प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने

लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिन भित्र खुलाउनका लागि काम जारी राखिएको छ । नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो । योजना प्रमुख बेलबहादुर नेपालीले सडकमा थुप्रिएको हिउँ पन्छाउन उपकरण र जनशक्ति परिचालन गरिएको छ । मौसमले साथ दिए मङ्गलवार सम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए । सिमकोटदेखि चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको करिब ९५ किलोमिटर सडकखण्ड हिमपातका कारण अवरुद्ध भएको छ । विशेषगरी यारीदेखि हिल्सासम्मको करिब १५ किलोमिटर क्षेत्रमा बाक्लो हिउँ जमेको नेपालीले जानकारी दिए । तीन पटकसम्म हिमपात भएपछि सडक खुलाउन समस्या भएको उनले बताए । ‘नारा लेक क्षेत्रमा कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेको छ । हिउँ पन्छाउने काम भइरहेको छ । मौसमले साथ दिए सोमबारसम्म सडक खुलाउने लक्ष्य छ,’ नेपालीले भने । समुद्री सतहबाट करिब चार हजार पाँच सय मिटरभन्दा बढी उचाइमा रहेको नारा लेक क्षेत्रमा बाक्लो हिउँ जमेकाले सडक खुलाउन चुनौती भएको छ । ठाडोढुङ्गादेखि हिल्सातर्फको सडकमा बढी हिउँ जमेको आयोजनाले जनाएको छ । हिउँ पन्छाउन जेसीबी प्रयोग भइरहेको छ । ९५ किलोमिटर लामो सिमकोट–हिल्सा सडकखण्डमध्ये करिब ५५ किलोमिटरमा ग्राभेलिङ गरिएको छ । बाँकी सडक ट्र्याक खोलिएको अवस्थामा छ । सडक योजनाले आफ्नै उपकरण, इन्धन र मेसिन अपरेटर प्रयोग गरेर हिउँ हटाउने काम गरिरहेको नेपालीले बताए । सडक खुलाउन दुई जनाको टोली खटिएको छ । टोलीले दिनभर काम गर्ने र साँझ यारीमा फर्किएर खाने तथा बस्ने गरेको छ । कठिन भौगोलिक अवस्था र अत्यधिक हिउँका कारण काम गर्न समस्या भइरहेको छ । पुनः हिमपात भए सडक पूर्ण रूपमा अवरुद्ध हुने र खुलाउने काममा थप ढिलाइ हुन सक्ने नेपालीले बताए । मौसम अनुकूल रहे सोमबारसम्म यातायात सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ । दशैं मनाउन घर फर्किने नेपाली प्रतीक्षामा सडक अवरुद्ध हुँदा हिल्सा क्षेत्रमा रहेका पर्यटक तथा स्थानीयवासी प्रभावित भएका छन् । चीनको ताक्लाकोट क्षेत्रमा व्यापार तथा रोजगारीका लागि पुगेका हुम्लासहितका नेपालीलाई समेत घर फर्किन समस्या भएको छ । चीनको पुराङ क्षेत्रमा रहेका नेपालीलाई हिल्सा नाका हुँदै नेपाल प्रवेश गर्न सडक अवरुद्ध हुँदा कठिनाइ भएको छ । दशैं मनाउन घर फर्किने तयारीमा रहेका नेपाली सडक खुल्ने प्रतीक्षामा छन् । हिल्सा क्षेत्रमा रहेका स्थानीयवासीसमेत सडक सञ्चालनमा आउने आशामा बसेका छन् । हिल्सा नेपाल–चीन सीमावर्ती क्षेत्र हो । सडक बन्द हुँदा दैनिक आवतजावत तथा सामान ढुवानी प्रभावित भएको छ । सडक सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रमा रोकिएका नेपालीलाई घर फर्किन सहज हुने अपेक्षा गरिएको छ । यसअघि पनि नारा लेक क्षेत्रमा हिमपातका कारण सडक अवरुद्ध भएपछि हिउँ पन्छाउन जेसीबी परिचालन गरिएको थियो । तर, पटकपटकको हिमपात र कतिपय स्थानमा अत्यधिक हिउँ जमेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन भइरहेको छ । हिमपातले लिमी जाने सडक पनि अवरुद्ध हुम्लाको नाम्खा गाउँपालिकाको लिमी उपत्यका जाने सडकसमेत हिमपातका कारण अवरुद्ध भएको छ । सल्लीदेखि नालुपास हुँदै लिमी भ्याली जोड्ने सडकमा यातायात सञ्चालन हुन नसक्दा स्थानीयवासीको जनजीवन प्रभावित भएको हो । नाम्खा गाउँपालिकाको न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेपछि लिमीका तिल, हल्जी र जाङलगायत गाउँको आवतजावत प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीलाई उपचारका लागि बाहिर लैजान तथा अत्यावश्यक कामका लागि गाउँबाहिर जान समस्या भएको छ । सडकबाट आवतजावत गर्न नसक्ने अवस्था आएपछि बिरामीलाई उपचारका लागि बाहिर लैजानसमेत कठिनाइ हुने गरेको स्थानीयवासी बताउँछन् । सडक अवरुद्ध हुँदा स्थानीय होटल व्यवसायी तथा सुरक्षाकर्मीसमेत प्रभावित भएका छन् । लिमी उपत्यका कैलाश–मानसरोवर क्षेत्रको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । मानसरोवरको दर्शन तथा हिमाली क्षेत्रको भ्रमणमा जाने पर्यटकसमेत सडक अवरुद्ध हुँदा प्रभावित भएका छन् । लिमी जाने सडक प्रदेश सरकारअन्तर्गत पर्ने भएकाले सम्बन्धित निकायले हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । हिमपात जारी रहे सडक सञ्चालनमा थप ढिलाइ हुने जोखिम छ । सिमकोट–हिल्सा सडक र लिमी जाने सडक दुवै अवरुद्ध हुँदा उत्तरी हुम्लाको आवतजावत, व्यापार तथा पर्यटन प्रभावित बनेको छ । मौसम अनुकूल हुनेबित्तिकै अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चाडपर्व लक्षित निकुञ्जको सुरक्षा योजना : तालिमप्राप्त कुकुरबाट समेत निगरानी
चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । अहिले ...

