नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु निर्वाचनमा पराजय भोग्नुको प्रमुख कारण रहेको निष्कर्ष सुनाएका छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले पार्टीले राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न नसकेको, आन्तरिक एकता कायम गर्न नसकेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेको बताएका हुन् । उनले पार्टीभित्रको विभाजन, संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवाद नियन्त्रण गर्न नसक्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकिएको बताए । सामाजिक सञ्जालबाट फैलिएको भ्रम र कथित ‘डीप स्टेट’ को षड्यन्त्र चिर्न नसक्नु पनि पराजयको कारण रहेको उनको भनाइ छ । थापाले विगतका निर्वाचनमा पार्टीले प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्दै आन्तरिक एकता कायम गरेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेको अवस्थामा सफलता हासिल गरेको स्मरण गरे । नेतृत्वको वरिपरि एकताबद्ध हुँदा पार्टी बलियो हुने तर नेतृत्वविरुद्ध उभिँदा दुवै पक्षले क्षति व्यहोर्नुपर्ने उनको टिप्पणी थियो । ‘विगतको निर्वाचनमा हामीले राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न सकेनौँ, आन्तरिक एकता कायम गर्न सकेनौँ र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सकेनौँ । साथै, सामाजिक सञ्जालको भ्रम, कथित डीप स्टेटको षड्यन्त्र, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई नियन्त्रण गर्न सकेनौँ,’ उनले भने । उनले केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेर निष्कर्ष निकालेको उल्लेख गर्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सम्बोधनका क्रममा थापाले पछिल्लो समय भूराजनीतिक शक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको र पपुलिस्ट शक्तिहरूभित्र आन्तरिक सत्ता संघर्ष चर्किरहेको बताए । लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढ्दै गएको तथा जनतामा रहेको भ्रम हट्दै असन्तुष्टि र आक्रोश बढिरहेको उनको विश्लेषण थियो । उनले संसदीय, सडक र कानुनी संघर्षका माध्यमबाट फासीवादको प्रतिवाद गर्नुपर्ने धारणा राखे । संविधान, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबै मोर्चामा एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताए । थापाले विगतका कमजोरीबाट शिक्षा लिँदै पार्टीले तय गरेका निष्कर्ष कार्यान्वयन गर्नुपर्ने बताए । ‘जब हामीले आपसी सहकार्य र एकता कायम गर्यौँ, जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्यौँ र नेतृत्वको वरिपरि गोलबन्द भयौँ, तब सफलता प्राप्त गरेका छौँ । यी विगतका अनुभवबाट शिक्षा लिन आवश्यक छ,’ उनले भने । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि एकता, संघर्ष र विजयको विकल्प नरहेको उल्लेख गर्दै थापाले पार्टीका नेता तथा कार्यकर्तालाई दृढतापूर्वक अघि बढ्न आह्वान गरे ।
नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष

Read Complete Original Article
Published originally on पर्दाफास






