Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतमा अम्बानीको जियो कम्पनीमा ७७ अर्ब डलरको आईपीओ

भारतमा अम्बानीको जियो कम्पनीमा ७७ अर्ब डलरको आईपीओ

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा अम्बानीको जियो कम्पनीमा ७७ अर्ब डलरको आईपीओ

नयाँ दिल्ली । अर्बपति मुकेश अम्बानीले २० वर्षपछि ल्याएको पहिलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि शुक्रबारसम्म ७७ अर्ब डलरभन्दा बढीको बोलकबोल परेको छ। यससँगै उनको दूरसञ्चार तथा डिजिटल व्यवसाय जियो प्लेटफर्म्स भारतकै सबैभन्दा बढी आवेदन परेको सेयर निष्कासन बनेको छ। यसले मुकेशका भाइ अनिल अम्बानीको समूहअन्तर्गतको रिलायन्स पावरले सन् २००८ मा ल्याएको आईपीओको रेकर्ड तोडेको छ। कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित कम्पनीका सेयरमाथि निगरानी र प्रश्न बढिरहेका बेला जियोको आईपीओलाई ठूलो आकारका सेयर निष्कासनप्रति लगानीकर्ताको आकर्षण कस्तो छ भन्ने परीक्षणका रूपमा हेरिएको छ। भारतमा ५० करोडभन्दा बढी प्रयोगकर्तालाई मोबाइल नेटवर्क सेवा प्रदान गर्ने जियो प्लेटफर्म्सले हिन्दु पर्वको समयमा आईपीओ ल्याएको हो। यो समयलाई शुभ मानिन्छ। जियो प्लेटफर्म्सको आईपीओले कम्पनीको मूल्याङ्कन १०८ अर्ब ३० करोड डलरसम्म पुर्‍याउने अनुमान छ। बुधबारदेखि सेयर कारोबार सुरु हुँदा यो बजार पुँजीकरणका आधारमा भारतका ठूला कम्पनीमध्ये एक बन्न सक्नेछ। संस्थागत तथा खुद्रा लगानीकर्ता, कर्मचारी र विद्यमान सेयरधनीको बलियो मागका कारण सर्वसाधारणका लागि छुट्याइएको सेयरको तुलनामा २२ गुणाभन्दा बढी आवेदन परेको छ। यदि अधिकांश बोलकबोल प्रतिकित्ता १ हजार ११९ भारु (११.७९ डलर) को अधिकतम मूल्यमा गरिएको हो भने माग ५१ अर्ब ५० करोड डलरभन्दा बढी पुगेको हुनेछ। यसमा अबुधाबी इन्भेस्टमेन्ट अथोरिटी, ब्ल्याक रक र फिडेलिटी जस्ता प्रमुख लगानीकर्ताले छुट्याइएको ८५ करोड ४० लाख डलर बराबरको सेयरका लागि गरेको कुल २५ अर्ब ६० करोड डलरको बोलकबोल जोडिएको छैन। दीर्घकालीन सम्पत्ति सिर्जना गर्ने कम्पनी रिलायन्सका एक अधिकारीले रोयटर्सलाई बताएअनुसार जियो प्लेटफर्म्सको आईपीओमा १ करोड ३८ लाखभन्दा बढी आवेदन परेका छन्, जुन भारतमा अहिलेसम्मकै उच्च हो। चीनको मेमोरी चिप निर्माता कम्पनी सीएक्सएमटीको ८ अर्ब ६० करोड डलरको आईपीओमा करिब ९४ लाख खाताबाट आवेदन परेको थियो। उक्त निष्कासन यस वर्ष एसियाकै सबैभन्दा ठूलो हो। “लामो समयपछि रिलायन्सको आईपीओ आउनु नै यस सेयरप्रति ठूलो उत्साह र उन्माद पैदा गर्ने कारण बनेको छ,” वेल्थमिल्स सेक्युरिटिजका इक्विटी रणनीतिकार क्रान्ति बाथिनीले भने। अम्बानीका जेठा छोरा आकाश अम्बानीको नेतृत्वमा रहेको जियो प्लेटफर्म्समा मेटा प्लेटफर्म्स र अल्फाबेटको गुगल लगायतका कम्पनी लामो समयदेखि लगानीकर्ताका रूपमा छन्। बुधबार खुलेको जियोको आईपीओ दुई घण्टाभित्रै पूर्ण रूपमा बिक्रीका लागि आवेदन परेको थियो। भारतका अधिकांश आईपीओमा आवेदन क्रमशः बढ्ने र संस्थागत लगानीकर्ताले प्रायः अन्तिम घण्टासम्म पर्खेर आवेदन दिने गरेको अवस्थाभन्दा यो फरक थियो। जियो प्लेटफर्म्स रिलायन्स इन्डस्ट्रिजको हिस्सा हो। सन् २००६ यता कम्पनीको सेयरको प्रतिफल करिब ९०० प्रतिशत पुगेको छ, जुन प्रमुख सेयर सूचकांक निफ्टीको ६८५ प्रतिशत प्रतिफलभन्दा बढी हो। एलएसईजीको तथ्यांकअनुसार यही कारण रिलायन्सलाई भारतीय लगानीकर्ताले दीर्घकालीन सम्पत्ति सिर्जना गर्ने कम्पनीका रूपमा हेर्ने गरेका छन्। ठूला लगानीकर्ताको उल्लेख्य चासो सन् २०१६ मा सुरु भएको जियो प्लेटफर्म्सको दूरसञ्चार व्यवसायले निःशुल्क भ्वाइस कल र डेटा उपलब्ध गराएर बजारमा ठूलो परिवर्तन ल्याएको थियो। यसले भारती एयरटेल र भोडाफोन आइडिया जस्ता प्रतिस्पर्धीलाई चुनौती दिएको थियो। एउटै देशभित्रका ग्राहकको संख्याका आधारमा जियो अहिले चाइना मोबाइल पछि दोस्रो स्थानमा छ। शुक्रबार बजार बन्द हुँदासम्म आईपीओमा संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरमा माग ७०.५५ गुणा पुगेको थियो। यसले ठूला लगानीकर्ताको बलियो चासो देखाउँछ। खुद्रा लगानीकर्ताका लागि छुट्याइएको सेयरमा २.७ गुणा आवेदन परेको थियो भने कर्मचारी र रिलायन्सका विद्यमान सेयरधनीका लागि छुट्याइएको सेयरमा क्रमशः २.९३ गुणा र ७.६ गुणा आवेदन परेको तथ्यांकले देखाएको छ। रिलायन्सको स्थापना आकाश अम्बानीका हजुरबुबा धीरुभाइ अम्बानीले गरेका थिए। उनले सन् १९८० को दशकमा मुम्बईमा ठूलो संख्यामा सेयरधनी भेला गरेर कम्पनीको खुद्रा लगानीकर्ता आधार विस्तार गरेका थिए। रिलायन्सको वेबसाइटका अनुसार सन् १९७७ मा कम्पनीको सेयर सूचीकृत भएपछि भारतमा सेयर बजारमा लगानी गर्ने प्रवृत्ति लोकप्रिय हुन थालेको थियो। वेबसाइटमा उक्त घटनालाई भारतमा “सेयर लगानीको संस्कृतिको सुरुआत” गराउने कदमका रूपमा वर्णन गरिएको छ।रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
ताजा खबरJust now

चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा ...

हाम्राकुरा
हुम्लाबाट स्थलमार्ग हुँदै एकै दिनमा काठमाडौँ पुग्ने सपनाको परीक्षण
ताजा खबरJust now

हुम्लाबाट स्थलमार्ग हुँदै एकै दिनमा काठमाडौँ पुग्ने सपनाको परीक्षण

हिमाललाई दुर्गमताको प्रतीकभन्दा पनि सम्भावना, उत्पादन, पर्यटन र राष्ट्रिय समृद्धिको आधारका रूपमा हेर्ने नयाँ विकास दृष्टिकोण आवश्यक भएको छ। हिमाल¸ पहाड र तराई-मधेशको शिर मात्र होइन, जीवन दिने आधार पनि हो। यसको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र आर्थिक सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्दै हिमाली नागरिकको जीवनस्तर सुधार्नु र हिमाली क्षेत्रलाई राष्ट्रिय अर्थत... ...

नेपालखबर
आज अवरुद्ध छन् यी सडक
ताजा खबरJust now

आज अवरुद्ध छन् यी सडक

वर्षासँगैको बाढी-पहिरो र सडक कटानको कारण आज पनि देशका केही सडक अवरुद्ध छन्। केही राजमार्गमा भने एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ।  बाढीको कारण गोरखाको आरुघाटमा राजमार्ग पूर्ण रूपमा अरुद्ध छ।  सोतीमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट दादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।  त्यसैगरी आरुघाट- ९ नयाँ पुलमा प... ...

नेपालखबर
फ्लाईदुबई नियमित उडानको एक महिना: अबको खाँचो पोखरा–दुबई यात्रा प्रवर्द्धन
ताजा खबरJust now

फ्लाईदुबई नियमित उडानको एक महिना: अबको खाँचो पोखरा–दुबई यात्रा प्रवर्द्धन

आउने यात्रुको सङ्ख्या राम्रो हुनु सकारात्मक पक्ष हो। अब पोखराबाट जाने यात्रुको सङ्ख्या बढाउँदै जाने र आउने तथा जाने यात्रुको सङ्ख्यालाई सकेसम्म सन्तुलित बनाउन पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रले आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ। __धनराज आचार्य, मेयर, पोखरा महानगरपालिका___ अक्टोबर २३, २०२६ (विक्रम संवत् अनुसार ६ कात्तिक, २०८३), पोखरा अन्तर्राष्ट्रिय ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play