नयाँ दिल्ली । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री शाहले राजघाटमा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आगन्तुक पुस्तिकामा आफ्नो सन्देश लेखेका छन्। उनले नेपालका जनता र सरकारका तर्फबाट गान्धीप्रति गहिरो सम्मान व्यक्त गर्दै गान्धीको जीवनले सत्यमा कुनै पनि शक्तिभन्दा अतुलनीय सामर्थ्य रहेको प्रमाणित गरेको उल्लेख गरेका छन्।

उनले भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै गान्धीको विरासतमा पनि त्यही अमर प्रकाश देखेको बताएका छन्। सत्य, करुणा र निःस्वार्थ सेवाको भावना गान्धीको जीवन तथा नेतृत्वको मूल आधार रहेको उनको सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री शाहले गान्धीको जीवनबाट करुणा नै सर्वोच्च शक्ति भएको र वास्तविक नेतृत्व समाजका सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवामा निहित रहेको सन्देश प्राप्त हुने बताएका छन्।

उनले नेपाल र भारत साझा भूगोलका कारण मात्रै नभई आस्था, संस्कृति, ऐतिहासिक विरासत र दीर्घकालीन मित्रताको सम्बन्धबाट पनि जोडिएको उल्लेख गरेका छन्। गान्धीको कालजयी आदर्शलाई सम्मान गर्दै नेपालले दुई देशबीचको सम्बन्धलाई इमानदारी, आपसी सम्मान र अटुट विश्वासका आधारमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको उनको सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री शाहले गान्धीका आदर्शले नेपाल र भारतको साझा यात्रालाई शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणतर्फ निरन्तर उज्यालो बनाइरहने विश्वास व्यक्त गरेका छन्।

उनले आगन्तुक पुस्तिकामा लेखेको सन्देशको अन्त्यमा गान्धीका आदर्शले साझा मार्गलाई शान्ति, न्याय र सद्भावको दिशामा प्रकाश दिइरहने कामना गरेका छन्।

सन्देशमा प्रधानमन्त्री बालेन्द्र शाहले २३ नोभेम्बर २०२६ को मिति उल्लेख गर्दै हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्दै यस्तो लेखे

Read Complete Original Article
Published originally on आर्थिक न्यूज