Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

नरेशको क्रुरताको पराकाष्टा : ममताको शव टुक्राटुक्रा पारेर फोहोर फाल्ने ठाउँमा हालेको स्वीकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
नरेशको क्रुरताको पराकाष्टा : ममताको शव टुक्राटुक्रा पारेर फोहोर फाल्ने ठाउँमा हालेको स्वीकार
Photo / Coverage: जनताटाइम्स

अमेरिका (भर्जिनिया) कात्तिक २१। दुई वर्षअघि अमेरिकाको भर्जिनियाबाट रहस्यमय ढंगले बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टको घटनाले नयाँ मोड लिएको छ । पत्नी हराएको भन्दै प्रहरी र आफन्तलाई जवाफ दिँदै आएका नरेश भट्टले अन्ततः अदालतमा पत्नीको शव आफूले टुक्राटुक्रा पारेको र फोहोरका झोलामा राखेर विसर्जन गरेको स्वीकार गरेका छन्। तर उनले पत्नी ममताको हत्या गरेको आरोप भने अस्वीकार गरेका छन्। अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा चलिरहेको हत्यासम्बन्धी मुद्दामा नोभेम्बर ४ र ५ मा बयान दिँदै नरेशले आफूले पत्नी ममताको शव आरा प्रयोग गरेर काटेको स्वीकार गरेका हुन्। भट्टको बयानले सन् २०२४ जुलाईमा ममता बेपत्ता भएको घटनाको दुई वर्षदेखिको रहस्यमा नयाँ तथ्य उजागर गरेको छ । तर ममताको मृत्यु कसरी भयो ?, उनको हत्या कसले गर्यो ? र शव कहाँ विसर्जन गरियो भन्ने मुख्य प्रश्न भने अझै रहष्यको गर्वमै रहेका छन । अदालतमा नरेशले ममता आफैँले विष सेवन गरेर आत्महत्या गरेको दाबी गरेका छन् । आफूले उनको शव फेला पारेपछि डर र त्रासका कारण प्रहरीलाई खबर नगरेको तथा शव लुकाउने निर्णय गरेको नरेशको जिकिर छ । अभियोजन पक्षले भने नरेशले नै ममताको हत्या गरी शव टुक्राटुक्रा पारेको दाबी गर्दै आएको छ । शव नभेटिए पनि रगतको डीएनए परीक्षण, सीसीटीभी दृश्य, डिजिटल गतिविधि, घरभित्रका प्रमाण र नरेशका विरोधाभासपूर्ण बयानले हत्या पुष्टि गर्ने अभियोजन पक्षको तर्क छ । यो मुद्दा अहिले अमेरिकाको नेपाली समुदाय मात्र होइन, शव बरामद नभएको अवस्थामा पनि वैज्ञानिक तथा परिस्थितिजन्य प्रमाणका आधारमा हत्या कसरी प्रमाणित गर्न सकिन्छ भन्ने विषयमा समेत बहशको केन्द्र बनेको छ । जुलाई ३० को बिहान वास्तवमा के भएको थियो ? अदालतमा बयान दिँदै नरेशले जुलाई २९ को रात आफू छोरीसँग सुतेको बताएका छन् । ममता भने माथिल्लो तलाको शयनकक्षमा आएको आफूले थाहा नपाएको उनको भनाइ छ । नरेशका अनुसार जुलाई ३० को बिहान करिब ४ बजे शौचालय जान उठ्दा एउटा असामान्य गन्ध महसुस भयो । त्यसपछि शयनकक्षतर्फ जाँदा ममता ओछ्यानको फेदतिर अचेत अवस्थामा लडिरहेको देखेको उनले अदालतमा बताएका छन्। नरेशको दाबीअनुसार ममताको शरीरनजिक बान्ता थियो भने त्यहाँ विषादीको खुला प्याकेट पनि भेटिएको थियो। उनले ममताले