काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ककाकिकी’को प्रिमियर सम्पन्न भएको छ । मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, निर्माता र चलचित्रकर्मीको उपस्थिति थियो । प्रिमियरमा चलचित्र हेरेपछि अधिकांश चलचित्रकर्मीले यसको कथावस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयको प्रशंसा गरेका थिए । कमेडी जनरामा निर्माण भएको चलचित्रका विभिन्न दृश्यमा हलमा हाँसोका फोहोरा छुटेका थिए । निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको कामलाई पनि प्रशंसा गरिएको थियो । प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, मिलन चाम्स, अशोक शर्मा, शोभित बस्नेतलगायत चलचित्रकर्मी सहभागी हुनुहुन्थ्यो । निर्देशक बिक्की अग्रवालले चलचित्रकर्मीबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको बताउनुभयो । चलचित्र निर्माणमा आफ्नो टिमले निकै मिहिनेत गरेको उल्लेख गर्दै उहाँले अब दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको बताउनुभयो ।चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । यससँगै सबै उमेर समूहका दर्शकले चलचित्र हेर्न पाउने भएका छन् । बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङलगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुनुहुन्छ ।
प्रिमियरमा ‘ककाकिकी’को प्रशंसा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






