बाढीले खोस्यो पाँच परिवारको दशैं

बर्दिया। घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दशैंको रौनक छ। तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्षको दशैं खुशीको पर्व बन्न सकेको छैन। परिवारको भविष्य बनाउन रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा पीडा छाएको छ। बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सिर्जना थारुलाई यस वर्षको दशैंले झन् पीडा थपेको छ। घरमा जमरा राखिए पनि श्रीमान् बेपत्ता हुँदाको पीडाले उनलाई पर्व मनाउने जाँगर छैन। आँखाभरि आँशु पार्दै उनले भनिन्, “दशैं आएको छ, तर परिवारमा कुनै खुशी छैन।” परम्पराअनुसार कुलदेवताको पूजा गरे पनि श्रीमान् बेपत्ता हुँदाको पीडाले दशैं मनाउन नसकेको उनले बताइन्। विगतमा परिवारसँगै बसेर खुसी साटासाट गरेको दशैं सम्झँदा अहिले मन झन् भारी हुने उनको भनाइ छ। सोही गाउँका सुरेश थारु पनि भोटेकोशी बाढीमा बेपत्ता भएका छन्। उनकी श्रीमती रमिता थारु श्रीमान् फर्किने आशामा दिनरात बिताइरहेकी छन्। “रातदिन श्रीमानकै प्रतीक्षामा छु। उहाँलाई सम्झेर दशैं कसरी मनाउने ?” उनले भनिन्। घरमा जमरा राखेर कुलदेवताको पूजा गरे पनि दुःखका कारण टीका नलगाई दशैं बिताउने उनले बताइन्। सिर्जना र रमिता जस्तै तिनघरवाका पाँच परिवार अहिले शोक र प्रतीक्षामा छन्। एउटै टोलका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गत भदौ १० गते भोटेकोशी बाढीमा परेर बेपत्ता भएका थिए। पाँच जना बेपत्ता भएपछि पीडा परिवारमा मात्र सीमित छैन, सिङ्गो गाउँ नै शोकमा डुबेको छ। बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पाँच परिवारमा परेको विपत्तिले गाउँका सबैलाई दुःखी बनाएको बताए। आफन्त, गरगोतियार र छरछिमेकमा पनि यस वर्ष दशैंको रौनक नरहेको उनले जानकारी दिए। राजापुर नगरपालिका–९ तिनघरवा गाउँमा ७५ परिवार बसोबास गर्छन्। विगतमा रोजगारी, व्यवसाय र अध्ययनका लागि सहरबजार तथा जिल्ला बाहिर गएकाहरू दशैं मनाउन गाउँ फर्किन्थे। गाउँमा चहलपहल हुन्थ्यो र सबैले मिलेर पर्व मनाउँथे। तर यस वर्ष बाढीको पीडाले गाउँको माहोल बदलिएको छ। गाउँका बरघर बरुण थारुले यस वर्ष गाउँमा दशैंको रौनक नरहेको बताए। “दशैं आएको छ, तर गाउँमा मादल बज्दैन। कसैको मनमा पनि खुशी छैन,” उनले भने। बाढीको पीडाका कारण तिनघरवासीले यसअघि अटवारी र तीज पनि उल्लासपूर्वक मनाउन नसकेको स्थानीयले बताए। भोटेकोशी बाढीमा बेपत्ता भएका मजदुरका परिवारले अहिलेसम्म सरकारी राहत नपाएको गुनासो गरेका छन्। आफन्तको काजकिरिया गर्न समेत खर्च अभाव भएको उनीहरूको भनाइ छ। बेपत्ता सुरेश थारुकी श्रीमती रमिताले काजकिरियाका लागि आर्थिक समस्या भएको बताइन्। स्थानीय सरकारले किरिया खर्च उपलब्ध गराउने आश्वासन दिए पनि अहिलेसम्म नपाएको उनको गुनासो छ। राजापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति खुसीराम थारुका अनुसार सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूलाई मृत घोषणा नगरेकाले काजकिरियाका लागि राहत उपलब्ध गराउन समस्या भएको हो। बेपत्ता व्यक्तिलाई मृत घोषणा गरिएमा स्थानीय सरकारले काजकिरियाका लागि ५० हजार रुपैयाँसम्म सहयोग गर्न सक्ने उनले बताए। बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पनि सरकारले कुनै किसिमको राहत वा सहयोग उपलब्ध नगराएको गुनासो गरे। उनका अनुसार राजु काममा गएको ज्याला समेत परिवारले पाएको छैन। “यहाँबाट कामदार लगेको ठेकेदारसँग फोनमा सम्पर्क भए पनि प्रत्यक्ष भेटघाट भएको छैन,” उनले भने। बेपत्ता परिवारलाई राहत उपलब्ध गराउन र बाँकी ज्याला दिलाउन सरकारले प्रभावकारी पहल नगरेको उनको गुनासो छ। भोटेकोशी बाढीमा राजापुर नगरपालिका–९ तिनघरवाका पाँच जनासहित राजापुर नगरपालिकाका ११ जना बेपत्ता छन्। बर्दियाबाट मात्रै ७६ जना बेपत्ता रहेको जनाइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

भोटेकोसी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ शोक र प्रतीक्षामा
घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ। तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन। परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोसी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ। बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सि... ...

राष्ट्रपति पौडेलले गरे काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन
रामचन्द्र पौडेलले बडादशैँका अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । ...

मैतीदेवी मन्दिरमा राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिर पुगेर दर्शन गरेका छन् । ...

फ्रान्समा सुरक्षा असफलताको स्वीकारोक्ति: २ हजार ४०० पक्राउ, गृहमन्त्रीको राजीनामा अस्वीकृत
काठमाडौं । फ्रान्समा महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध उर्लिएको जनप्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रों सरकारमाथि दबाब चुलिएको छ। देशभर भएको प्रदर्शनका क्रममा २ हजार ४०० जनाभन्दा बढी पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सुरक्षाकर्मी घाइते भएका छन्। सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र व्यापक तोडफोड भएपछि सरकारको सुरक्षा तयारीमाथि गम्भीर प्रश्न उठेको छ। सुरक्षा व्यवस्थापनमा ...