विष सेवन गरेको हुन सक्ने अनुमान गरेको बताएका छन्। नरेशले ममतालाई ब्युँताउने प्रयास गरेको र करिब एक घण्टासम्म पुनर्जीवित गराउने प्रयास गरे पनि सफल नभएको अदालतमा बताएका छन्। तर उनले तत्काल प्रहरी वा आपत्कालीन सेवाको नम्बर ९११ मा किन फोन गरेनन् भन्ने प्रश्नको स्पष्ट जवाफ दिन सकेका छैनन्। आफू अत्यन्तै डराएको र आत्तिएको भन्दै उनले अदालतमा भनेका छन्, ’मैले किन फोन गरिनँ भन्ने मलाई थाहा छैन। म निकै डराएको थिएँ ।’ उनको यही भनाइ अहिले अभियोजन पक्षका लागि महत्वपूर्ण प्रश्न बनेको छ । घरमा आफ्नी पत्नी अचेत अवस्थामा भेटिँदा तत्काल एम्बुलेन्स वा प्रहरी बोलाउनुपर्नेमा उनले शव लुकाउने निर्णय किन गरे भन्ने प्रश्नको जवाफ अभियोजन पक्षले खोजिरहेको छ । पत्नीको शव टुक्राटुक्रा पारेको स्वीकारोक्ति नरेशको बयानको सबैभन्दा गम्भीर र चकित पार्ने पक्ष ममताको शव टुक्राटुक्रा पारेको स्वीकारोक्ति हो । उनले अदालतमा आफूले ममताको शव बाथरुममा लगेको र सुरुमा फोहोर राख्ने डस्टबिनमा हाल्ने प्रयास गरेको बताएका छन्। तर शव डस्टबिनमा अटाउन नसकेपछि त्यसलाई सानो आकारमा छुट्याउने सोच बनाएको उनको भनाइ छ। नरेशका अनुसार सुरुमा उनले शवलाई पोटोम्याक नदीमा फाल्ने विषयमा समेत विचार गरेका थिए। त्यसपछि शव व्यवस्थापनका लागि आवश्यक सामग्री खोज्न घरबाट बाहिर निस्किएका थिए। उनी आफ्नी सानी छोरीलाई बेबीसिटरको अपार्टमेन्टमा छाडेर होम डिपो नामक हार्डवेयर पसल पुगेका थिए। अदालतमा उनले होम डिपो जानुको उद्देश्य नै ’शव लुकाउनका लागि केही सामग्री खोज्नु’ रहेको बताएका छन्। त्यसपछि घर फर्केर उनले ममताको शव काट्ने प्रयास गरेको र त्यसका लागि आरा प्रयोग गरेको स्वीकार गरेका छन्। प्रतिरक्षा पक्षका वकिलले शव किन काट्नुभयो भनेर सोध्दा उनले डस्टबिनमा अट्ने आकार बनाउन खोजेको जवाफ दिएका थिए । उनले सुरुमा मानसिक र शारीरिक रूपमा आफूलाई निकै कमजोर महसुस भएको र शव काट्ने काम पूरा गर्न नसकेको बताएका छन्। तर पछि फेरि प्रयास गरेर आराको प्रयोगबाट शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्। नरेशले शवका टुक्रा फोहोरका झोलामा राखेर विसर्जन गरेको स्वीकार गरे पनि अभियोजन पक्षले दाबी गरेजस्तो आफूले विभिन्न डम्पस्टरमा शवका सबै टुक्रा फालेको कुरा भने स्वीकार गरेका छैनन्। उनले केही कपडा र अन्य फोहोर मात्र डम्पस्टरमा फालेको दाबी गरेका छन्। हत्या गरेको होइन, आत्महत्या गरेको नरेशको जिकिर अदालतमा नरेशले शव टुक्राटुक्रा पारेको स्वीकार गरे पनि ममताको हत्या गरेको आरोपलाई अस्वीकार गरेका छन् । उनको दाबीअनुसार ममताले आफैँ विष सेवन गरेर आत्महत्या गरेकी थिइन् । आफूले उनको शव भेटेपछि डरका कारण घटनाबारे प्रहरीलाई जानकारी