भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को शाखा नेपालमा स्थापना गर्ने तयारीसँगै प्रस्तावित संस्थाको सञ्चालन मोडालिटी, शैक्षिक गुणस्तर, शुल्क र नेपालीको सहभागिताबारे बहस सुरु भएको छ । इन्जिनियरिङ क्षेत्रका विज्ञहरूले आइआइटी स्थापना गर्दा नेपाली विज्ञ तथा प्राध्यापकको सहभागिता, संस्थाको स्वायत्तता र नेपालको आवश्यकताअनुसारको पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । यसैगरी उनिहरुले शैक्षिक शुल्कको बारेमापनि चासो व्यक्त गरेका छन् । भारतीय संस्थाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि डलरमा शुल्क लिने व्यवस्था गरेमा नेपाली विद्यार्थीको पहुँच सीमित हुन सक्ने उनिहरुको भनाइ छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सम्झौताले यसको ढोका खुलेको हो । सम्झौता अनुसार नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोलिने छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरविन्द मिश्रले नेपालमा आइआइटी स्थापना हुनु सकारात्मक रहेको बताउँदै यसका सञ्चालन प्रक्रियाका बारेमा सोच्नुपर्ने बताए । उनका अनुसार भारतीय आइआइटीको गुणस्तर र अनुसन्धान क्षमता महत्त्वपूर्ण भए पनि त्यसको शुल्क नेपाली विद्यार्थीका लागि महँगो हुन सक्ने जोखिम हुनसक्छ । नेपालले आफु अनुकुल रुपमा यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताउँदै भारत सरकार र नेपाल सरकारले सहकार्य गरी सहुलियतपूर्ण शुल्कमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने उनले बताए । ‘नेपालका लागि आइआइटी महत्त्वपूर्ण छ । तर, गुणस्तर मात्रै भएर हुँदैन, विद्यार्थीले धान्न सक्ने शुल्क पनि हुनुपर्छ,’ मिश्रको भनाइ छ । इन्जिनियर्स एसोसिएसनका पूर्वअध्यक्ष किशोर शाक्यले नेपालमा आइआइटी स्थापना हुनु सकारात्मक भए पनि यसको सञ्चालनमा नेपाली पक्षको सहभागिता सुनिश्चित हुनुपर्ने बताए । उनका अनुसार आइआइटी विश्वस्तरमा मान्यता प्राप्त उच्चस्तरीय इन्जिनियरिङ शिक्षण संस्था भएकाले त्यसको शैक्षिक मापदण्डअनुसार अध्ययनको अवसर नेपालमै उपलब्ध हुनु महत्त्वपूर्ण हुनेछ । तर, भारतीय पक्षले मात्रै सम्पूर्ण व्यवस्थापन र सञ्चालन गर्ने हो भने नेपालले अपेक्षित लाभ लिन नसक्ने उनको भनाइ छ । संस्थामा नेपाली प्राध्यापक, विज्ञ तथा दक्ष जनशक्तिलाई पनि सहभागी गराउने व्यवस्था हुनुपर्ने उनले बताए । ‘इन्जिनियरिङ कलेज स्थापना गरेर मात्रै हुँदैन, त्यसको व्यवस्थापनमा पनि नेपालीको सहभागिता हुनुपर्छ,’ शाक्यले भने, ’नेपाली विज्ञ र शिक्षकलाई पनि उपयोग गर्ने व्यवस्था गर्नुपर्छ । सबै जिम्मेवारी भारतीय पक्षलाई मात्रै दिनु हुँदैन ।’ उनले भारतको आइआइटी कानपुरलगायत संस्थाको शैक्षिक स्तर राम्रो रहेको उल्लेख गर्दै त्यस्तै गुणस्तरको शिक्षा नेपालमै उपलब्ध गराउन सके त्यसले नेपाली विद्यार्थी र इन्जिनियरिङ क्षेत्र दुवैलाई फाइदा पुग्ने बताए । नेपालकै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि दक्ष शिक्षक र प्रतिभाशाली विद्यार्थी रहेको भन्दै राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको टिप्पणी छ । यद्यपि, प्रस्तावित आइआइटीको पाठ्यक्रम, शुल्क, प्रमाणपत्र तथा व्यवस्थापनको स्वरूपबारे स्पष्ट हुनुपर्ने उनको भनाइ छ । भारतीय पाठ्यक्रम र शैक्षिक मापदण्ड लागू हुने भए पनि नेपाली विद्यार्थीले सहज रूपमा अध्ययन गर्न सक्ने शुल्क संरचना बनाउनुपर्ने उनले बताए । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का पूर्ववरिष्ठ सल्लाहकार डा. ई. कमल रिजालले भने प्रस्तावित संस्थाको सञ्चालन स्वायत्त संरचनाबाट हुनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार संस्थाको नेतृत्व र शैक्षिक निर्णयमा राजनीतिक तथा प्रशासनिक हस्तक्षेप हुन नदिन नेपाली र भारतीय प्रतिनिधि सम्मिलित स्वायत्त सञ्चालक समिति बनाउनुपर्छ । रेक्टर वा उपकुलपतिजस्ता नेतृत्व चयन र संस्थाको शैक्षिक व्यवस्थापनमा पनि स्वायत्तता सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ । रिजालले आइआइटीको पाठ्यक्रम जस्ताको तस्तै नेपालमा लागू गर्नुभन्दा नेपालको भौगोलिक अवस्था, विकासका आवश्यकता र प्राविधिक चुनौतीअनुसार परिमार्जन गर्नुपर्ने बताए । नेपालका लागि हिमाली तथा पहाडी पूर्वाधार, सुरुङ इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक इन्जिनियरिङजस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । नेपालको भौगोलिक बनावट र विकासको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सके मात्रै यस्तो संस्थाले देशको विकासमा प्रत्यक्ष योगदान दिन सक्ने उनको भनाइ छ । साथै विदेशी विद्यार्थीलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरमा उपयोगी हुने विषय तथा ऐच्छिक पाठ्यक्रम पनि समेट्नुपर्ने उनले बताए । उनले भारतका आइआइटी तथा पहाडी क्षेत्रको विकासमा विशेषज्ञता हासिल गरेका संस्थासँग सहकार्य गर्न सकिने धारणा राखेका छन् । त्यसबाहेक अन्य अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग पनि शैक्षिक तथा अनुसन्धान साझेदारी विस्तार गर्नुपर्ने उनको सुझाव छ । सैद्धान्तिक ज्ञानमा मात्रै सीमित नरही विद्यार्थीलाई व्यावहारिक अनुभव दिलाउन अनिवार्य तीनमहिने इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने रिजालको प्रस्ताव छ । सरकारी निकाय तथा स्थानीय समुदायसँग सहकार्य गरी विद्यार्थीलाई फिल्डमा खटाउने र उनीहरूको ज्ञानलाई विकास निर्माणका परियोजनासँग जोड्नुपर्ने उनले बताए । यसले विद्यार्थीलाई व्यावहारिक सीप प्रदान गर्नुका साथै स्थानीय तहका विकास समस्या समाधान गर्न र दिगो पूर्वाधार निर्माणमा समेत सहयोग पुग्ने उनको अपेक्षा छ ।
नेपालमा आइआइटी खुल्दै, विज्ञको प्रश्न– नेपालीले पढ्न सक्ने शुल्क हुन्छ कि हुँदैन ?

Read Complete Original Article
Published originally on पर्दाफास






