काठमाडौं। नेपालमा कृषि यान्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मंसिरमा ‘आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ। नेपाल कृषि मेसिनरी व्यवसायी संघका अनुसार प्रदर्शनी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। तीन दिनसम्म चल्ने प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ। ‘कृषिमा यन्त्र र प्रविधि, कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रदर्शनीमा ७० भन्दा बढी प्रदर्शनीकर्ता र १५० भन्दा बढी स्टल रहनेछन्। २० भन्दा बढी देशका दुई हजारभन्दा बढी आधुनिक प्रविधि, कृषि मेसिनरी तथा औजार प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले प्रदर्शनीमा आउने सम्पूर्ण अवलोकनकर्ता तथा आगन्तुकका लागि प्रवेश निःशुल्क गरिएको जानकारी दिए। स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले स्वदेशी उत्पादक कम्पनी तथा संस्थाका लागि ३० भन्दा बढी स्टल निःशुल्क उपलब्ध गराइएको छ। ‘मेड इन नेपाल’ तथा ‘मेक इन नेपाल’ अभियानअन्तर्गत सहभागी हुने स्वदेशी कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत छुट दिइनेछ। त्यस्तै, नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यलाई स्टल भाडामा ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको शर्माले बताए। प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, सिँचाइ, पोस्ट हार्भेस्ट, कृषि उपज प्रशोधन, कोल्ड स्टोर तथा बजारीकरणलगायतका प्रविधि र उपकरण प्रदर्शन गरिनेछ। उन्नत बीउबिजन तथा कृषि र पशुपन्छीसम्बन्धी सेवा र प्रविधिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादक तथा विक्रेताको सहभागिता पनि रहनेछ। प्रदर्शनीका मुख्य आयोजकमा नेपाल सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघ रहेका छन्। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी तथा वन मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) सहआयोजकका रूपमा रहेका छन्। प्रदर्शनी अवधिमा स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा कृषि यान्त्रिकीकरणसम्बन्धी प्यानल छलफल, नीतिगत संवाद तथा विभिन्न साइडलाइन कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। अध्यक्ष शर्माले नेपालमा कृषि यान्त्रिकीकरण र आधुनिक प्रविधिको प्रयोग विस्तार गर्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताए। “नेपालमा कृषि यान्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना हुँदैछ। तीनदिने प्रदर्शनीमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधिलाई प्रोत्साहन गर्न स्वदेशी उत्पादकलाई विशेष सुविधा उपलब्ध गराइएको छ,” उनले भने। नेपाल उद्योग वाणिज्य महासंघ मेला समितिका सभापति सविन श्रेष्ठले कृषि क्षेत्रको विकास र आत्मनिर्भरताका लागि कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताए। नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गर्ने कृषि मेलाले कृषकलाई आधुनिक कृषि औजार तथा प्रविधिबारे जानकारी दिनुका साथै कृषि क्षेत्रमा चेतना र प्राविधिक ज्ञान अभिवृद्धिमा सहयोग पुर्याउने उनले बताए। नेपालमा कृषि क्रान्ति र आत्मनिर्भरताबारे चर्चा भइरहे पनि कृषि क्षेत्रको विकासका लागि सुरुदेखि नै पर्याप्त प्रयास हुन नसकेको श्रेष्ठको भनाइ छ। उनले कृषि यान्त्रिकीकरणसम्बन्धी यस्ता प्रदर्शनी अझ व्यापक र प्रभावकारी रूपमा आयोजना गर्नुपर्नेमा जोड दिए। “नेपालमा कृषि र कृषि क्रान्तिका कुरा भइरहेका छन्। कृषिमा आत्मनिर्भर बन्ने विषयमा पनि चर्चा भइरहेको छ। सरकारले पनि यसका लागि विभिन्न प्रयास गरिरहेको छ। यद्यपि कृषिको विकास कसरी गर्ने र त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सुरुदेखि नै पर्याप्त प्रयास हुन नसकेको जस्तो देखिन्छ,” श्रेष्ठले भने। उनका अनुसार कृषि मेलामार्फत कृषकलाई आधुनिक कृषि औजार तथा प्रविधिबारे जानकारी दिने, शिक्षित र सचेत बनाउने प्रयास भइरहेको छ। यस्तो प्रयास अझ व्यापक रूपमा अघि बढाउनुपर्ने भए पनि नेपालको बजार र आन्तरिक क्षमताले कृषि यान्त्रिकीकरणको विस्तारलाई निर्धारण गर्ने उनको भनाइ छ। – न्युज एजेन्सी नेपाल
मंसिर ४ देखि काठमाडौंमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी हुने, दुई हजार बढी आधुनिक मेसिनरी प्रदर्शन हुने

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






