नेपालका बाढीपीडितलाई भुटानी अमेरिकी समुदायको एक लाख १५ हजार डलर सहयोग

ओहायो, अमेरिका । नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकास्थित भुटानी नेपाली समुदायको पहलमा एक लाख १५ हजार ५६८ अमेरिकी डलर एक सेन्ट संकलन गरिएको छ । विभिन्न राज्यका संघसंस्था, दाता र स्वयंसेवकको सहभागितामा जुटाइएको रकम प्रधानमन्त्री राहत कोष र नेपाल रेडक्रस सोसाइटीलाई पठाइसकिएको भुटानी कम्युनिटी सेन्टर अफ सेन्ट्रल ओहायो (बीसीसीओ) ले जनाएको छ । ‘भुटानी अमेरिकन्स युनाइटेड फर नेपाल फ्लड रिलिफ’ अभियानअन्तर्गत संकलित सहयोगको प्रतीकात्मक चेक आइतबार ओहायोस्थित लिकिङ हाइट्स मिडिल स्कुलमा आयोजित समारोहमा अमेरिकास्थित नेपाली कार्यवाहक राजदूत शरदराज आरणसमक्ष हस्तान्तरण गरिएको हो । कार्यक्रमको व्यवस्थापन बीसीसीओले गरेको थियो । समारोहमा प्रस्तुत वित्तीय विवरणअनुसार एक लाख नौ हजार ५४ डलर ६७ सेन्ट प्रधानमन्त्री राहत कोषमा र ६ हजार ५१३ डलर ३४ सेन्ट नेपाल रेडक्रस सोसाइटीलाई पठाइएको छ । सम्बन्धित निकायका बैंक खातामा रकम यसअघि नै पठाइसकिएकाले समारोहमा प्रतीकात्मक चेक हस्तान्तरण गरी सहयोगको विवरण सार्वजनिक गरिएको आयोजकले स्पष्ट पारेको छ । कार्यक्रममा कार्यवाहक राजदूत आरणले राहत अभियानमा योगदान गर्ने दाता, संघसंस्था, स्वयंसेवक र समुदायका सदस्यप्रति आभार व्यक्त गरेको आयोजकले जनाएको छ । आयोजककाअनुसार उनले विपद्का बेला नेपालप्रति भुटानी नेपाली समुदायले देखाएको सद्भाव र ऐक्यबद्धताको प्रशंसा गरेका थिए । आरणले नेपालमा बाँकी रहेका शरणार्थीसम्बन्धी समस्याको विषयसमेत उठाएका थिए । उक्त समस्या समाधानका लागि नेपाल सरकारले आवश्यक पहल गर्नुपर्ने धारणा उनले राखेको आयोजकले जनाएको छ । रेनोल्ड्सबर्ग सिटी काउन्सिलका अध्यक्ष तथा सामुदायिक अगुवा भुवन प्याकुरेलका अनुसार नेपालमा बाढीले पुर्याएको क्षतिको खबर सार्वजनिक भएपछि अमेरिकाका विभिन्न राज्यमा रहेका भुटानी नेपाली समुदायका सदस्य र संघसंस्था राहत अभियानमा जोडिएका थिए । ओहायो, पेन्सिलभेनिया, विस्कान्सिनलगायत राज्यबाट सहयोग जुटेको उनले जानकारी दिए । “हामी अमेरिकाका फरक-फरक राज्यहरूमा छरिएर रहेका भए पनि नेपालको पीडाले हामी सबैलाई एकै ठाउँमा ल्यायो। युवा, महिला, व्यवसायी र स्थानीय संघसंस्था सबैले दिनरात नभनी अभियानमा खटेका थियौँ,” प्याकुरेलले भने । बाढीप्रभावित परिवारलाई सहयोग पुर्याउने प्रयासमा समुदायका विभिन्न पुस्ता र क्षेत्रका सदस्य सहभागी भएको उनले बताए । बीसीसीओले पनि अभियानले आर्थिक सहयोग जुटाउनुका साथै विभिन्न राज्यमा बसोबास गर्ने समुदायलाई साझा मानवीय उद्देश्यमा एकजुट बनाएको जनाएको छ । समारोहमा उपस्थित साहित्यकार राधाप्रिया शर्माले हिटा संवाददातासँगको कुराकानीमा अभियानको सफलताको श्रेय सहयोगमा जुटेका सबै दाता, स्वयंसेवक, आयोजक र समर्थकलाई जाने बताइन् । संकटमा परेका परिवारप्रति समुदायले देखाएको करुणा र ऐक्यबद्धताले भौगोलिक दूरीले मानवीय सम्बन्धलाई कमजोर बनाउन नसक्ने सन्देश दिएको उनले उल्लेख गरिन् । अभियानमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइएको उल्लेख गर्दै शर्माले संकलित सम्पूर्ण रकम नेपालका बाढीप्रभावित समुदायको सहयोगका लागि पठाइएको र आयोजकले कुनै रकम आफूसँग नराखेको बताइन्। समुदाय एकजुट हुँदा सानो योगदानले पनि अर्थपूर्ण परिवर्तन ल्याउन सक्ने उनको भनाइ थियो । समारोहमा बीसीसीओका बोर्ड सदस्य झुमा नाथ आचार्यले राहत संकलन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । उनले अभियान सञ्चालनका लागि गठित राहत संकलन तदर्थ समितिले जिम्मेवारी पूरा गरेपछि त्यसलाई विघटन गरिएको जानकारी दिए । अभियानको आर्थिक विवरण वा अन्य विषयमा थप जानकारी तथा स्पष्टीकरण आवश्यक परे बीसीसीओसँग सम्पर्क गर्न उनले आग्रह गरेका छन् । कार्यक्रममा प्याकुरेलले स्वागत मन्तव्य दिएका थिए भने कमल धिमालले अभियानको उद्देश्यबारे जानकारी दिँदै अतिथिहरूको परिचय गराएका थिए । समुदायका तर्फबाट भर्जिनियाका सामुदायिक अगुवा बाल थापा र एक्रोन-क्लिभल्यान्डका हेमन्त तिर्वाले मन्तव्य राखेका थिए । रिस्ता सापकोटाले विशेष मन्तव्य राखेकी थिइन् । प्याकुरेलले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए । ‘युनाइटेड हार्ट्स, सपोर्टिङ नेपाल, टुगेदर वी मेक अ डिफरेन्स’ अर्थात् ‘एकताबद्ध मन, नेपालको साथ : मिलेर परिवर्तन ल्याऔँ’ भन्ने भावको नारासहित अभियान सञ्चालन गरिएको थियो । आयोजकले राहत संकलनमा सहभागी दाता, संघसंस्था, स्वयंसेवक, सामुदायिक अगुवा र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । विस्थापन र पुनर्स्थापनाको अनुभव बोकेको भुटानी नेपाली अमेरिकी समुदाय यस अभियानमार्फत नेपालका विपद्प्रभावित परिवारको सहयोगमा जुटेको हो । विभिन्न राज्यमा छरिएर रहेका समुदायका सदस्यको साथ र सहभागिताबाट राहत रकम संकलन सम्भव भएको आयोजकले जनाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