नदिएको र त्यसलाई लुकाउने गलत निर्णय गरेको उनले बताएका छन् । तर अभियोजन पक्षले यो दाबीलाई अस्वीकार गरेको छ। अभियोजन पक्षका अनुसार ममता जुलाई ३० आसपास मारिएकी थिइन् । त्यसपछि नरेशले शव टुक्राटुक्रा पारेर विभिन्न स्थानमा फालेका थिए । अभियोजन पक्षले नरेशको बयानलाई अविश्वसनीय भन्दै उनले प्रहरी, आफन्त, साथीभाइ र छिमेकीलाई फरक–फरक कुरा बताएको प्रमाण अदालतमा प्रस्तुत गरेको छ । अदालतमा अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले नरेशलाई पटक–पटक झूट बोलेको आरोप लगाएका थिए। आफूले झूट बोलेको हो कि होइन भन्ने प्रश्नमा नरेशले झुट बोलेको स्वीकार गरेका छन । उनले ममताका आफन्त, साथीभाइ, छिमेकी र प्रहरीलाई समेत झूट बोलेको स्वीकार गरेको अदालतको बयानमा उल्लेख छ। अमेरिकामा नर्सिङ पेसामा स्थापित हुँदै गरेकी नेपाली चेली थिइन ममता ममता काफ्ले भट्ट नेपालमा जन्मिनुभएकी नेपाली मूलकी नर्स हुनुहुन्थ्यो। उहाँ सन् २०२१ मा अमेरिका पुग्नुभएको थियो । नेपालमा विद्यालय तहको शिक्षा पूरा गरेपछि उहाँ नर्सिङ अध्ययनका लागि भारतको बैंग्लोर जानुभएको थियो। त्यसपछि विवाह गरेर अमेरिका पुग्नुभएकी ममताले त्यहाँ नर्सिङ पेसामा आफ्नो भविष्य निर्माण गर्ने प्रयास गर्नुभएको थियो। उहाँ भर्जिनियाको मनाससस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा बालरोगसम्बन्धी नर्सका रूपमा कार्यरत हुनुहुन्थ्यो । सहकर्मीहरूले उहाँलाई मेहनती, मिलनसार र सहयोगी स्वभावको व्यक्तिका रूपमा सम्झिएका छन् । अमेरिकामा नर्सिङ पेसामा थप प्रगति गर्ने उहाँको चाहना रहेको साथीहरूले अदालतमा बताएका थिए । ममता र नरेशकी एक सानी छोरीसमेत छिन् । घटनाका बेला छोरी करिब ११ महिनाकी थिइन् । ममताको बेपत्तापछि परिवार, आफन्त, साथीभाइ र नेपाली समुदायले उहाँको खोजीका लागि अभियान चलाएका थिए । जुलाई २७ मा अन्तिमपटक देखिएकी ममता, त्यसपछि हरायो सम्पर्क ममता सन् २०२४ जुलाई २७ मा अन्तिमपटक आफ्नो कार्यस्थलमा देखिनुभएको थियो । जुलाई २८ मा एक साथीले उहाँबाट आएका दुईवटा मिस्ड कल देखेकी थिइन् । जुलाई २९ मा नेपालमा रहनुभएकी आमासँग भिडियो कलमार्फत कुरा भएको थियो । त्यसपछि उहाँको फोन र सामाजिक सञ्जाल गतिविधि बन्द भयो । अगस्ट १ मा काममा उपस्थित नभएपछि सहकर्मीहरूले चिन्ता व्यक्त गरेका थिए। लगातार काममा नआएपछि उहाँकी नर्सिङ सुपरभाइजरले प्रहरीलाई खबर गरेकी थिइन्। अगस्ट २ मा प्रहरी पहिलोपटक मनासस पार्कस्थित ममता र नरेशको घर पुगेको थियो । त्यसक्रममा नरेशले ममता आफूबाट अलग हुन खोजिरहेको र न्यूयोर्क वा टेक्सासमा आफन्त भेट्न गएको हुन सक्ने बताएका थिए । तर अनुसन्धानका क्रममा ममताको अमेरिकामा त्यस्ता जैविक आफन्त रहेको पुष्टि हुन सकेन। त्यसपछि नरेशका भनाइप्रति प्रहरीको शंका बढ्दै गएको थियो।