ग्याङस्टारको कथा बेच्ने बलिउडलाई ग्याङस्टारबाटै खतरा
बलिउड र अन्डरवर्ल्डबीचको सम्बन्ध एकदमै रहस्यमयी छ । कतिपय बलिउड सेलिब्रेटीलाई अन्डरवर्ल्डले हरपल थर्कमान बनाइरहेको छ भने कतिपय सेलिब्रेटीको अन्डरवर्ल्डसँग हिमचिम रहेको खबर बेलाबखत आइरहन्छ । एकातिर बलिउड र अन्डरवर्ल्डबीच कडा दुश्मनी रहेको बताइन्छ भने अर्कोतिर कतिपय सिनेमामा अन्डरवर्ल्डकै लगानी रहने गरेको हल्ला पनि हुने गरेको छ । त्यसो त, बलिउडले धेरै पटक अन्डरवर्ल्डको कथालाई… ...

राजदूत नियुक्ति प्रकरण : गैरआवासीय नेपालीप्रति रास्वपाको दृष्टिकोण के हो ?
रास्वपाले गैरआवासीय नेपालीका मुद्दालाई आफ्नो घोषणापत्रमा समेटेको छ भने अब त्यसलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउने जिम्मेवारी पनि उसकै हो। घोषणापत्रमा व्यक्त प्रतिबद्धता कार्यान्वयनको स्पष्ट खाका, समयसीमा र मापनयोग्य उपलब्धिमार्फत प्रमाणित हुनुपर्छ। ...

दशैंको रमाइलोमा स्वास्थ्य नबिर्सनुस्, यस्ता छन् चिकित्सकका सुझाव
दशैंमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद चिकित्सक डा.सुवर्ण पौडेलले आग्रह गरेका छन् । चाडपर्वमा मासु तथा चिल्लो खानेकुराको अत्यधिक सेवन, मदिरापान, पर्याप्त पानी नपिउने र राति अबेरसम्म जाग्राम बस्ने बानीले पेट तथा मलद्वारसम्बन्धी समस्या बढाउन सक्ने उनले बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले चाडपर्वमा मानिसको खानपान र दिनचर्या सामान्य दिनको तुलनामा फरक हुने भए पनि ...