ड्रोनबाट राहत वितरण
काठमाडौं।बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दशैंका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट ...

रहस्यमय ‘सारथी’को टिजर : यस्तो अवस्थामा देखिइन् निरुता सिंह
फिल्म ‘सारथी’को टिजर सार्वजनिक भएको छ। निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर कात्तिक २ मा फिल्मको टिजर सार्वजनिक गरिएको हो। जसमा काउब्वाय ह्याट, हातमा लालटिन र रहस्यमय हाउभाउमा छन्। जंगलको अँध्यारो बाटोमा हिँडिरहेका डेब्यु अभिनेता गिरि विश्वकर्मा र अभिनेत्री निरुता सिंहबिचको सम्बन्ध के हो? गिरिले निरुतालाई ‘आमा’ भनेर सम्बोध... ...
![सवारीसाधन पूजा [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/sabari-puja-83-7-3%20(5).jpg)
सवारीसाधन पूजा [तस्बिरहरू]
यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ। ...

दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?
काठमाडौं। दसैँको समयमा नेपाली भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्छन्। मासु प्रोटिन, खनिज तत्व, भिटामिन बी, जिंक र पोटासियमको राम्रो स्रोत भए पनि यसको अत्यधिक र असन्तुलित उपभोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। पोषणविद् रुजु खड्काका अनुसार मासुलाई सही ढंगले नपकाउँदा र धेरै खाँदा पाचन प्रणालीमा समस्या, टाउको दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने जस्ता समस्या देखिन सक्छन्। लामो समयसम्म ...


