भद्रकाली दर्शनमा पुगेका भक्तजनहरु भन्छन् : शान्ति र देश कल्याणको कामना गरेका छौं

काठमाडौं । बडादशैँको नवरात्रसँगै देशभरका शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्छ । विशेषगरी काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरुमा पनि दर्शन गर्नेहरुको उत्तिक घुइँचो छ ।
काठमाडौंस्थित मुख्य शक्तिपीठमध्ये भद्रकाली मन्दिरमा पूजाआजा तथा देवीको दर्शन गर्न आउने भक्तजनको चहलपहल बढेको छ ।

नवरात्रका अवसरमा देवीको आराधना गर्न मन्दिर पुग्ने भक्तजनमध्ये कोही वर्षौंदेखिको परम्परालाई निरन्तरता दिन आएका छन् भने कोही परिवारको सुख, शान्ति र देशको कल्याणको कामना गर्दै पूजाआजामा सहभागी भइरहेका छन् ।

बडादशैँमा विशेष पूजाआजा हुने प्रमुख शक्तिपीठमध्ये भद्रकाली मन्दिर पनि एक हो । नवरात्रका नौं दिन फरक–फरक शक्तिपीठमा पुगेर देवीको दर्शन गर्ने धार्मिक मान्यताअनुसार कतिपय भक्तजनले दैनिक नयाँ मन्दिर पुग्ने योजना बनाएका छन् ।

भद्रकाली मन्दिरमा पूजाआजा गर्न आएका सानु थापा उमेरले पाका छन् । उनी विगतमा नवरात्रभरि नुहाउने, देवीको दर्शन गर्ने र विभिन्न मन्दिर घुम्ने गरेको सम्झन्छिन् । अहिले भने उमेर बढ्दै जाँदा हिँडडुल गर्न कठिन भएको उनी बताउँछिन् ।

‘पहिला त नवरात्रभरि नुहाइन्थ्यो, दर्शन गरिन्थ्यो, मन्दिरतिर घुमिन्थ्यो । अहिले बुढेसकालमा हिँड्न सकिँदैन,’ थापा भन्छिन् ।

उमेरका कारण पहिलेझैँ मन्दिरहरू घुम्न नसके पनि दसैँप्रतिको उनको सद्भाव उस्तै छ । सबैले दसैँ राम्रोसँग मनाउन पाऊन् र खुसी रहून् भन्ने कामना गर्दै उनी भन्छिन्, ‘दसैँमा सबै जनाले राम्रोसित मानून्, धेरै खुसी होऊन्, त्यही हो ।’

त्यस्तै, भद्रकाली मन्दिरमा पूजाआजा गर्न आएकी सीता ढुंगाना नवरात्रमा देवीको आराधना गर्नुको विशेष महत्त्व रहेको बताउँछिन् । हिन्दू धर्मावलम्बीको प्रमुख चाड दसैँमा भद्रकालीलगायत शक्तिपीठमा पुगेर पूजा गर्ने परम्पराले आफूलाई पनि मन्दिरसम्म ल्याएको उनको भनाइ छ ।

‘हिन्दूहरूको सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो । नवरात्रमा भद्रकालीको विशेष महत्त्व भएकाले यहाँ आएका हौँ। सम्पूर्ण देवीदेवताको महत्त्व छ, तर काली माताको मन्दिरमा विशेष रूपमा आउने चलन छ,’ ढुंगाना भन्छिन् ।

पूजाआजा र देवीको दर्शन गर्न मन्दिर पुगेकी ढुंगानाको मनमा भने यस वर्ष देशको परिस्थितिलाई लिएर चिन्ता पनि छ । विगतमा दसैँका बेला गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र रमाइलो गर्ने चलन सम्झँदै उनी अहिलेको वातावरण केही शान्त र निराशाजनक बनेको सुनाउँछिन् ।

‘पहिला–पहिला गाउँघर गइन्थ्यो, यताउति रमाइलो हुन्थ्यो । अहिले चाहिँ अलि सन्नाटा छाएको छ । देशमा पनि नराम्रो भएको छ, दुःख छ । तैपनि दुःखलाई थाती राखेरै भगवानलाई प्रार्थना गर्न आएको हुँ,’ उनी भन्छिन् ।

देशमा देखिएका समस्या र आपत्विपत् कम होऊन् तथा सबै मिलेर अघि बढ्दा राम्रो परिस्थिति निर्माण होस् भन्ने उनको कामना छ । धार्मिक आस्थासँगै सामाजिक एकता र आपसी सद्भावको आवश्यकता औँल्याउँदै उनी सबैलाई मिलेर सकारात्मक प्रयास गर्न आग्रह गर्छिन् ।

भद्रकाली मन्दिरमा पूजाआजा गर्न आएका यी भक्तजनका अनुभवले दशैँको धार्मिक र भावनात्मक पक्षलाई उजागर गर्छन् । कसैका लागि नवरात्र पुराना दिनको सम्झना हो भने कसैका लागि वर्तमानका दुःख बिर्सेर मनलाई शान्त बनाउने अवसर । देवीको दर्शन र पूजाआजामार्फत उनीहरू आफ्नो जीवन, परिवार र देशका लागि सुख, शान्ति तथा समृद्धिको कामना गरिरहेका छन् ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

घान्द्रुक : जहाँबाट देखिन्छ मनमोहक हिमाल (तस्वीरहरू)
होमस्टेसँगै पछिल्लो समय घान्द्रुकमा होटलहरू पनि सञ्चालनमा आएका छन् । यहाँबाट घान्द्रुक घोरेपानी पदयात्रा गर्न सकिन्छ । अन्नपूर्ण, मर्दी र पुनहिल ट्रेकिङ पनि जान सकिन्छ । ट्रेकिङको ट्रान्जिट प्वइन्ट पनि हो घान्द्रुक । ...

मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
२ असोज, काठमाडौं । नवरात्रका अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको ऐतिहासिक एवं धार्मिकस्थल मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । दसैंको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैंडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । धार्मिक सेवा समिति मौलाकालिकाका अनुसार यस… ...

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान
जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८१९ वटा बोकाको बलि प्रदान भएको छ । हिजो (आईतबार) राती पौने ९ बजेदेखि सुरु भएको बलिप्रदान कार्यक्रम विहान ४ बजेसम्म चलेको थियो । बलि प्रदानका निम्ति ४ वटा ठेहा –बलि दिने स्थान) को व्यवस्था गरिएको थियो । श्रद्धालुभक्तजनको सुविधाका निम्त मन्दिरको पूर्व, पश्चिम र दक्षिण गरी तीन स्थानबाट बोकाको लाईन व्यवस्थापन गरिएको थियो । बलि ...

वडादशैंका लागि सशस्त्र प्रहरीद्वारा १२४ वटा पिङ निर्माणमा सहयोग
वडादशैंका अवसरमा सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहकार्यमा देशका विभिन्न स्थानमा १२४ वटा पिङ निर्माणमा सहयोग गरेको छ । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । दशैंका बेला परम्परागत रूपमा खेलिने पिङको संरक्षण तथा प्रवद्र्धन गर्दै चाडपर्वलाई थप उल्लासमय बनाउन सशस्त्र प्रहरीले स्थानीय समुदायलाई सहयोग गरेको हो । ...