रह गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेपछि विवाद भएको हो । सांसद तामाङले सामान्य मोबाइल प्रयोग गर्ने सर्वसाधारण नागरिकले इन्टरनेटबिना आफ्ना समस्या जनप्रतिनिधिसमक्ष कसरी पुर्‍याउने भन्दै प्रश्न गरेकी छन् । तामाङले लेखेकी छन्- ‘एउटा जनता बाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न सञ्चार गर्न इन्टरनेट चाहिने रहेछ भने सर्वसाधारण नागरिकले आफ्नो नेतासम्म गुनासो कसरी पुर्‍याउन सक्छन् ?’ उनका अनुसार खनालले पछि आफैँ फोन गरेर आफ्नो काम फोन उठाउने नभई जनताको मुद्दा उठाउने भएको बताएका थिए । खनालले आफूलाई विभिन्न ठाउँबाट दबाब रहेको भन्दै तामाङलाई यस विषयमा गुनासो नगर्न आग्रह गरेको पनि उनको भनाइ छ । तामाङले खनाललाई आफूले फोन गर्दा प्रत्यक्ष संवाद गर्न सक्ने तर सर्वसाधारण नागरिकले पनि त्यस्तै सुविधा पाउनुपर्ने बताएकी छन् । उनले भनेकी छन्- हामी सबै सांसद जनताको सेवा गर्न आएका हौँ । आज तपाईं तीन करोड जनताको साझा छोरा हुनुहुन्छ ।’ उनले सांसदका सहयोगी टोली भए पनि कतिपय विषयमा नागरिकले प्रत्यक्ष सांसदसँगै संवाद गर्नुपर्ने भन्दै सम्पर्कका लागि ह्वाट्सएपलाई मात्रै विकल्प नबनाउन आग्रह गरेकी छन् । ६- नेपाल र भारतले दशकौँ पुरानो द्विपक्षीय सम्बन्धलाई वर्तमान राजनीतिक, आर्थिक तथा प्रविधिगत आवश्यकताअनुसार नयाँ ढाँचामा अघि बढाउने सहमति गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशले ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ नामक संयुक्त दृष्टिकोणपत्र जारी गर्दै आर्थिक विकासदेखि ऊर्जा, पूर्वाधार, प्रविधि, शिक्षा, खेलकुद, स्वास्थ्य र कृषिसम्मका १० क्षेत्रमा सहकार्य विस्तार गर्ने योजना सार्वजनिक गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मङ्सिर ६ र ७ गते भएको प्रधानमन्त्री शाहको राजकीय भ्रमणका क्रममा जारी दृष्टिकोणपत्रले नेपाल–भारत साझेदारीलाई आधुनिक, परिणाममुखी र पारस्परिक लाभमा आधारित बनाउने लक्ष्य राखेको छ। यसमा दुई देशबीचका विद्यमान सम्झौता तथा सहमतिको पुनरावलोकनदेखि नयाँ आयोजना र सहकार्यका क्षेत्र पहिचान गर्नेसम्मका विषय समेटिएका छन् । संयुक्त दृष्टिकोणपत्रमा दुई देशको सम्बन्ध पारस्परिक सम्मान र लाभका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै बदलिँदो समयअनुसार यसलाई परिमार्जन गर्नुपर्नेमा जोड दिइएको छ । ७- प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतले द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, ऊर्जा, पूर्वाधार, व्यापार, पर्यटन तथा प्रविधिसहितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मङ्सिर ६ र ७ गते भएको भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि २४ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ । वक्तव्यमा भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने, जनकपुर–अयोध्या रेल सेवा सुरु गर्ने, काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दोहोरो बनाउने तथा विभिन्न पूर्वाधार आयोजना अघि बढाउने उल्लेख छ । ८- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेर रोकिएको छ । आज ३६० कम्पनिका एक करोड ८ लाख २६ हजार ९१३ कित्ता शेयर ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य भने घटेको छ । आज, सबैभन्दा बढी मेंछियम हाइड्रोको शेयर १०.५८ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रोको शेयर ५.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी भिजन लुम्बिनी उर्जाको शेयर ८.