वासिङ्टन– ‘ट्विलाइट’ र ‘द ब्याटम्यान’ जस्ता फिल्मबाट चर्चित बेलायती अभिनेता रोबर्ट प्याटिन्सनलाई जेम्स बन्डको नयाँ अभिनेताका रूपमा छनोट गरिएको छ । अमेजन एमजीएम स्टुडियोले सोमबार सामाजिक सञ्जालमार्फत ००७ को भूमिकामा प्याटिन्सनको तस्बिर सार्वजनिक गर्दै यसबारे घोषणा गरेको हो । ४० वर्षीय प्याटिन्सन जेम्स बन्डको भूमिका निर्वाह गर्ने सातौँ अभिनेता बनेका छन् । उनले जेम्स बन्ड शृङ्खलाको २६औँ फिल्ममा अभिनय गर्नेछन् । सो फिल्म सन् २०२८ मा प्रदर्शन गर्ने तयारी छ । लन्डनमा जन्मिएका प्याटिन्सनले एक वक्तव्यमा भनेका छन्, ‘जेम्स बन्ड चलचित्र इतिहासकै सबैभन्दा प्रतिष्ठित पात्रमध्ये एक हुन् । ००७ को भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनु मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान हो ।’ आगामी बन्ड फिल्मको निर्देशन डेनिस भिलेन्युभले गर्नेछन् भने पटकथा स्टिभन नाइटले लेख्नेछन् । यद्यपि, फिल्मको नाम र प्रदर्शनको निश्चित मिति भने सार्वजनिक गरिएको छैन । प्याटिन्सनले आफूलाई विश्वास गरेकोमा फिल्मको सिर्जनात्मक टोलीप्रति गहिरो आभार व्यक्त गरेका छन् । ड्यानियल क्रेगले जेम्स बन्डको भूमिका छाडेपछि उनको स्थान कसले लिने भन्ने विषयमा वर्षौँदेखि व्यापक चर्चा र अड्कलबाजी हुँदै आएको थियो । मनोरञ्जन क्षेत्रकै सबैभन्दा चर्चित र बढी चासोका साथ हेरिने भूमिकामध्ये एकमा प्याटिन्सनको छनोटसँगै उक्त प्रतीक्षा अन्त्य भएको छ । आगामी ००७ फिल्मले बन्ड शृङ्खलामा नयाँ युगको सुरुवात गर्नेछ । लामो समयदेखि यस शृङ्खलाको निर्माण सम्हाल्दै आएका बार्बरा ब्रोकोली र माइकल जी विल्सनले आफ्नो भूमिका सीमित बनाएपछि अमेजनले पहिलो पटक यस फ्रेन्चाइजको सिर्जनात्मक नियन्त्रण लिएको हो । अमेजनले यसअघि नै बन्ड शृङ्खलाको मूल कम्पनी एमजीएम अधिग्रहण गरिसकेको थियो । २६औँ बन्ड फिल्म प्रदर्शन हुँदा अघिल्लो फिल्म ‘नो टाइम टु डाइ’ रिलिज भएको सात वर्ष पुग्नेछ । सन् २०२१ मा प्रदर्शन भएको उक्त फिल्मपछि बन्ड शृङ्खलामा यो अहिलेसम्मकै लामो अन्तराल हुनेछ । निर्देशक भिलेन्युभ ‘ड्युन’ शृङ्खला, ‘प्रिजनर्स’, ‘सिकारियो’, ‘अराइभल’ र ‘ब्लेड रनर २०४९’ जस्ता फिल्मका लागि परिचित छन् । पटकथाकार नाइट भने टेलिभिजनका चर्चित शृङ्खला ‘पीकी ब्लाइन्डर्स’ र ‘हाउस अफ गिनिज’ तथा ‘ र्बन्ट’, ‘स्पेन्सर’ र ‘लक’ जस्ता फिल्मका लेखक हुन् । प्याटिन्सनले यसअघि भिलेन्युभसँग ‘ड्युन : पार्ट थ्री’ मा काम गरिसकेका छन् । उक्त फिल्ममा उनले नयाँ खलनायक स्काइटेलको भूमिका निर्वाह गरेका छन् । फिल्म आगामी महिना प्रदर्शन हुँदैछ । प्याटिन्सनलाई बन्डका रूपमा छनोट गरिएको घोषणाप्रति प्रतिक्रिया दिँदै भिलेन्युभले भने, ‘सबैभन्दा पहिले यस यात्रामा हामीसँग जोडिएका प्रतिभाशाली कलाकारहरूप्रति गहिरो आभार व्यक्त गर्न चाहन्छु । हामी उत्कृष्ट प्रतिभाहरूले घेरिएका थियौँ, तर ००७ एउटै मात्र हुन सक्छन् । रोबर्ट प्याटिन्सनलाई नयाँ जेम्स बन्डका रूपमा स्वागत गर्न पाउँदा म अत्यन्तै खुसी छु । उनीसँग ००७ को कालजयी व्यक्तित्व छ र उनले यस भूमिकामा पूर्णतः नयाँ ऊर्जा पनि ल्याउनेछन् । उनीसँग काम सुरु गर्न म आतुर छु ।’ प्याटिन्सनको छनोटप्रति बेलायती राजदरबार बकिङ्घम प्यालेसले पनि स्वागत गरेको छ । इन्स्टाग्राममा उनको छनोटसम्बन्धी समाचार साझा गर्दै राजदरबारले लेखेको छ, ‘महामहिमको गोप्य सेवामा स्वागत छ, मिस्टर बन्ड ।’ सन् १९६९ को फिल्म ‘अन हर मेजेस्टीज सेक्रेट सर्भिस’ मा जेम्स बन्डको भूमिका निर्वाह गरेका अस्ट्रेलियाली अभिनेता जर्ज लेजेनबीले पनि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै प्याटिन्सनलाई स्वागत गरेका छन् । ‘संसारकै सबैभन्दा विशिष्ट क्लबमा स्वागत छ । आफ्नो भूमिकाको मजा लिन नबिर्सनुहोला । अब हेरौँ, तपाईँले पनि ‘यो त अर्को केटासँग कहिल्यै भएको थिएन’ भन्ने क्षण अनुभव गर्नुहुन्छ कि हुँदैन,’ उनले भने, ‘शुभकामना साथी ।’ हालैका साताहरूमा भूमिकाका लागि कलाकारहरूको स्क्रिन टेस्ट भइरहँदा जोस ओ’कनर, कालम टर्नर र ज्याक लाउडेनसहितका अन्य अभिनेताको नाम पनि चर्चामा आएको थियो । तर अन्ततः अमेजन एमजीएमले स्थापित र दर्शकमाझ परिचित अभिनेतालाई रोजेको छ । व्यावसायिक रूपमा सफल फिल्म दिन सक्ने र दर्शकले सहजै स्वीकार गर्ने अभिनेताका रूपमा प्याटिन्सनलाई छनोट गरिएको हो । निर्माता एमी पास्कल र डेभिड हेम्यानले भनेका छन्, ‘रोबर्ट प्याटिन्सनको हातमा जेम्स बन्डको विरासत सुरक्षित छ ।’ ‘अभिनेताका रूपमा उनको निर्भीकता, आफ्नै कमजोरीलाई पनि हास्यका रूपमा प्रस्तुत गर्न सक्ने क्षमता र निरन्तर आफूलाई नयाँ रूपमा प्रस्तुत गर्ने खुबीले उनलाई वर्तमान समयका लागि उपयुक्त बन्ड बनाएको छ ।’ ४० वर्षको उमेरमा प्याटिन्सन बन्डको भूमिकाका लागि अडिसन दिएका अभिनेताहरूमध्ये तुलनात्मक रूपमा पाका अभिनेतामध्ये एक हुन् । गत साता सार्वजनिक भएका विवरणअनुसार प्याटिन्सनसँगको सम्झौतामा उनलाई तीन वटा फिल्मसम्म ००७ को भूमिका निर्वाह गर्नुपर्ने सर्त राखिएको बताइएको थियो । अन्य केही अभिनेतासँग भने चार वटा फिल्मका लागि छलफल भएको समाचार आएका थिए । यद्यपि, यसबारे आधिकारिक पुष्टि भएको छैन । ट्वाइलाइटदेखि जेम्स बन्डसम्म सन् २००५ को फिल्म ‘ह्यारी पोर्टर एन्ड द गब्लेट अफ फायर’ मा सेड्रिक डिगोरीको भूमिका निर्वाह गरेपछि प्याटिन्सन चर्चामा आएका थिए । त्यसपछि स्टेफेनी मेयरका सर्वाधिक बिक्री भएका उपन्यासमा आधारित लोकप्रिय फिल्म शृङ्खला ‘ट्वाइलेट’ मा उनले भ्याम्पायर एडवर्ड कलेनको भूमिका निर्वाह गरे । क्रिस्टिन स्टेवार्टसँग उनले ‘ट्वाइलेट’ शृङ्खलाका पाँच वटै फिल्ममा अभिनय गरे । ती फिल्मले विश्वभर बक्स अफिसमा संयुक्त रूपमा तीन अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेका थिए । त्यसपछि उनले सन् २०२२ को ‘द ब्याटम्यान’ र यसै वर्ष प्रदर्शन भएको क्रिस्टोफर नोलनको ‘द ओडिसी’ लगायतका ठुला फिल्ममा अभिनय गरेका छन् । ठूला व्यावसायिक फिल्मसँगै साना बजेटका स्वतन्त्र, प्रयोगात्मक र कलात्मक फिल्ममा समेत विभिन्न भूमिका निर्वाह गरेका कारण उनी फिल्म उद्योगभित्र विशेष सम्मानित छन् । उनका अन्य फिल्ममा ‘द लाइट हाउस’, ‘मिक्की १७’, ‘लाइफ’, ‘द ड्रामा’, ‘गुड टाइम’, ‘द रोभर’, ‘बेल आमी’, ‘प्राइम टाइम’, ‘टेनेट’ र ‘द लस्ट सिटी अफ जेड’ रहेका छन् । आधिकारिक जेम्स बन्ड फिल्म शृङ्खलामा अहिलेसम्म भूमिका निर्वाह गरेका छ अभिनेताको पङ्क्तिमा अब प्याटिन्सन पनि थपिएका छन् । यसअघि सिन कोनेरी, जर्ज लेजेनबी, रोजर मुर, टिमोथी डाल्टन, पियर्स ब्रोसनन र ड्यानियल क्रेगले उक्त भूमिका निर्वाह गरेका थिए । क्रेगले सन् २००६ को ‘क्यासिनो रोयाल’बाट सुरु गर्दै कुल पाँच वटा बन्ड फिल्ममा अभिनय गरेका थिए । लेखक इयान फ्लेमिङले सिर्जना गरेको गुप्तचर पात्रको भूमिकामा उनले १६ वर्ष बिताए । इयान फ्लेमिङको सम्पदाको व्यवस्थापन गर्ने संस्थाले पनि वक्तव्य जारी गर्दै रोबर्ट प्याटिन्सनलाई जेम्स बन्ड परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको जनाएको छ । आगामी फिल्मले यस फ्रेन्चाइजमा नयाँ अध्याय सुरु गर्नेछ । अमेजनले सन् २०२१ मा आठ अर्ब ५० करोड अमेरिकी डलरमा एमजीएम खरिद गरेको थियो । उक्त अधिग्रहणसँगै जेम्स बन्ड फिल्म वितरण गर्ने अधिकार पनि अमेजनको स्वामित्वमा आएको थियो । त्यसपछि सन् २०२५ मा लामो समयदेखि बन्ड फिल्म निर्माण गर्दै आएका बार्बरा ब्रोकोली र माइकल जी विल्सनले फ्रेन्चाइजको सिर्जनात्मक नियन्त्रण अमेजन एमजीएमलाई सुम्पने सहमति गरेका थिए । यसअघि सन् १९६२ मा ‘डक्टर नो’ फिल्ममा सिन कोनेरीले पहिलो पटक जेम्स बन्डको भूमिका निर्वाह गरेदेखि नै यो फ्रेन्चाइज ब्रोकोली परिवारको नियन्त्रणमा थियो । ब्रोकोली परिवारले दशकौँसम्म यस पात्र र ब्रान्डको मौलिक पहिचान जोगाउँदै आएको थियो । स्पिन–अफ फिल्म निर्माण तथा व्यावसायिक इजाजत विस्तार गर्ने जस्ता विषयमा परिवारले लामो समयसम्म सावधानी अपनाएको थियो । अमेजनले नियन्त्रण लिएपछि यस्ता व्यावसायिक गतिविधि बढ्न सक्ने अपेक्षा फिल्म उद्योगका केही विश्लेषकले गरेका छ ।
जेम्स बन्डको भूमिकामा अब रोबर्ट प्याटिन्सन

Read Complete Original Article
Published originally on विश्वखबर






