म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्- ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुपर्याे । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताइन् । अहिले उनी दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थालेकी छिन् । सुनमायाको परिवार बसाइँ सरेपछि घर खाली थियो । विपद्ले घरबारविहीन बनेकी भूमदेवीको परिवारका लागि त्यही घर अहिले आश्रय बनेको छ । ‘करिब १५–२० दिन शिखको आश्रयस्थलमा बसेपछि घरसल्लाह गरेर दिदीको खाली घरमा बस्ने निर्णय लिएका हौँ,’ भूमदेवीले भनिन्, ‘सरकारले पनि कति आश्रयस्थलमा राख्न सक्ला र भन्ने लाग्यो । आफ्नै घर नबनाउँदासम्मका लागि दिदीको खाली घरमा बस्न थालेका हौँ ।’ भूमदेवीको परिवारले आपतका बेला आश्रय पाएको छ । सुनमायाको उपयोगविहीन घर पनि काममा आएको छ । भूमदेवीजस्तै किन्दु टोलका धेरैजसो विस्थापित परिवार आफन्तका खाली घरमा बस्न थालेका छन् । कतिपय शिख देउराली, शिख तल्लो र शिख उपल्लो गाउँमा व्यवस्थापन भएका छन् । आश्रयस्थलबाट आफ्नै व्यवस्थापनतर्फअन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि यी बस्ती पहिरोले घेरिए । गाउँसँगको सम्पर्क विच्छेद भयो । जोखिममा परेका ९१ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख देउरालीस्थित कान्छीबाराही युवा क्लबको खेलमैदानमा ल्याइएको थियो । त्यहाँ उनीहरूका लागि अस्थायी आश्रयको व्यवस्था गरिएको थियो । पहिरोले नारायण शेरपुञ्जा पुन, रुकबहादुर पुर्जा, खेमबहादुर पाइजा, रेकबहादुर पुर्जा, तमबहादुर पुर्जा र जुगमान चोचाङ्गीका घर भत्काएको थियो । अन्य धेरै घर नभत्किए पनि चर्किएर बस्न नमिल्ने भएका छन् । आश्रयस्थलका टहरा र पालमा बस्दै आएका धेरैजसो परिवारले दसैँअघि नै आफ्नो बसोबासको व्यवस्था मिलाइसकेका छन् । टोल संयोजक दीपक तिलिजाका अनुसार विस्थापितहरू आफन्तका खाली घर र अन्य सुरक्षित स्थानमा सरेका छन् । शनिबार दिउँसो आश्रयस्थलमा भेटिएका नारायण शेरपुञ्जा पुनले पनि विस्थापितहरूले आफैँ आफ्नो व्यवस्थापन गर्न थालेको बताए । तर उनको परिवार भने अझै अन्योलमा छ । घर, गोठ र खेतीयोग्य जमिन पहिरोमापहिरोले नारायणको घर, गोठ र खेतीयोग्य जमिन बगाएको छ । घरमा भएको अन्नपात र अन्य सामान निकाल्ने मौका पनि मिलेन । ‘२०–२१ मुरी आलु र दुई मुरी मकैसहित घरमा भएका सामान निकाल्न पाइनँ, सबै पहिरोले बगायो’, उनले भने, ‘पहिरो जाने दिन गोठबाट फुकाएर जङ्गलमा पठाएको भैँसी बाटो नभएकाले अझै ल्याउन सकेको छैन ।’ उनकी श्रीमती पोखरामा रहेका छोराछोरीसँग गएकी छिन् । नारायण पनि कसैको खाली घरमा बसेर आफ्नै खेतबारीमा काम गर्ने सोचमा छन् । तर, घर र जग्गा जमिन टाढा भएकाले निर्णय लिन सकेका छैनन् । त्यसैले उनी अझै आश्रयस्थलमै बसिरहेका छन् । उनको घर चार वर्षअघि पहिरोले भत्काएको थियो । घर पुनर्निर्माणबापत सरकारले दिने पाँच लाखमध्ये पूरै अनुदान नपाउँदै उनले बनाएको नयाँ घर पनि भत्किएको हो । वर्षा रोकिएपछि विस्थापितहरू दैनिक काममा फर्कन थालेका छन् । दिनभर गाउँमा पुगेर खेतबारी र घरायसी काम गर्छन् । कतिपयले घरका बाँकी सामान सुरक्षित ठाउँमा सारिरहेका छन् । साँझ खाना खान र सुत्नका लागि होल्डिङ सेन्टर फर्कने गरेका छन् । ‘दसैँअघि आश्रयस्थलमा धेरै जना थिए । अहिले सङ्ख्या घट्दै गएको छ,’ रेकबहादुर पुर्जाले भने, ‘विपद्का बेला सरकारको मुख ताकेर मात्र बस्दा दुःख पाइन्छ भन्ने लागेर सक्ने र सम्भव हुनेले आफैँ व्यवस्थापन गर्नुभएको छ ।’ अस्थायी बसोबासको व्यवस्था मिलाउँदैमा सबै समस्या समाधान भएका छैनन् । घर भत्किएर सामान निकाल्न नपाएकाहरूलाई खाद्यान्न, भाँडाकुँडा र लत्ताकपडाको अभाव छ । उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता अझै छ । शिखका अगुवा गणेश गुरुङ (सुरेन)का अनुसार सरकारी निकाय र दाताको सहयोग जुटाएर प्रभावित परिवारको बसोबास सहज बनाउने प्रयास भइरहेको छ । विद्युत् र खानेपानीसँगै पदमार्गको समस्याविपदबाट सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ मा पुनःस्थापनाको चुनौती कायमै छ । वडाअध्यक्ष राजेश तिलिजा पुनका अनुसार विद्युत्, खानेपानी र पदमार्ग तत्काल सुधार गर्नुपर्ने अवस्था छ । ‘सडक त अहिले धेरै टाढाको विषय भएको छ,’ उनले भने, ‘धेरै प्रयासपछि विद्युत् सेवा सञ्चालन हुन थालेको छ । श्रमदान गरेर पदमार्ग निर्माण गरिरहेका छौँ । खानेपानीको व्यवस्था मिलाउने प्रयासमा पनि जुटेका छौँ ।’ पहिरो प्रभावित बस्तीको भौगर्भिक अवस्था अध्ययन गर्न विज्ञ टोली आउन ढिलाइ हुँदा पुनःस्थापनासम्बन्धी निर्णय लिन कठिन भएको वडा अध्यक्ष तिलिजाले बताए । कुन बस्तीमा बस्न सुरक्षित छ र कहाँबाट स्थानान्तरण गर्नुपर्छ भन्ने यकिन नहुँदा प्रभावित परिवार अन्योलमा छन् । अन्य बस्तीका आश्रयस्थल पनि खाली हुँदैअन्नपूर्ण –५ को पाउद्धारबाट विस्थापित भएकाहरू बस्दै आएको घारस्थित वडा नम्बर ६ को अस्थायी आश्रयस्थल पनि यही कात्तिक १ गतेदेखि बन्द भएको छ । घारका वडाअध्यक्ष रामबहादुर खड्काका अनुसार विस्थापितहरूले आफ्ना सामान आश्रयस्थलमै राखेर आफन्तकहाँ र गाउँमा फर्किएका छन् । वर्षा भएमा पुनः आश्रयस्थलमा आउने गरी उनीहरू गएका हुन् । घारको आश्रयस्थलमा पाउद्वारका ११५ जनासम्मले आश्रय लिएका थिए । त्यस्तै, अन्नपूर्ण गाउँपालिका–८ महभिरबाट विस्थापित भएका ३० परिवार बस्दै आएको सिरुवारीको आश्रयस्थल पनि खाली भएको छ । वडाअध्यक्ष खमबहादुर गर्बुजाका अनुसार महभिरका प्रभावित परिवार खाली घर खोजेर आफैँ बसोबास मिलाउने प्रयासमा छन् । घर नपाएकाहरूका लागि व्यवस्थापनमा सहजीकरण भइरहेको छ । यस वर्षको मनसुनजन्य विपदमा परी अन्नपूर्ण गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । गाउँपालिकाका अनुसार ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । विपद्पछि अस्थायी आश्रयस्थलमा सुरु भएको जीवन अब बिस्तारै आफ्नै व्यवस्थापनतर्फ अघि बढेको छ । आफन्तका खाली घर, गाउँका सुरक्षित बस्ती र उपलब्ध स्रोत नै विस्थापितका लागि तत्कालको सहारा बनेका छन् । तर घर गुमाएका परिवारको सुरक्षित पुनःस्थापना र आधारभूत सेवा पुनःस्थापित नहुँदासम्म उनीहरूको सङ्घर्ष भने जारी रहनेछ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दसैंपछि तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
८ कात्तिक, काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा दसैंपछि सुनको मूल्य उच्च दरले घटेको महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ… ...

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट इन्डिजका लागि २० एक दिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल ...

तीन सय रुपैयाँ बोकेर घर छाडेका यश कसरी बने ‘रकिङ स्टार’ ?
कन्नड अभिनेता यशले यस वर्ष दीपावलीको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्दैछन् । रणवीर कपुर अभिनीत यस फिल्मको बजेटदेखि कलाकारसम्मका विषयले चर्चा पाइरहेका छन् । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर राम र साई पल्लवी सीताको भूमिकामा छन् । यशले रावणको भूमिका निर्वाह गर्नुका साथै फिल्मको सहनिर्माताको जिम्मेवारीसमेत सम्हालेका छन् ।… ...

दसैं मनाएर काठमाडौं फर्किनेको भिडभाड (तस्वीरहरू)
काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगाका साथै कलंकी, बालाजु, कोटेश्वर, बल्खु, लगायतका क्षेत्रमा यात्रु र सवारी साधन उल्लेख्य संख्यामा देखिन्छन् । ...