२३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको १५ करोड ९३ लाख बराबरको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १२ करोड ७६ लाख बराबरको कारोबार भएको छ । ९- सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र उद्योगका रूपमा भइरहेको विकासलाई सम्बोधन गर्ने उद्देश्यले चलचित्र विधेयक ल्याइएको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले पुरानो कानुनले वर्तमान आवश्यकता सम्बोधन गर्न नसक्ने भन्दै नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताए । उनले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्योगका रूपमा विकास गर्नुपर्ने र विदेशी लगानी भित्र्याउने विषयमा समेत पुनर्विचार गर्नुपर्ने बताए । विधेयकमा चलचित्र विकास बोर्डलाई अधिकार सम्पन्न र स्वायत्त बनाउने, बक्स अफिस प्रणाली व्यवस्थित गर्ने, चलचित्रकर्मीको श्रम अधिकार संरक्षण गर्ने, मातृभाषाका चलचित्र प्रवर्द्धन गर्ने तथा विदेशी लगानी आकर्षित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई व्यवस्थित बनाउने, स्वदेशी चलचित्रको बजार विस्तार गर्ने तथा चलचित्रमार्फत नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने विषय पनि विधेयकमा समेटिएको छ । सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई समयानुकूल परिमार्जन गर्न नयाँ विधेयक अघि बढाएको हो । १०- प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आठ वटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । भारत र नेपालबीच अन्तरिक्ष प्रविधि,सुरक्षा तालिम,निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा पद्धति, दिगो सहरी विकास तथा कृषिसहितका विभिन्न क्षेत्रमा आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि उक्त समझदारीपत्र आदानप्रदान गरिएको हो । समझदारीपत्रहरू: १- भारतको गुजरातस्थित गान्धीनगरको राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र । २- भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच समझदारीपत्र । ३- भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्र । ४- आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र । ५- दक्षिण एसिया उपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने सम्बन्धमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपाल सरकारको सञ्चार तथा सूचना मन्त्रालयबीच समझदारीपत्र । ६- दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र । ७- स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच समझदारीपत्र । ८- पशुपालन तथा मत्स्य विकासको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र । ११- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई थप मजबुत बनाउन भारतका तर्फबाट २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले उक्त सहयोग प्याकेज घोषणा गरेका हुन् । गत अगस्टमा नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासमा भारतले सहयोग गर्ने बताएका थिए । मोदीले प्रधानमन्त्री शाहको प्रशंसा गर्दै उनीमा नेपाल र भारतको सम्बन्धबारे स्पष्ट दृष्टिकोण रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघमा शाहले दिएको भाषणको उल्लेख गर्दै उनले शाहसँग बिताएका केही घण्टामै उनको स्पष्ट सोच र दृष्टिकोण बुझ्न पाएको बताए । भारत र नेपालबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धले जोडिएको उल्लेख गर्दै मोदीले नेपालबिना भारतका धाम र राम दुवै अधुरो रहेको बताए । भगवान् राम र माता सीता साझा सभ्यता तथा आस्थाका प्रतीक भएको बताउँदै उनले जनकपुरधाम–अयोध्याबीच सुरु गरिएको रेलसेवाले दुई देशबीचको पवित्र सम्बन्धलाई नयाँ आयाम दिने विश्वास व्यक्त गरे । मोदीले भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्र नभई आत्मीयता र अटुट विश्वासको सम्बन्ध भएको बताए। दुवै देशका खुसी र चुनौती साझा रहेको उल्लेख गर्दै उनले एकअर्काको प्रगतिका सहयात्री तथा कठिन समयमा एकअर्काको सहारा बनेको बताएका थिए । १२- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर ६ गते आइतबारसम्मको चलचित्र कबड्डी ५ : फाइनल, पेन्सन पट्टा, बाटुलो जून, आ बाट आमा २, बा: एक योद्धा र पाँच पाण्डवको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल’ ले ४ लाख २४ हजार ८९२ टिकट बिक्रीबाट १३ करोड २६ हजार आम्दानी गरेको छ । त्यस्तै भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले ३ लाख ६४ हजार ८०८ टिकट बिक्री गर्दै १० करोड ३६ लाख ८३ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ । त्यस्तै कार्तिक २६ गतेबाट प्रदर्शनमा आएको अनमोल केसीको चलचित्र बाटुलो जूनले २ लाख ६९ हजार ५४४ टिकट बिक्री गर्दै ८ करोड ३५ लाख ३७ हजार कमाई गरेको छ । त्यसैगरी असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा २’ ले २ लाख ४३ हजार ८३६ टिकट बिक्रीबाट ७ करोड १८ हजार आम्दानी गरेको छ । त्यस्तै कार्तिक २० गतेबाट प्रदर्शनमा आएको चलचित्र पाँच पाण्डवले १२ हजार ८९० टिकट बिक्रीबाट ४५ लाख १२ हजार आम्दानी गरेको छ । १३- भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । पाँचौँ तथा अन्तिम दिन न्युजिल्यान्डले उत्कृष्ट प्रतिरक्षा गरेपछि भारत जितबाट वञ्चित भएको हो । भारतले पहिलो इनिङ्समा ९ विकेट गुमाएर ७२० रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । भारतका लागि केएल राहुलले १३६ र ऋषभ पन्तले १०५ रन बनाएका थिए । जवाफमा न्युजिल्यान्डले पहिलो इनिङ्समा ३६८ रन बनाएको थियो । उसका लागि हेनरी निकोल्सले अविजित १७५ र ग्लेन फिलिप्सले ११८ रनको योगदान दिएका थिए । भारतले दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई दबाबमा राख्दै जितका लागि आठ विकेट लिनुपर्ने अवस्थामा पुर्‍याएको थियो । तर अन्तिम दिन घरेलु टोलीले धैर्यपूर्ण ब्याटिङ गर्दै खेल बचायो । दोस्रो इनिङ्समा न्युजिल्यान्डले ५ विकेट गुमाएर २३९ रन बनाउँदा दुवै टोलीका कप्तानले खेल बराबरीमा टुङ्ग्याउने सहमति गरेका थिए । ड्यारिल मिचेल ४९ रनमा अविजित रहे भने ग्लेन फिलिप्सले २६ रन बनाए । यससँगै दुई टोलीबीचको दुई खेलको टेस्ट शृङ्खलामा पहिलो खेल बराबरीमा सकिएको छ । अब दोस्रो टेस्ट नोभेम्बर २७ देखि शुरु हुने छ । १४- प्रहरी महानिरीक्षक डा. मनोज केसीले म्याद नबुझेका कारण दानबहादुर कार्कीले दिएको रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा आज बहस हुन सकेन । अन्तरिम आदेशबारेको निर्णयका लागि हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुबै पक्षबाट बहस हुने तय भएको थियो । छलफलका लागि प्रहरी महानिरीक्षक केसी उपस्थित नभएपछि आजको सुनुवाइ रोकिएको हो । केसी उपस्थित नभएपछि इजलासले केसीलाई म्याद बुझाएर मङ्सिर ९ गते पेशी तोक्न आदेश दिएको छ । यसअघि मंसिर ३ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। मन्त्रिपरिषदको कात्तिक १८ गते भएको प्रमाणित प्रतिलिपि र अन्य कुनै कागजात भए त्यसलाई समेत आजको सुनुवाइमा ल्याउन भनिएको थियो । त्यस्तै, सर्वोच्च अदालतले पनि सरकारका नाममा १५ दिनभित्र लिखित जबाफ पेस गर्न भनेको छ। कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारको नियुक्ति दिने निर्णय गरेको थियो । १५- नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज बढेको छ । आज सुनको मूल्य तोलाको ४८ सयले बढेर तोलाको दुई लाख ४७ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३०६५ रुपैयाँमा कारोबार भएको थियो । १६- दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो जिनले विश्वविद्यालय प्रवेश परीक्षामा चिटिङ रोक्ने क्रममा भएको अव्यवस्थाको जिम्मेवारी लिँदै राजीनामा दिएका छन् । कृत्रिम बौद्धिकताको प्रयोग गरेर परीक्षा अनियमितता गर्ने घटना सार्वजनिक भएपछि सरकारले परीक्षा केन्द्रमा निगरानी कडा बनाएको थियो । गत बिहीबार सम्पन्न वार्षिक विश्वविद्यालय प्रवेश परीक्षा ‘सुनेउङ’का क्रममा १११ जना परीक्षार्थी अनधिकृत विद्युतीय उपकरणसहित फेला परेका थिए । उक्त परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी थिए । यसअघि राष्ट्रिय कर लेखा परीक्षा शीर्ष स्थानमा उत्तीर्ण भएका हान वोन सोकले सूक्ष्म क्यामेरा, मोबाइल फोन र कृत्रिम बौद्धिकताको प्रयोग गरी प्रश्नपत्रका उत्तर जाँचेर अनियमितता गरेको स्वीकार गरेका थिए । उनले क्यामेराबाट प्रश्न खिचेर कृत्रिम बौद्धिकतामा पठाउने र मोबाइलमार्फत उत्तर जाँच्ने गरेको बताएका थिए ।