अगस्ट ५ मा नरेशले ममता बेपत्ता भएको औपचारिक जानकारी दिएका थिए । अगस्ट २१ मा प्रहरीले अदालतबाट अनुमति लिएर घरमा विस्तृत अनुसन्धान गरेको थियो। त्यसको भोलिपल्ट अगस्ट २२ मा नरेश पक्राउ परेका थिए । घरभित्र भेटिएको रगत र डीएनएले बलियो बनायो अभियोजन पक्षको दाबीममता बेपत्ता भएपछि अनुसन्धानमा जुटेको प्रहरीका लागि सबैभन्दा महत्वपूर्ण प्रमाण घरभित्र भेटिएको रगत बन्यो । प्रहरीले शयनकक्ष र बाथरुममा रगतका दाग भेटिएको जनाएको थियो । परीक्षणका क्रममा ती रगत ममताको डीएनएसँग मेल खाएको पुष्टि भएको थियो । भर्जिनिया डिपार्टमेन्ट अफ फरेन्सिक साइन्सले सन् २०२४ अक्टोबरमा गरेको परीक्षणमा एउटा हातले चलाउने आरामा भेटिएको रगत ममताको डीएनए प्रोफाइलसँग मेल खाएको निष्कर्ष निकालेको थियो । अदालतमा प्रस्तुत कागजातअनुसार उक्त डीएनए मेल खाने सम्भावना असम्बन्धित व्यक्तिमा आठ अर्बमध्ये एकभन्दा कम रहेको उल्लेख गरिएको छ । नरेश र दम्पतीकी छोरीलाई भने उक्त नमुनाको स्रोतका रूपमा अस्वीकार गरिएको थियो । अभियोजन पक्षका अनुसार नरेशले उक्त आरा आफ्नो घरनजिकै काम गर्ने एक ल्यान्डस्केपरलाई दिएका थिए । पछि अनुसन्धानबारे जानकारी पाएपछि ती व्यक्तिले प्रहरीलाई आरा बुझाएका थिए । यो प्रमाणले ममताको शव नभेटिए पनि उनको मृत्यु र शव व्यवस्थापनमा प्रयोग भएको हुन सक्ने सामग्रीबारे अभियोजन पक्षको दाबीलाई बल दिएको छ । सीसीटीभीदेखि मोबाइल लोकेसनसम्म : अभियोजन पक्षले जुटाएका प्रमाण अभियोजन पक्षले नरेशविरुद्ध केवल घरभित्र भेटिएको रगतलाई आधार बनाएको छैन । घटनापछिका गतिविधि, पसलमा भएको किनमेल, सीसीटीभी दृश्य र डिजिटल प्रमाणलाई समेत अदालतमा प्रस्तुत गरेको छ । अभियोजन पक्षले अदालतमा देखाएका सीसीटीभी दृश्यअनुसार नरेशले ममता बेपत्ता भएपछि होम डिपोबाट विभिन्न सामग्री किनेका थिए । ती सामग्रीमा रबरका पञ्जा, चक्कु, ठूलो आकारका भण्डारण झोला र सरसफाइका सामग्री रहेको बताइएको छ । त्यसैगरी विभिन्न स्थानका डम्पस्टरमा फोहोरका झोला राखेको दृश्यसमेत अभियोजन पक्षले प्रस्तुत गरेको छ । प्रहरीले नरेशको टेस्ला गाडीको जीपीएस विवरण, नम्बर प्लेट रिडर र अन्य डिजिटल गतिविधिका आधारमा उनको आवतजावतको समय र स्थानसमेत विश्लेषण गरेको थियो। अभियोजन पक्षले नरेशका केही इन्टरनेट खोजी विवरणलाई समेत प्रमाणका रूपमा प्रस्तुत गरेको छ। तीमध्ये श्रीमतीको मृत्युपछि पुनः विवाह गर्ने विषय तथा अन्य असामान्य खोजी गतिविधि रहेको बताइएको छ । यद्यपि ती खोजीहरू कसले गरेको थियो र तिनको घटनासँग प्रत्यक्ष सम्बन्ध के थियो भन्ने विषयमा प्रतिरक्षा पक्षले प्रश्न उठाएको छ। घरभित्र रगत सफा गरिएको थियो ? ब्लुस्टार परीक्षणले उठाएको प्रश्न अनुसन्धानका क्रममा प्रहरीले घरको शयनकक्ष र बाथरुममा विशेष रासायनिक परीक्षण गरेको थियो । ब्लुस्टार नामक रसायन प्रयोग गर्दा रगत सफा गरिएको हुन सक्ने स्थानमा नीलो प्रकाश देखिएको अनुसन्धानकर्ताहरूले अदालतमा बताएका थिए ।