काठमाडौं, मंसिर ३ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपालमा राष्ट्रियताको संकट ‘देश दहन’ र ‘टिओबीको ताण्डव’बाट प्रकट भएको बताउनुभएको छ । नेकपा एमालेको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले मुलुक अहिले राष्ट्रियता, संवैधानिक व्यवस्था, लोकतन्त्र र जनजीविकासम्बन्धी बहुआयामिक संकटबाट गुज्रिरहेको धारणा राख्नुभएको हो । विश्व व्यवस्था नै पुँजीवाद र समाजवादबीचको उथलपुथलबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले विश्वव्यापी जलवायु परिवर्तनले मानव सभ्यताको अस्तित्वमै प्रश्न खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वव्यापी जलवायु परिवर्तनले मानव सभ्यता नै रहने कि नरहने भन्ने असाधारण अवस्था सिर्जना भएको छ ।’ प्रविधिको विकाससँगै मानिस र कृत्रिम बौद्धिकता (एआई) बीचसमेत नयाँ प्रकारको अन्तरविरोध उत्पन्न भएको उहाँको भनाइ थियो । यसले विश्वमा थप संकट सिर्जना गरेको उहाँले उल्लेख गर्नुभयो । नेपालको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै उपाध्यक्ष थापाले राष्ट्रियताको संकट देश दहन र टिओबीको ताण्डवबाट प्रकट भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा राष्ट्रियताको संकट देश दहन र टिओबीको ताण्डवबाट प्रकट भयो । हाम्रो राष्ट्रिय संकट अहिले पनि जारी छ ।’ उहाँले नागरिक सरकार र संसद्को विघटनबाट सुरु भएको संवैधानिक संकट अझै समाधान हुन नसकेको बताउनुभयो । त्यस्तै, गत फागुन २१ गतेको निर्वाचन र त्यसमा लोकतन्त्रवादी शक्तिहरूको पराजयलाई उहाँले लोकतान्त्रिक संकट प्रकट भएको घटनाका रूपमा व्याख्या गर्नुभयो । जनजीविकाको संकटसमेत गम्भीर बन्दै गएको उल्लेख गर्दै उहाँले नागरिकको आत्मदाह, आत्महत्या तथा युवा विदेशिने क्रम र गाउँहरू रित्तिँदै जानुलाई त्यसका संकेतका रूपमा प्रस्तुत गर्नुभयो ।‘अहिले देशको जनजीविकाको संकट नागरिकको आत्मदाह, आत्महत्या तथा युवा र गाउँ रित्तिँदै गएकोबाट प्रकट भइरहेको छ,’ उहाँले भन्नुभयो । राजनीतिक अवस्थाबारे धारणा राख्दै उपाध्यक्ष थापाले मुलुकमा चौतर्फी राज्य आतंक र फाँसिवादको खतरा बढिरहेको दाबी गर्नुभयो । उहाँले वर्तमान राजनीतिक संकटलाई राज्यको गतिविधिसँग जोडेर व्याख्या गर्नुभएको थियो । सामाजिक रूपान्तरणका लागि नागरिक संघर्षलाई प्रमुख आधारका रूपमा व्याख्या गर्दै उहाँले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाल सम्बोधन गर्न संघर्ष आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक रूपान्तरणको प्रमुख आधार नागरिक संघर्ष नै हो । संघर्ष राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको सवाल प्राप्त गर्ने प्रमुख आधार हो ।’ नेकपा एमालेले संघर्षका लागि तीनै तहका सरकारलाई मुख्य कार्यक्षेत्र निर्धारण गरेको जानकारी दिँदै उहाँले संघर्षका अन्य स्वरूपलाई पनि पार्टीले खुला राखेको बताउनुभयो । राष्ट्रिय भेलामा प्रस्तुत धारणा राख्दै उपाध्यक्ष थापाले मुलुकको वर्तमान राजनीतिक, संवैधानिक, सामाजिक तथा आर्थिक अवस्थालाई विभिन्न संकटका रूपमा चित्रण गर्नुभएको हो ।
देश जल्यो, राष्ट्रियता संकटमा पर्यो, लोकतन्त्र पनि धरापमा छ’ : रामबहादुर थापा

Read Complete Original Article
Published originally on जनताटाइम्स






