भोजपुर। बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले राम्रोसँग पाक्न नपाउँदै हरियो मस्याङ काटेर थन्क्याउन थालेका छन् । धानबाली भित्र्याउने चटारोका बीच खेतको आलीमा लगाएको मस्याङ बाँदरबाट जोगाउन नसकेपछि किसान समयअगावै बाली भित्र्याउन बाध्य भएका हुन् । रामप्रसाद राई गाउँपालिका–४ दलगाउँकी किसान गोमादेवी कार्कीले बाँदरका कारण खेतमा लगाएको मस्याङ जोगाउन समस्या भएको बताइन् । धानसँगै खेतको आलीमा मस्याङ खेती गरेकी उनले धान भित्र्याइसकेपछि बाँदरबाट बाली जोगाउन झनै कठिन हुने भएकाले कोसा राम्ररी नपाक्दै काट्नुपर्ने अवस्था आएको बताइन् । भोजपुर नगरपालिका–५ बोखिमकी किसान कमला थापाले पनि बाँदरले मस्याङमा क्षति पुर्याएको बताइन् । धान थन्क्याउने काममा व्यस्त हुनुपर्दा बाँदरको निगरानी गर्न नसकिएको उनको भनाइ छ । उनले करिब १४ रोपनी खेतको आलीमा मस्याङ खेती गरेकी छन् । आलीमा लगाएको मस्याङ बाँदरले सखाप पारेपछि बाँकी रहेको बालीसमेत हरियो अवस्थामै काट्नुपरेको उनले सुनाइन् । यस वर्ष डेढ मुरी मस्याङ उत्पादन हुने अनुमान गरेकी थापाले समयअगावै काट्नुपर्दा उत्पादनमा केही कमी आउने बताइन् । उनका अनुसार मस्याङ स्थानीय बजारमा प्रतिकिलो १८० देखि २०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । समयमै राम्रोसँग पाक्न पाए उत्पादनबाट राम्रो आम्दानी गर्न सकिने भए पनि बाँदरको समस्याले किसानको अपेक्षामा असर पारेको उनको भनाइ छ । धानबालीसँगै खेतको आलीमा मस्याङ लगाएर अतिरिक्त आम्दानी गर्ने उद्देश्य राखेका किसान बाँदरको त्रासले समयअगावै बाली भित्र्याउन बाध्य भएका छन् । सामान्यतया मस्याङका कोसा राम्रोसँग सुकेपछि मात्र काटेर भण्डारण गर्ने गरिन्छ । तर, बाँदरबाट हुने क्षति रोक्न किसानले हरियो अवस्थामै बाली काट्न थालेका छन् । अपरिपक्व अवस्थामै काट्दा दाना राम्रोसँग नपाक्ने, तौल घट्ने र उत्पादनको गुणस्तरमा असर पर्ने किसानको चिन्ता छ ।
बाँदरको त्रासले मस्याङ नपाक्दै काट्न बाध्य भोजपुरका किसान

Read Complete Original Article
Published originally on नेपालन्युज





