काठमाडौं । कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि भन्ने नाराका साथ आगामी मंसिरमा हुने कृषि यान्त्रिकीकरण मेला अर्थात् आठौं एग्रिमेक इन्टरनेसनल एक्स्पो २०२६ को तयारी पूरा भएको छ । नेपाल सरकारको कृषि वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)को संयुक्त आयोजनामा नेपालको कृषि क्षेत्र आधुनिक, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित काठमाडौंको भृकुटीमण्डपमा मंसिर ४ गतेदेखि ६ गतेसम्म एक्स्पो हुने भएको हो । आयोजकका अनुसार एक्स्पोमा करिब ७० प्रदर्शकको सहभागिता रहनेछ भने एक सय ५० भन्दा बढी स्टलमार्फत् दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि गरिनेछ । एक्स्पो निःशुल्क रहने पनि आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नामियाका अध्यक्ष कृष्ण शर्माले एक्स्पोमा स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधि उत्पादकलाई प्रोत्साहन गर्ने करिब ३० वटा स्टल स्वदेशी उत्पादक कम्पनी तथा संस्थालाई निःशुल्क उपलब्ध गराइने बताउनुभयो । त्यसैगरी ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’ कम्पनीहरूलाई ६० प्रतिशत, नामियाका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुट प्रदान गरिने पनि उहाँले जानकारी गराउनुभयो । आयोजकका अनुसार एक्स्पोमा आधुनिक कृषि यन्त्रदेखि पशुपन्छीपालन, मत्स्यपालन, व्यावसायिक तरकारी खेती, पुष्प खेती, सिँचाइ प्रणाली, पोस्ट–हार्भेष्ट व्यवस्थापन, कृषि प्रशोधन, कोल्डस्टोर, कृषि बजारीकरण तथा गुणस्तरीय बिउबिजनसँग सम्बन्धित नवीनतम प्रविधि अवलोकन गर्न पाइनेछ । जसले कृषक, कृषि उद्यमी, सहकारी, व्यवसायी, अनुसन्धानकर्ता तथा नीति निर्मातालाई कृषि क्षेत्रमा विकसित नवीनतम प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराउने अपेक्षा गरिएको छ । एक्स्पोले नेपालको कृषि क्षेत्रमा यान्त्रिकीकरण विस्तार, उत्पादन लागत घटाउने, उत्पादन वृद्धि गर्ने, श्रम अभावको समाधान खोज्ने तथा कृषि उद्यमशीलता र निजी लगानीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । नेपालमा यसअघि पाँच राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, एक अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी तथा एक प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना भइसकेका छन् । विगतका प्रदर्शनीहरूबाट प्राप्त अनुभवलाई आधार बनाएर यसपटकको अन्तर्राष्ट्रिय संस्करण अझ व्यापक र प्रभावकारी बनाउन लागिएको आयोजकले जनाएको छ । एक्स्पोको मुख्य प्रायोजकमा एसकेटी नेपाल प्रालि रहेको छ भने एसोसिएट पार्टनरमा युरोपेली युनियन(इयु) र जिआइजेडद्वारा सञ्चालित ग्रेप २ परियोजना रहेको छ । प्लाटिनम प्रायोजक जी. सेभेन एग्रिकल्चर प्रालि, शालोम एग्रिकल्चर प्रालि, नेपाल ट्रेड होस्ट प्रालि र बिडी कमर्सियल इक्विपमेन्ट प्रालि रहेका छन् । गोल्ड प्रायोजकमा पशुपति एग्रो ट्रेडर्स, विन्ध्यवासिनी कृषि कम्पनी प्रालि र जैन इरिगेसन सिस्टम्स लिमिटेड रहेका छन् ।
मंसिरमा हुने ‘एग्रिमेक’ एक्स्पोको तयारी पूरा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






