माइक्रोसफ्टको साम्राज्य खडा गरेका बिल गेट्सको पहिचान, विश्वको धनीदेखि समाजसेवीसम्म

काठमाडौं । सन् १९९५ देखि २०१७ सम्म २४ वर्षमा १८ पटकसम्म बिल गेट्स लगातार वर्षकै सबैभन्दा धनी व्यक्ति बने । त्यसमा पनि १९९५ देखि २००७ सम्म लगातार १३ वर्ष उनलाई कसैले पनि सम्पत्तिमा उछिन्न सकेन । आफ्नो जीवनको उत्तरार्द्धमा गेट्स व्यवसायभन्दा समाजसेवामा बढी सक्रिय रहे । स्मार्टफोन र एआई प्रविधिको विकाससँगै माइक्रोसफ्टलाई अन्य सफ्टवेयर कम्पनीहरूले बिस्तारै उछिन्दै गए । यसका बाबजुद पनि उनी अहिले फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको विश्वका धनीहरूको सूचीमा अठारौं स्थानमा छन् । उनको कुल सम्पत्ति १ सय ८ अर्ब अमेरिकी डलर बराबर रहेको फोर्ब्सको अनुमान छ । २८ अक्टोबर १९५५ मा वासिङटनको सियाटलमा जन्मिएका बिल गेट्स अमेरिकी कम्प्युटर प्रोग्रामर एवं उद्यमी हुन् । तर, उनको परिचयलाई यत्तिमै मात्र सीमित राख्न मिल्दैन । किनकि विश्वमा धेरै दान गर्ने व्यक्तिहरूको सूचीमा पनि उनको नाम आउँछ । माइक्रोसफ्टको सफलताको बलमा गेट्स विश्वकै सबैभन्दा धनी व्यक्तिका रूपमा चिनिए । यससँगै उनले आफ्ना परोपकारी कामहरूलाई पनि अघि बढाए ।बिल गेट्सले १९७० को दशकको अन्त्यतिर आफ्ना बाल्यकालदेखिका साथी पल जी एलनसँग मिलेर विश्वको सबैभन्दा ठूलो पर्सनल–कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कर्पोरेसनको स्थापना गरेका थिए । कालान्तरमा यही कम्पनी बिल गेट्सको पर्यायवाची शब्द जस्तै बन्यो । गेट्सले सफ्टवेयर कार्यक्रम तयार गर्ने प्रयास भने १३ वर्षको उमेरमै गरेका थिए । हाईस्कुलमा अध्ययनरत रहँदा उनले आफ्नो विद्यालयको पेरोल प्रणालीलाई कम्प्युटरमा राख्न मद्दत गर्ने प्रोग्रामरहरूको समूह गठन गरे । त्यसैगरी स्थानीय सरकारहरूलाई ट्राफिक–काउन्टिङ प्रणाली बेच्ने ‘ट्राफ–ओ–डाटा’ नामक कम्पनीको स्थापना गरे । सन् १९७५ मा हार्वर्ड विश्वविद्यालयमा दोस्रो वर्षमा अध्ययनरत रहँदा गेट्सले आफ्ना बाल्यकालका साथी पल जी एलनसँग मिलेर पहिलो माइक्रो कम्प्युटरका लागि सफ्टवेयर विकास गर्न थाले । उनीहरूले ठूला कम्प्युटरहरूमा प्रयोग हुने लोकप्रिय प्रोग्रामिङ भाषा ‘बेसिक’ लाई माइक्रो कम्प्युटरमा प्रयोग गर्न मिल्ने बनाएर यसको सुरुवात गरेका थिए । यस परियोजनाको सफलतासँगै गेट्सले आफ्नो तेस्रो वर्षको अध्ययन बीचमै छोडेर एलनसँग मिलेर ‘माइक्रोसफ्ट’ कम्पनी स्थापना गरेका थिए । कम्प्युटर निर्माता कम्पनी आईबीएमले आफ्नो पहिलो पर्सनल कम्प्युटर (पीसी) मा माइक्रोसफ्टको ‘एमएस–डस’ नामक अपरेटिङ सिस्टम खरिद गर्यो । यसरी