Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/प्रचण्डको दुईमहिने जागरण अभियान : जनताका गुनासा सुन्न गाउँ–टोल पुग्ने घोषणा

प्रचण्डको दुईमहिने जागरण अभियान : जनताका गुनासा सुन्न गाउँ–टोल पुग्ने घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रचण्डको दुईमहिने जागरण अभियान : जनताका गुनासा सुन्न गाउँ–टोल पुग्ने घोषणा

महँगी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध आवाज उठाउनेदेखि पार्टी रूपान्तरणसम्मका एजेन्डा काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महँगी, बेरोजगारी, भ्रष्टाचार र जनजीविकाका समस्या उठाउँदै पार्टीलाई जनतासँग थप जोड्ने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान घोषणा गर्नुभएको छ । कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोलसम्म पुगेर जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्ने उहाँले बताउनुभएको छ । अभियानको घोषणा गर्दै जारी गर्नुभएको अपिलमा संयोजक प्रचण्डले दुईतिहाइको सरकारबाट जनताले अपेक्षाअनुसार परिणाम प्राप्त गर्न नसकेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार सरकारप्रति जनताको निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ । “ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ,” उहाँले अपिलमा उल्लेख गर्नुभएको छ । महँगीका कारण जनजीवन कष्टकर बनेको, बेरोजगारी र युवा पलायन बढिरहेको तथा किसान, मजदुर, उद्यमी र व्यवसायीले विभिन्न कठिनाइ भोगिरहेको उहाँको भनाइ छ । जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएको पनि उहाँले उल्लेख गर्नुभएको छ । जनताका समस्या समाधानका लागि गाउँ–टोल पुग्ने संयोजक प्रचण्डले राष्ट्रिय जागरण अभियानलाई संगठन विस्तार र सुदृढीकरणमा मात्र सीमित नराखी जनताका वास्तविक समस्या पहिचान गर्ने तथा समाधानका लागि पहल गर्ने कार्यक्रमका रूपमा अघि बढाइने बताउनुभएको छ । अभियानका क्रममा किसान, श्रमिक, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक समुदाय, शिक्षक, कर्मचारी, बुद्धिजीवी तथा निजी क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरिने उहाँले जानकारी दिनुभएको छ । महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य तथा अनुभव सङ्कलन गरिने अपिलमा उल्लेख छ । “हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो,” उहाँले भन्नुभएको छ । उहाँका अनुसार जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने, स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष समस्या पुर्‍याउने तथा समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाइनेछ । पार्टी जनताबाट टाढिएको स्वीकारोक्ति संयोजक प्रचण्डले कम्युनिष्ट पार्टीको आधार मानिने किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको स्वीकार गर्नुभएको छ । पार्टीभित्र जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको उहाँको भनाइ छ । “जनताको जीवन र अपेक्षासँग नजोडिएको राजनीति दिगो हुन सक्दैन भन्ने कुरा आत्मसात् गर्नु जरुरी छ,” उहाँले अपिलमा उल्लेख गर्नुभएको छ । विगतका कामको समीक्षा गर्दै पार्टीका गल्ती र कमजोरीप्रति आत्मालोचित हुनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभएको छ । जनताको विश्वास र भरोसा बलियो बनाउन पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो व्यवहार र कार्यशैली सुधार्नुपर्ने उहाँको जोड छ । “जनताको विश्वास भाषणबाट होइन, व्यवहार र कामबाट आर्जन गर्नुपर्छ भन्ने मान्यतामा हामी दृढ छौँ,” उहाँले भन्नुभएको छ । अभियानसँगै पार्टी सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्ने योजना पनि अघि सारिएको उहाँले बताउनुभएको छ । संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै फरक मतप्रति असहिष्णु व्यवहार, अभिव्यक्ति स्वतन्त्रतामाथिको रोकावट र लोकतान्त्रिक संस्था तथा नागरिक अधिकारमाथि हस्तक्षेप हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभएको छ । नयाँ र पुरानाको कृत्रिम विभाजनबाट सामाजिक घृणा बढाउने तथा नागरिकका राजनीतिक अधिकार सङ्कुचित गर्ने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाएको उहाँको भनाइ छ । “यसले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता तथा उपरोक्त ऐतिहासिक उपलब्धिहरूलाई संस्थागत गर्न बनेको संविधानमाथि समेत खतरा उत्पन्न भएको छ,” उहाँले अपिलमा उल्लेख गर्नुभएको छ । उहाँले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा तथा राष्ट्रिय हितअनुसार स्वतन्त्र निर्णय गर्ने क्षमताको विकासमा जोड दिनुभएको छ । भोटेकोशी बाढीको उद्धारमा लापरबाही भएको भन्दै आपत्ति संयोजक प्रचण्डले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनाको विषयलाई पनि अभियानको प्राथमिकतासँग जोड्नुभएको छ । विशेषगरी रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता नागरिकको खोज र उद्धारमा देखिएको लापरबाहीप्रति उहाँले गम्भीर आपत्ति जनाउनुभएको छ । “विपद्को समयमा नागरिकको जीवनरक्षा गर्नु राज्यको पहिलो र प्रमुख दायित्व हो,” उहाँले भन्नुभएको छ । बेपत्ता नागरिकको खोज तथा उद्धारमा ढिलाइ नगर्न, उपलब्ध स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गर्न तथा आवश्यकताअनुसार मित्रराष्ट्रबाट प्राप्त हुन सक्ने प्राविधिक सहयोग समयमै स्वीकार गर्न उहाँले सरकारलाई आग्रह गर्नुभएको छ । विपद् प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, विस्थापितलाई सुरक्षित पुनःस्थापना गर्न र क्षतिग्रस्त सडक, खानेपानी, पुल, सञ्चार तथा विद्युत् संरचनाको शीघ्र पुनर्निर्माण गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । समाजवादलाई उत्पादन र रोजगारीसँग जोड्ने नेपाली कम्युनिष्ट पार्टीले जनताका आधारभूत समस्याको दीर्घकालीन समाधान समाजवाद निर्माणको दिशामा अघि बढेर मात्र सम्भव हुने विश्वास व्यक्त गरेको छ । संयोजक प्रचण्डले समाजवादलाई नारामा सीमित नराखी आर्थिक असमानता र शोषण अन्त्य गर्ने, श्रमको सम्मान स्थापित गर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्यका रूपमा व्याख्या गर्नुभएको छ । “समाजवाद हाम्रो लागि केवल नारा होइन, आर्थिक असमानता र शोषण अन्त्य गर्ने, श्रमको सम्मान स्थापित गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्य हो,” उहाँले भन्नुभएको छ । उहाँले कृषि तथा उद्योगको आधुनिकीकरण, राष्ट्रिय पुँजीको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिनुभएको छ । पार्टीका नेता तथा कार्यकर्ताले स्थानीय विशेषताअनुसार श्रम र उत्पादनमार्फत जनतासँग जोडिने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । अभियानमार्फत राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका समस्या समाधान, पार्टीको रूपान्तरण तथा समाजवाद निर्माणको आधार तयार पार्ने लक्ष्य राखिएको उहाँले बताउनुभएको छ । अन्त्यमा संयोजक प्रचण्डले आम नेपाली जनसमुदाय, विभिन्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेसागत समुदाय तथा निजी क्षेत्रलाई राष्ट्रिय हित र जनजीविकाका साझा सवालमा संवाद र सहकार्य गर्न आह्वान गर्नुभएको छ । उहाँले महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा विपद् प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन पनि आग्रह गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

राइजिङ स्टार्स एसिया कप : समूह चरणमै भारत र पाकिस्तान ‘ए’ नेपालको भेट
राजनीतिJust now

राइजिङ स्टार्स एसिया कप : समूह चरणमै भारत र पाकिस्तान ‘ए’ नेपालको भेट

कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने एसिसी राइजिङ स्टार्स मेन्स एसिया कपमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई पनि छन् ।  नेपालले नोभेम्बर २० मा भारत ‘ए’, २२ मा यूएई र २४ मा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । अर्को समूहमा बङ्गलादेश ‘ए’, श्रीलङ्का ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् । ...

फरकधार
राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : अध्यक्ष बिजुक्छे
राजनीतिJust now

राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन् । राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । भक्तपुरमा शनिबार सम्पन्न २ दिने ४६औँ नेपालभाषा साहित्य त:मुंज्याको समापन समारोहमा उनले राजनीतिक क्षेत्रमा सफल […] ...

काठमाण्डुपाटी
देशभर २४ घण्टामा २० विपद्का घटना, आठजना घाइते
राजनीतिJust now

देशभर २४ घण्टामा २० विपद्का घटना, आठजना घाइते

देशभर पछिल्लो २४ घण्टामा २० वटा विपद्का घटना हुँदा आठजना घाइते भएका छन् । ती घटनाबाट करिब २४ लाख १५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।   प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि कात्तिक ७ गतेसम्म विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो र जनावरको आक्रमणका घटना भएका हुन् । प्राधिकरणका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play