विशेषगरी बाथटब, सावर क्षेत्र, भुइँ र शयनकक्षको ढोकानजिकका केही स्थानमा यस्तो प्रतिक्रिया देखिएको अभियोजन पक्षको दाबी छ । अभियोजन पक्षले नरेशले रगतका प्रमाण मेटाउन घर सफा गरेको तथा केही फर्निचरसमेत सारेर प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाएको छ । तर ब्लुस्टार परीक्षणले देखाउने प्रतिक्रिया मात्रै रगत भएको अन्तिम प्रमाण होइन । त्यसको पुष्टि प्रयोगशालामा गरिने थप परीक्षणबाट हुनुपर्छ भन्ने विषयमा प्रतिरक्षा पक्षले प्रश्न उठाएको छ । यसैगरी अनुसन्धानका क्रममा प्रहरीले घरमा प्रवेश गरेपछि कसले कुन वस्तु छोयो, कुन सामान सारियो र घटनास्थलको अवस्था परिवर्तन भयो कि भएन भन्ने विषयमा पनि प्रतिरक्षा पक्षले प्रश्न उठाएको छ । दुई वर्षसम्म पनि भेटिएन ममताको शव ममता प्रकरणमा हालसम्म सबैभन्दा रहस्यमय पक्ष ममताको शव अहिलेसम्म फेला नपर्नु हो । प्रहरी र अभियोजन पक्षले विभिन्न स्थानमा खोजी गरे पनि शव वा शरीरका अवशेष भेटिएका छैनन् । अनुसन्धानका क्रममा नरेशले फोहोरका झोला विभिन्न स्थानमा फालेको भनिएका क्षेत्र तथा फोहोर व्यवस्थापन केन्द्रहरूमा समेत ध्यान दिइएको थियो । सन् २०२५ मार्चमा भर्जिनियाको पेज काउन्टीस्थित ल्यान्डफिल क्षेत्रमा समेत खोजीको विषय उठेको थियो। मनासस र फल्स चर्च क्षेत्रबाट संकलन गरिएको फोहोर उक्त क्षेत्रमा पुग्ने भएकाले त्यहाँ सम्भावित अवशेष खोज्ने विषय चर्चामा आएको थियो । तर शवको कुनै अवशेष फेला परेको पुष्टि भएको छैन। अभियोजन पक्षका लागि शव नभेटिनु चुनौतीपूर्ण भए पनि घरभित्र भेटिएको रगत, डीएनए, डिजिटल प्रमाण र अन्य परिस्थितिजन्य प्रमाणले हत्या पुष्टि गर्न पर्याप्त आधार दिने दाबी गरिएको छ । प्रतिरक्षा पक्षको तर्क : परिस्थितिजन्य प्रमाणले मात्रै हत्या पुष्टि हुँदैन नरेशका वकिलहरूले अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणलाई चुनौती दिएका छन् । प्रतिरक्षा पक्षका अनुसार अभियोजन पक्षले प्रत्यक्ष रूपमा हत्या भएको देखाउने प्रमाण प्रस्तुत गर्न सकेको छैन । उनीहरूले नरेशले ममताको हत्या गरेको भन्ने निष्कर्ष अनुमानका आधारमा निकालिएको दाबी गरेका छन्। नरेशले प्रहरीसँग कुरा गर्दा भाषाको समस्या र अनुवादका कारण केही कुरा गलत बुझिएको हुन सक्ने तर्कसमेत प्रतिरक्षा पक्षले गरेको छ । घरमा प्रहरी पुग्नुअघि र अनुसन्धानका क्रममा घटनास्थलमा भएका गतिविधिले पनि प्रमाणको