प्रचण्डको अपिल- निरंकुशता र अराजकताको विरोध गरौँ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिता जनाउन आम नेपाली जनसमुदायलाई अपिल गरेका छन् । देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण तथा जनजीविकाका समस्या समाधानका लागि अभियान सञ्चालन गर्न लागिएको बताएका छन् । नेकपाले आजदेखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अपिलमा वर्तमान सरकारले जनताको अपेक्षाअनुसार परिणाम दिन नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढेको उल्लेख गरिएको छ । महँगी, बेरोजगारी र युवा पलायन बढिरहेको तथा किसान, मजदुर, उद्यमी र व्यवसायीले विभिन्न कठिनाइ भोगिरहेको भन्दै पार्टीले जनजीविकाका सवाललाई प्राथमिकतामा राख्ने जनाएको छ । त्यस्तै, फरक मतप्रति असहिष्णु व्यवहार, अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाउने प्रवृत्ति तथा लोकतान्त्रिक संस्था, ट्रेड युनियन, विद्यार्थी संगठन, निजी क्षेत्र र नागरिक अधिकारमाथिको हस्तक्षेपप्रति पनि पार्टीले चिन्ता व्यक्त गरेको छ । यस्ता प्रवृत्तिले संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता र संविधानका उपलब्धिमाथि खतरा उत्पन्न गरेको अपिलमा दाबी गरिएको छ । अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र टोलसम्म पुगेर किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक समुदाय, बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा उद्यमी–व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने जनाइएको छ । निरंकुशता र अराजकताको विरोध गर्दै महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य तथा अनुभव सङ्कलन गरिने पार्टीले जनाएको छ । जनताबाट प्राप्त गुनासा र सुझावलाई सम्बन्धित स्थानीय, प्रदेश तथा संघीय निकायसम्म पुर्याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र बुझाउने र समाधानका लागि निरन्तर पहल गर्ने पनि अपिलमा उल्लेख छ । गुनासाको अभिलेख राख्ने र समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाइने पार्टीको भनाइ छ । यसैगरी, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता नागरिकको खोज, उद्धार र राहत कार्यमा देखिएको लापरबाहीप्रति नेपाली कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ । विपद्का बेला नागरिकको जीवनरक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै पार्टीले उपलब्ध स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गरी बेपत्ता नागरिकको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन माग गरेको छ । विपद् प्रभावितलाई तत्काल राहत, विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना तथा सडक, खानेपानी, पुल, सञ्चार र विद्युत्लगायत क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रको क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत, पुनर्स्थापना र पुनर्निर्माणका काम पारदर्शी, प्रभावकारी र समयबद्ध रूपमा अघि बढाउन पार्टीले आग्रह गरेको छ । प्रचण्डले समाजवादलाई केवल नाराका रूपमा नभई आर्थिक असमानता र शोषण अन्त्य गर्ने, श्रमको सम्मान स्थापित गर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्यका रूपमा व्याख्या गरेका छन् । राष्ट्रिय उत्पादन वृद्धि, कृषि तथा उद्योगको आधुनिकीकरण, रोजगारी सिर्जना, राष्ट्रिय पुँजीको विकास र स्रोतसाधनको न्यायपूर्ण वितरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ छ । अभियानसँगै पार्टीको सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गरिने जनाइएको छ । पार्टीका नेता तथा कार्यकर्तालाई जनतामाझ विनम्रतापूर्वक जान, आलोचना स्वीकार गर्न र आफ्ना कमजोरी सच्याउन पनि प्रचण्डले आग्रह गरेका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

टीका लगाइदिँदै देउवाले चिरिबाबुलाई भने– ‘पहिलो हुनुभयो, बधाई !’
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई निवर्तमान सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् । दसैंको टीका लगाउन शनिबार देउवा निवास पुगेका महर्जनलाई देउवाले ‘नेपालमै पहिलो हुनुभयो, बधाई छ’ भन्दै बधाई दिएका हुन् । महर्जनका अनुसार उनी हरेक वर्ष दसैंमा देउवाको हातबाट टीका लगाउन जाने गर्छन् । यस वर्ष […] ...

दुई तिहाइको सरकारले जनअपेक्षा पूरा नगरेपछि जागरण अभियान : दाहाल
अभियानको उद्घाटन गर्दै शनिबार दाहालले संविधान र लोकतन्त्रको रक्षा गर्न, महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरंकुशता र अराजकताको विरोध गर्न आह्वान गरेका हुन् । ...

६ वर्षीय बालकको हत्या आरोपमा एक व्यक्ति पक्राउ
बाँफिकोट गाउँपालिका–२ स्वारा बस्ने बल बहादुर नाथको छोरा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्त बहादुर नाथलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। भक्त बहादुरले शुक्रबार साँझ ढुङ्गा प्रहार गर्दा रमेश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पिपलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। गम्भीर घाइते भएका रमे... ...

दशैंमा मापसे–लापसे गरेर गाडी चलाउने १ हजार ३७ चालक प्रहरीको फन्दामा
काठमाडौं । दशैंको समयमा काठमाडौं उपत्यकामा मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने एक हजार ३७ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। चाडपर्वमा यात्रुको चाप बढेका बेला नियम उल्लङ्घन गर्दै सवारी चलाउने चालकको यो सङ्ख्याले सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्मको १४ दिनमा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार ...