उक्त घटनापछि सरकारले परीक्षा दिनुअघि नै आकस्मिक सुरक्षा व्यवस्था लागू गरेको थियो। परीक्षाका दिन बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म देशभर तीन पटक आकस्मिक सूचना जारी गरिएको थियो । मोबाइल मौन अवस्थामा रहे पनि ती सूचना प्राप्त हुँदा आवाज बज्ने व्यवस्था गरिएको थियो । परीक्षार्थीलाई कपडा र चस्मामा लुकाइएका क्यामेरा तथा अन्य उपकरणको जाँचसमेत गरिएको थियो । यसले इमानदारीपूर्वक परीक्षा दिने विद्यार्थीसमेत शंकाको घेरामा पर्ने अवस्था सिर्जना भएको थियो । शिक्षामन्त्री चोइले पूर्वतयारी गर्न नसकेको भन्दै जिम्मेवारी स्वीकार गरेका थिए । उनको राजीनामा राष्ट्रपति ली जे म्युङले स्वीकृत गरेका छन् । १७- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताजमा आयोजित नेपाल–भारत व्यापारिक छलफललाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । भारतीय उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधि, जलविद्युत् र यातायात तथा अन्य पूर्वाधार सम्पर्कका क्षेत्रमा नयाँ लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे । नेपालमा यसअघि नै लगानी गरिरहेका भारतीय कम्पनीलाई समेत लगानी विस्तार गर्न उनले आह्वान गरे । ‘नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘सूचना प्रविधि, जलविद्युत् र पूर्वाधार सम्पर्कका क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्नुहोस्। नेपालमा लगानी गरेकाहरूले पनि आफ्नो लगानी विस्तार गर्नुहोस् ।’ उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले कानुनी तथा नीतिगत सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको बताए । लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजान आवश्यक कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो । कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमण टोलीमा सहभागी नेपाली उद्योगी व्यवसायीका साथै डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी व्यवसायी र प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । १८- इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित युनाइटेडलाई ४–० गोलले हराएको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा डोमिनिक सोबोस्लाई, फ्लोरियन विर्ट्ज, रियो एनगुमोहा र वैकल्पिक खेलाडी भिक्टर मुनोजले एक–एक गोल गरेका थिए ।खेलको आठौँ मिनेटमै म्यानचेस्टर युनाइटेडका लेनी योरोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । अलेक्जेन्डर इसाकलाई गोल गर्ने स्पष्ट अवसरबाट रोक्न फाउल गरेपछि उनले सिधै रातो कार्ड पाएका थिए । त्यसको फाइदा उठाउँदै लिभरपुलका सोबोस्लाईले १०औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै फ्लोरियन विर्ट्जले गोल थप्दै लिभरपुलको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । खेलको ६६औँ मिनेटमा रियो एनगुमोहाले तेस्रो गोल गरे भने ८२औँ मिनेटमा भिक्टर मुनोजले गोल गर्दै लिभरपुलको ४–० को जित सुनिश्चित गरे । म्यानचेस्टर युनाइटेडका लागि नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको यो पहिलो खेल थियो । तर उनको सुरुआत नै निराशाजनक बनेको छ । युनाइटेडले यसअघि लिगका ११ खेलबाट जम्मा आठ अंक जोडेको थियो । यो हारपछि टोली रेलिगेसन क्षेत्रमा १९औँ स्थानमा रहेको छ । यस जितसँगै लिभरपुलले लिगमा महत्वपूर्ण तीन अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । लिभरपुल शीर्ष स्थानको आर्सनलभन्दा सात अंकले पछाडि रहेको छ । १९- स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा बार्सिलोनाले भिल्लारियललाई ३–२ गोलले पराजित गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सुरुवाती सात मिनेटमै दुई गोल खाएको थियो । भिल्लारियलका ताजोन बुकाननले पाँचौँ मिनेटमा र तानी ओलुवासेयीले सातौँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा लमिन यमालले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको बार्सिलोनाका लागि जेरार्ड मार्टिनले ५७औँ मिनेटमा गोल गर्दै अन्तर घटाए । फर्मिन लोपेजले ६१औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि ६७औँ मिनेटमा भिल्लारियलका पाउ नाभारोले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता बनायो । खेलको अन्तिम समयमा नाभारो दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । यस जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ । बार्सिलोनाको १३ खेलमा ३६ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै भिल्ला रियलको १३ खेलमा १५ अंक रहेको छ र लिगमा दशौँ स्थानमा छ । २०- जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ४८ रनले पराजित गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति सम्पन्न भएको समूह ‘बी’को खेलमा पाकिस्तान ‘ए’ले दिएको ३१४ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ४९.१ ओभरमा २६५ रनमा समेटिएको थियो । भारतका लागि कप्तान तिलक वर्माले उत्कृष्ट ब्याटिङ गर्दै १४९ बलमा १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले आफ्नो इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, अभिषेक शर्माले ४२ बलमा ७० रन बनाए भने शहबाज अहमदले ५६ रनको योगदान दिए । एक समय कमजोर अवस्थामा पुगेको भारतलाई तिलक र शहबाजले सातौँ विकेटका लागि ११२ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर अन्य ब्याटरले साथ दिन नसक्दा भारत लक्ष्यसम्म पुग्न सकेन । पाकिस्तानका अली रजाले ३ तथा हसन नवाजले ३ विकेट लिए । मोहम्मद इमरान रन्धावाले २ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३१३ रन बनाएको थियो । पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९ रन बनाए भने माज सदाकतले ५९, फरहान युसुफले ५६ र सामिल हुसेनले ३३ रन बनाए। कप्तान अब्दुल समदले २८ रनको योगदान दिए । भारतका हर्षित राणाले २ तथा प्रिन्स यादवले २ विकेट लिए । सूर्यांश शेड्गे र विप्रज निगमले पनि २–२ विकेट हात पारे । यस जितसँगै पाकिस्तान ‘ए’ समूह ‘बी’को शीर्ष स्थानमा पुगेको छ र सेमिफाइनलमा छनौट भएको छ । पाकिस्तान ए ले अब मंगलबार नेपालसँग खेल्ने छ । त्यस्तै भारत ‘ए’ले समूह चरणको आफ्नो अन्तिम खेलमा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नेछ । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद : बागमतीको महिला र पुरुष भलिबल टोली घोषणा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : बागमतीको महिला र पुरुष भलिबल टोली घोषणा

हेटाैडा । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि बागमती प्रदेशको महिला तथा पुरुष भलिबल टोलीको घोषणा गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने... ...

रातोपाटी
रिजनलाई गृहनगरमा सम्मानको ओइरो, एकैदिन करिब ३ लाखको सम्मान
Latest NewsJust now

रिजनलाई गृहनगरमा सम्मानको ओइरो, एकैदिन करिब ३ लाखको सम्मान

हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन सर्वोत्कृष्ट खेलाडी घोषित भएका रिजन ढकाललाई गृह नगर हेटौँडामा सम्मान लिन भ्याइ नभ्याई भएको छ । एनपिएलमा उत्कृष्ट प्रदर्शन... ...

रातोपाटी
भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने सहमति भएको छैन : परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने सहमति भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा भारतसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि नेपालको हवाई मार्ग प्रयोग गर्ने विषय नागरिक उड्डयनसँग मात्र सम्बन्धित रहेको बताए। उनका अनुसार भारतले पनि सैनिक प्रयोजनका लागि नेपालको हवाई मार्ग मागेको छैन। यसैबीच, नेपालले ...

नेपालन्युज
आफ्नै आवश्यकताअनुसार एआई विकास गर्न देशहरूलाई राष्ट्रसङ्घको सुझाव
Latest NewsJust now

आफ्नै आवश्यकताअनुसार एआई विकास गर्न देशहरूलाई राष्ट्रसङ्घको सुझाव

काठमाडौँ । देशहरूले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा क्षमता विकास गर्न अत्याधुनिक एआई मोडेलमै निर्भर हुनुपर्ने आवश्यकता नरहेको संयुक्त राष्ट्रसंघीय प्यानलले जनाएको छ । संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक एआई प्यानलले आइतबार सार्वजनिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement