काठमाडौं। बूढीगण्डकी जलविद्युत् आयोजनालाई प्राधिकरण मोडलमा अघि बढाउने गरी विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ। सभामुख डोलप्रसाद अर्यालले विधेयकको मस्यौदा बिहीबारसम्म टुंग्याएर संसद् अधिवेशन सुरु भएको दुई साताभित्र पेस गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। बुधबार आयोजनाको कार्यालय भवन, आवास र पक्की पुलको शिलान्यास गर्दै सभामुख अर्यालले प्राधिकरण गठन भएपछि आयोजना कार्यान्वयनमा अवरोध नहुने दाबी गरे। उनले प्राधिकरणलाई शक्तिशाली संस्थागत संरचनाका रूपमा विकास गरिने बताउँदै भने, ‘यो यस्तो पावरफुल अथोरिटी बन्छ, जसले गर्दा कसैले रोकेर रोकिँदैन।’ सभामुखका अनुसार विधेयक तयार भएपछि स्थानीय तह, नागरिक समाज र पत्रकारबाट समेत सुझाव लिइनेछ। आयोजनाका लागि हाल १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको र थप १ अर्ब ५० करोड गरी ३ अर्ब रुपैयाँको स्रोत उपलब्ध गराउने प्रतिबद्धता सरकारले गरेको छ। सभामुखले १२ सय मेगावाट क्षमताको यो आयोजनालाई केवल विद्युत् उत्पादनमा मात्र सीमित नराखी सडक, जलाशय, पर्यटन र बस्ती विकाससहितको बहुउद्देश्यीय परियोजनाका रूपमा अघि बढाइने बताए। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकीलाई कम्पनी मोडलभन्दा अधिकारसम्पन्न प्राधिकरणमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘जलविद्युत् मात्रै बन्ने भए कम्पनी मोडलमा हो। तर यो भौगोलिक ढंगले र अर्थतन्त्रलाई नयाँ दिशामा लिएर जाने गेम चेन्जर योजना हो।’ भट्टराईले राज्यका राष्ट्रिय योजनाहरू सरकार परिवर्तनसँगै बदलिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे। उनले गोरखा, धादिङ र चितवनलाई समेत लाभ पुग्ने गरी यो आयोजनालाई एकीकृत विकासको मोडलका रूपमा अघि बढाउनुपर्ने बताए। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आयोजनाका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए। बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले शिलान्यास गरिएका पूर्वाधारहरू आयोजनाको निर्माण यात्राको ठोस सुरुवात भएको बताए। उनले प्रभावित परिवारको मुआब्जा, पुनर्वास र रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
बूढीगण्डकी प्राधिकरण गठनको विधेयक अन्तिम चरणमा

Read Complete Original Article
Published originally on नेपालन्युज






