दसैँको रमझम सकियो, काठमाडौं फर्किने बढे !

काठमाडौं । दसैँ मनाउन घर गएकाहरू राजधानी फर्किन थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ । दसैँअघि सुनसान बनेका सडकमा सवारीसाधनको आवागमन बढेको छ भने बजार, पसल र बस्तीमा पनि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । विभिन्न पेसा, रोजगारी तथा व्यापार व्यवसायमा संलग्न रहेर काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू दसैँ मनाउन आफ्नो थातथलो गएका थिए । विजयादशमीको टीका लगाएपछि उनीहरू आफ्नो कर्मथलो फर्किन थालेका हुन् । दसैँ बिदा सकिँदै जाँदा उपत्यका भित्रिने यात्रुको संख्या बढेसँगै सडकमा सवारी चाप पनि बढ्न थालेको छ । शुक्रबार उपत्यकाका प्रमुख सडक तथा नाकाहरूमा अघिल्ला दिनको तुलनामा सवारीसाधन र यात्रुको आवागमन बढेको पाइएको छ । नयाँ बसपार्कको गोंगबु, कोटेश्वर, कलंकी, बल्खुलगायतका क्षेत्रमा उपत्यका फर्किने सवारीसाधनको चाप देखिन थालेको छ । रिङरोडसहित मुख्य सडकमा निजी कार, मोटरसाइकल तथा सार्वजनिक सवारीसाधनको आवागमन बढ्दै गएको छ । दसैँका लागि ठूलो संख्यामा मानिस उपत्यकाबाट बाहिरिएपछि केही दिन काठमाडौंका सडक र बस्ती सुनसान बनेका थिए । दैनिकजसो व्यस्त रहने सडकमा सवारीसाधनको चाप घटेको थियो भने बजार तथा व्यापारिक गतिविधिसमेत सुस्ताएका थिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए । दसैँ बिदा मनाएर फर्किने यात्रुको सख्या बढ्दै जाँदा कलंकी, कोटेश्वर, बल्खुलगायतका नाकामा आवागमन बढेको छ । कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद लिने तथा आफन्तसँग भेटघाट गर्ने चलन रहेकाले उपत्यका फर्किने यात्रुको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ । यात्रुको चाप बढ्न थालेपछि ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने, सडकमा सवारी चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले निगरानी बढाएको जनाएको छ । दसैँ मनाउन गृहजिल्ला गएका यात्रुहरू आफ्नो काममा फर्किन थालेका छन् । डडेल्धुराका हरि प्रसाद पन्तले १५ वर्षपछि परिवारसँग बसेर दसैँ मनाउने अवसर पाएको बताए । उनका अनुसार यसपटकको यात्रा सहज रह्यो । बाटोमा सवारी जामको समस्या नभएको र यात्रा सुखद भएको उनले बताए । कोजाग्रत पूर्णिमासम्म दसैँ मनाउने चलन भए पनि कामको व्यस्तताका कारण आफू चाँडै काठमाडौं फर्किनुपरेको उनको भनाइ छ । त्यस्तै, स्याङ्जाका सोमबहादुर सुनुवार पनि दसैँ मनाएर काममा फर्किने तयारीमा छन् । दुबईमा काम गर्दै आएका उनले दसैँको टीका र जमरा लगाउने क्रम जारी रहेकै बेला विदेश फर्किनुपर्ने अवस्था आएको बताए । दसैँजस्तो ठूलो चाड परिवारसँग मनाउन पाए पनि रोजगारीका कारण लामो समय घरमा बस्न नपाएको उनको भनाइ छ । देशमै रोजगारीको पर्याप्त अवसर भएको भए चाडपर्वकै समयमा विदेश फर्किनुपर्ने बाध्यता नहुने उनले बताए । दसैँको सप्तमीदेखि नै काठमाडौं उपत्यकामा मानिसहरूको चहलपहल कम हुन थालेको थियो। उपत्यकामा अस्थायी रूपमा बसोबास गर्ने ठूलो संख्यामा मानिस बाहिरिएपछि सडक, बजार र बस्ती तुलनात्मक रूपमा सुनसान बनेका थिए । तर, विजयादशमीपछि उपत्यका फर्किने क्रम बढेसँगै सडकमा सवारीसाधनको चाप बढ्न थालेको छ । बजार तथा पसल खुल्ने क्रम पनि बढ्दै गएको छ भने व्यापारिक गतिविधि विस्तारै पुरानै अवस्थामा फर्किन थालेका छन् । दसैँको टीका र जमरा लगाउने क्रम शुक्रबार पनि जारी छ । स्थान र पारिवारिक परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका तथा आशीर्वाद लिने चलन छ । कतिपय दसैँको टीका लगाएलगत्तै काठमाडौं फर्किसकेका छन् भने कतिपय फर्किने तयारीमा छन् । दसैँको बिदापछि कार्यालय तथा व्यापार व्यवसाय नियमित सञ्चालन हुन थालेसँगै उपत्यकामा मानिसहरूको चाप थप बढ्ने देखिन्छ । यससँगै सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने र मुख्य सडकमा सवारी आवागमन बाक्लिने सम्भावना छ । गाउँघरमा परिवार र आफन्तसँग चाडपर्व मनाएर फर्किनेहरूको चहलपहलले राजधानी फेरि व्यस्त बन्न थालेको छ । रोजगारी, अध्ययन तथा व्यवसायका लागि काठमाडौंमा बसोबास गर्नेहरू फर्किने क्रम जारी रहेकाले आगामी दिनमा उपत्यकाको जनजीवन अझै सक्रिय हुने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
• म्याग्दीको बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ, जुन पहिरोका कारण बन्द भएको थियो। • दसैँ पर्वको चहलपहललाई ध्यानमा राख्दै तत्काल सडक खुलाइएको भए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ। • यो सडक म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने महत्वपूर्ण मार्ग मानिन्छ। ...

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ !
जुम्ला । जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरुलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले बताए । मौसम सफा भएकाल पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीमा काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरुलाई बाली भित्र्याउने ...

एनपीएलको तेस्रो संस्करणका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौंमा
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त यस प्रतियोगितामा सहभागी टोलीहरूले यसपटक आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्, जसमध्ये एक खेलाडी एसोसिएट राष्ट्रको हुनुपर्नेछ। यद्यपि, प्लेइङ-११ मा भने चारजना विदेशी खेलाडी मात्र मैदानमा उत्रन पाउनेछन्। प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा विदेशी खेलाडी र प्रशिक्षकहरूको आगमन ...

नख्खु कारागारबाट फरार कैदीबन्दी पक्राउ
काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। चोरी मुद्दामा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय भई नख्खु कारागारमा... ...