ठूलो कम्पनीसँग सहकार्य गर्न पाएपछि भर्खरै अघि बढ्दै गरेको माइक्रो कम्युटर उद्योगमा गेट्सको प्रभाव व्यापक रूपमा बढ्यो । सन् १९८१ मा आईबीएमको पीसी बजारमा सार्वजनिक भएसँगै यसँगको ख्याति बढ्यो । यसमा प्रयोग भएको प्रविधि र सफ्टवेयरको निकै प्रशंसा भएको थियो । त्यसपछि एमएस–डसको माग अन्य प्रतिस्पर्धी अपरेटिङ सिस्टमहरूभन्दा निकै धेरै भयो । सन् १९९० को दशकमा आइपुग्दा पीसी उद्योगमा माइक्रोसफ्ट सर्वेसर्वाजस्तै भइसकेको थियो । माइक्रोसफ्टको सफलताको बलमा गेट्स विश्वकै सबैभन्दा धनी व्यक्तिका रूपमा चिनिए । यससँगै उनले आफ्ना परोपकारी कामहरूलाई पनि अघि बढाए । सन् १९९४ मा उनले आफ्नी पत्नी मेलिन्डासँग मिलेर विश्वव्यापी स्वास्थ्य कार्यक्रम र परियोजनाहरूलाई आर्थिक सहयोग गर्न ‘विलियम एच गेट्स फाउन्डेसन’ (सन् १९९९ मा नाम फेरेर बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ राखियो) को स्थापना गरे । सन् २००६ मा अर्का उद्योगपति वारेन बफेटले यस फाउन्डेसनलाई नियमित रूपमा सहयोग गर्ने घोषणा गरे । गेट्सले पनि पछिल्ला वर्षमा समाजसेवामा आफ्नो भूमिका बढाउँदै लगेका छन् । मे २०२५ मा गेट्सले आफ्नो बाँकी सम्पत्तिको ९९ प्रतिशत रकम पनि फाउन्डेसनलाई दान गर्ने घोषणा गरेका छन् । यो रकम उनले सन् २०४५ भित्र दान गरिसक्नेछन् । यस अवधिमा फाउन्डेसनले पनि आफूसँग भएको ७७ अर्ब, बिल गेट्सबाट थप प्राप्त हुने १ सय ७ अर्ब र बाँकी सहयोगीहरूबाट प्राप्त हुने रकमसमेत जोडेर २ सय अर्ब (सन् २०४५ सम्म) खर्च गर्ने लक्ष्य राखेको छ । यस खर्चमार्फत विभिन्न परियोजना सम्पन्न गरेपछि फाउन्डेसन बन्द गरिने घोषणा पनि गेट्सले गरेका छन् । यस फाउन्डेसनले विश्वभर स्वास्थ्य, गरिबी निवारण, सरसफाइ, किसान तथा साना उद्यमीलाई आर्थिक सशक्तीकरण कार्यक्रम, महिला सशक्तीकरण, शिक्षालगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । बिल गेट्स बेलाबेलामा विवादमा पनि आउने गरेका छन् । पछिल्लो पटक उनी जेफ्री एप्स्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक भएसँगै विवादमा तानिएका थिए । आफ्नो होटलमा कार्यरत किशोरीहरूलाई धनाढ्यसँग जबर्जस्ती अनुचित सम्बन्ध बनाउन दबाब दिने गरेको आरोपमा एस्प्टिन दोषी पाइएका थिए । अमेरिकी सरकारले उनको मृत्युपछि सार्वजनिक गरेका गोप्य कागजातहरूमा बिल गेट्ससँग पनि एप्स्टिनको भेट भएको उल्लेख छ । यो विषय बाहिरिएपछि गेट्स निकै ठूलो विवादमा तानिए । उनले जवाफमा भनेका थिए, ‘मैले एप्स्टिनसँग भेटेको हुँ । उनले मेरो समाजसेवाका लागि पैसा जुटाइदिने आश्वासन दिएकाले भेट भएको थियो ।’ गेट्सको पारिवारिक जीवन पनि पछिल्लो समय राम्रो हुन सकेन । उनले मेलिन्डा गेट्ससँग सन् २०२१ मा सम्बन्धविच्छेद गरे । त्यसपछि व्यवसायी पाउला कालुपासँगको प्रेमसम्बन्धलाई लिएर पनि बिल गेट्सको चर्चा हुन्छ । सन् २०२६ को अगस्टमा गेट्सले आफ्नो व्यक्तिगत वेबसाइटमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का जोखिम र सम्भावित फाइदाहरूबारे एक लामो निबन्ध प्रकाशन गरेका थिए । एआईले वैज्ञानिक अनुसन्धान, स्वास्थ्य सेवा, शिक्षा र सरकारका सेवाहरूलाई गति दिन सक्ने उनले बताए । तर सरकार र समाजले यसको प्रभावका लागि तयारी गर्नुअगाडि नै प्रविधिले तीव्र गतिमा फड्को मार्दै गएकामा चेतावनी पनि दिए । एआईलाई जिम्मेवार रूपमा अघि बढाउँदा अहिलेसम्म आविष्कार गरेको सबैभन्दा ठूलो समतावादी साधन बन्न सक्ने उनको तर्क थियो । तर यो साधन मानिसको नियन्त्रणबाहिर पुगेमा अन्यायको सबैभन्दा ठूलो स्रोत बन्ने सम्भावना पनि उत्तिकै रहेको उनले लेखमा उल्लेख गरेका थिए । यसका लागि नियमन र सतर्कता जरुरी रहेको उनले बताएका थिए । फेब्रुअरी २०२५ मा गेट्सले आफ्नो आत्मकथा शृंखलाको पहिलो पुस्तक ‘सोर्स कोड : माई बिगिनिङ्स’ सार्वजनिक गरेका थिए । एजेन्सी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँको चहलपहल, गाडीमा यात्रुको चाप
जनार्जन खत्रीसर्लाही, असोज ३१ गते । सर्लाहीमा दसैँको चहलपहल तीव्र रुपमा बढ्न थालेको छ । सडक, बजारमा मानिसको आउजाउ बाक्लिँदै गएको देखिन्छ । काठमाडौँ उपत्यकामा अध्ययन तथा रोजगारीका ल... ...

अफगानिस्तानमा दुई गाडी ठोक्किँदा ४ जनाको मृत्यु, ३ घाइते
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा तीव्र गतिमा रहेका दुई सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। सिन्ह्वाका अनुसार शुक्रबार साँझ कुन्दुज प्रान्तको... ...

एनपीएललाई आईसीसीको आधिकारिक स्वीकृति, विदेशी खेलाडीलाई एनओसी अनिवार्य
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति (स्याङ्सन) प्राप्त भएको जनाएको छ । आईसीसीको सर्तअनुसार एनपीएलमा सहभागी हुने सबै विदेशी खेलाडीले सम्बन्धित बोर्डबाट अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्नेछ भने प्रतियोगितालाई निष्पक्ष बनाउन आईसीसीको एन्टी-करप्सन कोड कडाइका साथ लागू गरिने भएको छ । क्यानद्वारा शनिवार त्रिवी क्रिकेट मैदान ...

दशैँको दर्शन र समकालीन समाजको आत्मबोध
दशैँ नेपाली समाजको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व मात्र होइन, यो सभ्यताको ऐतिहासिक निरन्तरता, सामूहिक स्मृति, नैतिक चेतना... ...