विश्वसनीयतामाथि प्रश्न उठाउने प्रतिरक्षा पक्षको भनाइ छ । नरेशले ममतामाथि आफूले शारीरिक हिंसा नगरेको दाबी गरेका छन् । प्रतिरक्षा पक्षले पनि अभियोजन पक्षको घरेलु हिंसासम्बन्धी व्याख्यालाई चुनौती दिएको छ । यसर्थ अदालतका लागि अहिलेको मुख्य प्रश्न नरेशले शव टुक्राटुक्रा पारे कि पारेनन् भन्ने मात्र होइन। त्यो काम गर्नुअघि ममताको मृत्यु कसरी भयो र त्यसमा नरेशको भूमिका के थियो भन्ने हो । घरेलु हिंसाको पृष्ठभूमि र ममताका पुराना सन्देश अदालतमा प्रस्तुत प्रमाणमध्ये ममताले सन् २०२३ डिसेम्बरतिर नरेशलाई पठाएका केही तस्बिर र भिडियोसमेत महत्वपूर्ण बनेका छन् । अभियोजन पक्षले प्रस्तुत गरेका तस्बिरमा ममताको अनुहारमा चोट लागेको तथा हातमा रगत देखिएको बताइएको छ । त्यसैगरी एउटा भिडियोमा ममताले ’दोस्रो पटक’ भन्ने आशयको कुरा गरेको सुनिएको अभियोजन पक्षले जनाएको छ। नरेशले उक्त संवादमा सम्बन्धविच्छेदका कागजातमा हस्ताक्षर गर्ने र फेरि त्यस्तो अवस्था नआओस् भन्ने आशयको जवाफ दिएको देखाइएको थियो । ममताका साथी सरिता न्यौपानेले अदालतमा बयान दिँदै ममता एकपटक झगडापछि दुई साताभन्दा बढी समय आफ्नो घरमा बसेको बताएकी थिइन्। उनका अनुसार ममताले नरेशले आफूलाई कुटपिट गरेको बताएकी थिइन् र शरीरमा लागेको चोटको भिडियोसमेत देखाएकी थिइन्। तर सरिताले आफूले नरेशलाई प्रत्यक्ष रूपमा ममतामाथि कुटपिट गरेको नदेखेको पनि अदालतमा स्पष्ट पारेकी थिइन्।अदालतले ममताका विगतका सबै भनाइलाई प्रमाणका रूपमा स्वीकार गरेको छैन। कुन बयान प्रमाणका रूपमा लिन मिल्छ र कुन मिल्दैन भन्ने विषयमा न्यायाधीशले छुट्टै सीमा निर्धारण गरेका छन्। छोरीको भविष्य र परिवारको अधुरो प्रश्न ममता बेपत्ता हुँदा उहाँकी छोरी ११ महिनाकी थिइन्। अहिले ती बालिका आमाको मायाबाट वञ्चित छिन् । यो घटनाले नेपाली समुदायमा उठाएको सबैभन्दा संवेदनशील प्रश्नमध्ये एउटा बालिकाको भविष्य पनि हो । आफ्नी आमाको मृत्यु भएको आशंका, शव नभेटिएको अवस्था र बाबु नै हत्याको अभियोगमा अदालतमा उपस्थित भएको परिस्थितिले बालिकाको पारिवारिक जीवनमा गहिरो असर पारेको छ । ममताको परिवार नेपालमा छ । छोरीको भविष्य, आमाको अन्तिम संस्कार र घटनाको सत्यताबारे परिवारले लामो समयदेखि जवाफ खोजिरहेको छ । ममताको शव नभेटिएकाले परिवारले परम्परागत रूपमा अन्तिम संस्कार गर्न पाउने अवस्था पनि बनेको छैन। कुन आधारमा हुनेछ अदालतको निर्णय ? नोभेम्बर ६ सम्मको अवस्थाअनुसार मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । अभियोजन पक्षले ८० भन्दा बढी साक्षीको बयानपछि आफ्नो प्रमाण प्रस्तुत गर्ने काम पूरा गरेको छ । त्यसपछि प्रतिरक्षा पक्षले नरेशलाई नै साक्षीका रूपमा अदालतमा प्रस्तुत गरेको हो । नोभेम्बर ४ देखि बयान दिन थालेका नरेशले नोभेम्बर ५ मा पनि आफ्नो बयान जारी राखेका थिए । त्यसपछि अभियोजन पक्षले नरेशसँग जिरह गरेको थियो । अदालतको कार्यतालिकाअनुसार नोभेम्बर ९ मा सुनुवाइ पुनः सुरु हुने अपेक्षा गरिएको छ । प्रतिरक्षा पक्षले थप एक साक्षी प्रस्तुत गर्ने र त्यसपछि दुवै पक्षको अन्तिम बहश हुने सम्भावना छ । नोभेम्बर १० आसपास अन्तिम बहश र त्यसपछिका दिनमा फैसला आउन सक्ने अनुमान गरिएको छ । नरेशविरुद्ध प्रथम श्रेणीको हत्या, शवको अपमान तथा शव लुकाएको तीनवटा अभियोग छन्। उनले सबै अभियोगमा आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । अदालतले अभियोजन र प्रतिरक्षा पक्षका प्रमाण तथा तर्कको मूल्यांकन गरी फैसला गर्नेछ । एउटा नेपाली परिवारको पीडा र न्यायको प्रतीक्षा ममता काफ्ले भट्टको घटना केवल अमेरिकामा बस्ने एउटा नेपाली परिवारको दुःखद घटना मात्र होइन। यसले वैदेशिक रोजगारी, आप्रवासन, पारिवारिक हिंसा, महिलाको सुरक्षा र प्रवासी समुदायको सामाजिक उत्तरदायित्वबारे पनि गम्भीर प्रश्न उठाएको छ । नेपालबाट सुन्दर भविष्यको सपना बोकेर अमेरिका पुगेकी ममता नर्सिङ पेसामा आफ्नो भविष्य निर्माण गर्दै हुनुहुन्थ्यो । सानो छोरीको पालनपोषण र पारिवारिक जीवनसँगै उहाँको आफ्नै सपना पनि थियो । तर सन् २०२४ जुलाईपछि उहाँको जीवनबारे कुनै प्रत्यक्ष जानकारी प्राप्त हुन सकेन । दुई वर्षसम्म पत्नी बेपत्ता भएको बताउँदै आएका नरेशले अहिले अदालतमा शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्। तर ममताको मृत्यु कसरी भयो भन्ने विषयमा दिएको आत्महत्याको दाबी र अभियोजन पक्षको हत्याको आरोपबीच अदालतले निर्णय गर्न बाँकी छ। ममताको शव अहिलेसम्म नभेटिनु, घरमा भेटिएको रगतको डीएनए, आरामा भेटिएका जैविक प्रमाण, सीसीटीभी दृश्य र नरेशको बदलिएको बयानले यो मुद्दालाई अत्यन्त जटिल बनाएको छ। नरेशले शव टुक्राटुक्रा पारेको स्वीकार गरिसकेका छन्, तर ममताको हत्या गरेको स्वीकार गरेका छैनन्। अब अदालतले खोज्नुपर्ने मूल सत्य यही हो-ममताको मृत्यु आत्महत्या थियो कि हत्या ? यदि हत्या थियो भने त्यसको जिम्मेवार को हो ? ममताको परिवार, नेपाल र अमेरिकामा रहेका नेपाली समुदाय तथा न्यायको प्रतीक्षामा रहेका सबैका लागि यी प्रश्नको जवाफ अदालतको फैसलासँग जोडिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टा चितवनमा बिताएका रविले कार्यकर्ता र सरकारप्रति पोखे असन्तुष्टि
PoliticsJust now

