मिथिलामा कोजाग्रत पूर्णिमा : जानकी मन्दिरमा भित्र्याइयो १०८ भार पाहुर

जनकपुरधाम–मिथिलाञ्चल क्षेत्रमा आज परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । यसै अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट १०८ वटा ‘पाहुर’ (सनेस–कोसेलीको भार) भित्र्याइएको छ । विगत १४२ वर्षदेखि अविच्छिन्न रूपमा चलिआएको यो परम्पराले यस वर्ष पनि निरन्तरता पाएको हो । महोत्तरीको रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको परिवारले पुस्तौँदेखि कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा पाहुर पठाउँदै आएको छ । सोही ऐतिहासिक परम्परा अनुसार आज जानकी मन्दिर परिसर पु¥याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, मौसमी तरकारी तथा भगवान श्रीराम र माता जानकीका लागि विशेष वस्त्रहरू समावेश गरिएका छन् । सोही पाहुर समर्पण गरी मन्दिरमा शास्त्रीय विधिद्वारा सीतारामको चुमाओन अनुष्ठान सम्पन्न गरिएको हो । ठाकुर परिवारका सदस्य नवीन ठाकुरले विगत १४२ वर्षदेखि शुरु भएको यो विशिष्ट पारिवारिक तथा सांस्कृतिक धरोहरलाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँकाअनुसार पूर्खादेखि हस्तान्तरण हुँदै आएको यस सांस्कृतिक जिम्मेवारीलाई नयाँ पुस्ताले समेत गौरवका साथ निरन्तरता दिइरहेको छ । कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिर परिसरमा विशेष भजनकीर्तन तथा मिथिलाको मौलिक हास्यपरिहास (ठट्टा र मनोरञ्जनात्मक) कार्यक्रम आयोजना गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन उत्सवको उल्लास बढाउन परम्परागत हास्यव्यङ्ग्य र सांस्कृतिक गायनको प्रवन्ध मिलाइने जानकारी दिए । यस पर्वले मन्दिरमा मात्र नभई समग्र मिथिलाञ्चलवासीमा छुट्टै उमङ्ग ल्याउने गरेको उनको भनाइ छ । धार्मिक अनुष्ठानका अतिरिक्त कोजाग्रत पूर्णिमा मिथिलाका नवविवाहित दम्पतीहरूका निम्ति पनि विशेष सामाजिक उत्सवका रूपमा स्थापित छ । यस दिन बेहुलाको घरमा ससुराली पक्षबाट विशेष पाहुर पठाउने गरिन्छ । ससुरालीबाट आएको पाहुरका सामग्री प्रयोग गरी ज्येष्ठ महिलाहरूले विशेष मन्त्रोच्चारणका साथ बेहुलाको चुमाओन गरी ‘दुरवाक्षत’ (दूबो र अक्षतासहितको आशीर्वाद) दिने चलन छ । अनुष्ठान सम्पन्न भएपछि परिवार र आफन्तजनलाई भव्य भोज खुवाउने तथा गाउँभरि पान र मखान वितरण गरी एकापसमा खुशी साटासाट गर्ने मौलिक परम्परा मिथिलाञ्चलमा रहेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पोलियोविरुद्धको जित र बाँकी जिम्मेवारी
नेपालमा लामो समयदेखि पोलियोका बिरामी नदेखिँदा यो रोग अब विगतको विषयजस्तो लाग्न सक्छ । तर अफगानिस्तान वा पाकिस्तानमा कुनै बच्चालाई पोलियो हुँदा त्यसको सरोकार हामीसँग पनि रहन्छ । मानिसको आवतजावतसँगै अर्को देश पुग्न सक्ने भाइरसलाई सीमाले रोक्दैन । भर्खरै अक्टोबर २४ मा विश्व पोलियो दिवस मनाइयो । यस अवसरमा रोटरीको योगदान सम्झँदा अन्तर्राष्ट्रिय अनुदानसँगै समय… ...

मेची–महाकाली पदयात्राको औचित्य
पदयात्राको महत्व यसले कति दूरी पार गर्छ, कति मानिस सहभागी हुन्छन् वा कति चर्चा बटुल्छ भन्नेमा मात्र निर्भर हुँदैन । यसबाट उठेका मुद्दाले नीति, बजेट र कार्यान्वयनमा कस्तो प्रभाव पार्छन् भन्ने कुराले उपलब्धि निर्धारण गर्नेछ । ...

ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन् । आइतबार मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री मेहताले ट्रमा सेन्टर निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको र छिट्टै शिलान्यास गरिने जानकारी दिएकी हुन् । उनका अनुसार स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा गरी फाइल पूर्वाधार विकास मन्त्रालयमा पठाइसकिएको छ ...


