ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन् । आइतबार मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री मेहताले ट्रमा सेन्टर निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको र छिट्टै शिलान्यास गरिने जानकारी दिएकी हुन् । उनका अनुसार स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा गरी फाइल पूर्वाधार विकास मन्त्रालयमा पठाइसकिएको छ । बहुवर्षीय योजनाका रूपमा अघि बढाइएको परियोजना निर्माणको चरणमा प्रवेश गर्न लागेको उनले बताइन् । ‘हाम्रो टेन्डर नै परिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर फाइल पूर्वाधार विकास मन्त्रालयमा गइसकेको छ । बहुवर्षीय योजना भएकाले यो निर्माण सम्पन्न गर्ने दिशातर्फ अघि बढिरहेको छ,’ मन्त्री मेहताले भनिन्, ‘शिलान्यासको ठ्याक्कै मिति भन्न गाह्रो हुन्छ, तर चाँडै नै हुन्छ । ट्रमा सेन्टर यहीँ बन्छ ।’ ढल्केवरमा ट्रमा सेन्टर निर्माण भएपछि सडक दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई समयमै उपचार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ । साथै, गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं लैजानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ । ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो । मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलका लागि चार बिघा जग्गासमेत प्राप्त भइसकेको छ । स्थानीय बासिन्दाले लामो समयदेखि ढल्केवरमा ट्रमा सेन्टर निर्माणको काम अघि बढाउन माग गर्दै आएका छन् । सडक दुर्घटनाको जोखिम तथा गम्भीर घाइतेलाई तत्काल उपचार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रस्तावित ट्रमा सेन्टरलाई मधेश प्रदेशको स्वास्थ्य सेवा पूर्वाधारका दृष्टिले महत्त्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ । निर्माण सम्पन्न भएपछि यस क्षेत्रका दुर्घटनापीडितले समयमै विशेषज्ञ उपचार पाउने र अन्य ठूला अस्पतालमा जानुपर्ने चापसमेत घट्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पोलियोविरुद्धको जित र बाँकी जिम्मेवारी
नेपालमा लामो समयदेखि पोलियोका बिरामी नदेखिँदा यो रोग अब विगतको विषयजस्तो लाग्न सक्छ । तर अफगानिस्तान वा पाकिस्तानमा कुनै बच्चालाई पोलियो हुँदा त्यसको सरोकार हामीसँग पनि रहन्छ । मानिसको आवतजावतसँगै अर्को देश पुग्न सक्ने भाइरसलाई सीमाले रोक्दैन । भर्खरै अक्टोबर २४ मा विश्व पोलियो दिवस मनाइयो । यस अवसरमा रोटरीको योगदान सम्झँदा अन्तर्राष्ट्रिय अनुदानसँगै समय… ...

मेची–महाकाली पदयात्राको औचित्य
पदयात्राको महत्व यसले कति दूरी पार गर्छ, कति मानिस सहभागी हुन्छन् वा कति चर्चा बटुल्छ भन्नेमा मात्र निर्भर हुँदैन । यसबाट उठेका मुद्दाले नीति, बजेट र कार्यान्वयनमा कस्तो प्रभाव पार्छन् भन्ने कुराले उपलब्धि निर्धारण गर्नेछ । ...