२४ घण्टा चितवनमा बिताएका रविले कार्यकर्ता र सरकारप्रति पोखे असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा करिब २४ घण्टा बिताउँदै विभिन्न समूहसँग भेटघाट गरेका छन् । बिहीबार साँझ चितवन पुगेका लामिछानेले शुक्रबार काठमाडौं फर्कनुअघि पार्टीका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा, उद्योगी व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग छलफल गरेका हुन् । निर्वाचनपछि गत असारमा भरतपुरमा आयोजित पार्टीको पहिलो केन्द्रीय महाधिवेशनमा सहभागी भएका लामिछाने त्यसयता पहिलोपटक चितवन पुगेका हुन् । यसपटकको ...

फरकधार
दुईतिहाइको दम्भमा सरकार लोकतन्त्र खोस्न खोज्दैछ : कांग्रेस महामन्त्री पन्त
PoliticsJust now

दुईतिहाइको दम्भमा सरकार लोकतन्त्र खोस्न खोज्दैछ : कांग्रेस महामन्त्री पन्त

काठमाण्डु– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्। सरकार सत्ता कब्जा गर्दै लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको भन्दै उनले त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिनसमेत पछि नपर्ने चेतावनी दिइन्। नेपाल विद्यार्थी संघ गोरखा–काठमाण्डु सम्पर्क समितिले शनिबार काठमाण्डुमा गरेको दीपावली, नेपाल संवत् […] ...

काठमाण्डुपाटी
तारानाथ दाहाल भन्छन्- समाचारको स्रोत खोल्न पत्रकारलाई दबाब दिनु लोकतन्त्रमाथिकै प्रहार हो
PoliticsJust now

तारानाथ दाहाल भन्छन्- समाचारको स्रोत खोल्न पत्रकारलाई दबाब दिनु लोकतन्त्रमाथिकै प्रहार हो

वरिष्ठ पत्रकार तारानाथ दाहालले समाचार स्रोतको गोपनीयता खोल्न पत्रकारलाई दबाब दिने राज्यको गतिविधिले प्रेस स्वतन्त्रता मात्र नभई समग्र लोकतान्त्रिक व्यवस्थामाथि नै क्षति पुर्‍याउने बताएका छन् । उनले लोकतन्त्रलाई निर्वाचन, जनप्रतिनिधि चयन र सरकार परिवर्तनको प्रक्रियामा मात्र सीमित गर्न नहुने बताए । लोकतन्त्र राजनीतिक प्रणाली मात्र नभई संस्कृति, संस्कार र व्यवहारको विषय भएको उनको भनाइ छ । उनका अनुसार लोकतन्त्रको वास्तविक अभ्यासका लागि ...

फरकधार
मौलिक संस्कृति जोगाउन सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम
PoliticsJust now

मौलिक संस्कृति जोगाउन सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा अवस्थित सिद्धार्थ स्कुलमा नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक संस्कारको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तिहार विशेष कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थीलाई नेपाली चाडपर्वको महत्त्व, सांस्कृतिक पहिचान र पुस्तौँदेखि चलिआएका परम्परासँग परिचित गराउने उद्देश्यले विद्यालयले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थीहरूले तिहारसँग सम्बन्धित विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए ।  यस्ता गतिविधिले विद्यार्थीमा आफ्नो मौलिक संस्कृति ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play