काठमाडौँ । आन्तरिक राजस्व विभागले १५औँ राष्ट्रिय कर दिवस, २०८३ का अवसरमा उत्कृष्ट करदाता सम्मानका विधा विस्तार गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा १६ विधामा सम्मान गरेको विभागले आर्थिक वर्ष २०८१/८२ का लागि १९ नियमित विधा र १ विशेष सम्मान गरी कुल २० करदातालाई पुरस्कृत गरेको छ । विभागले यस वर्ष वित्तीय क्षेत्र, कारोबार सीमा र प्रतिकूल अवस्थाको व्यवसाय सञ्चालनलाई आधार मानेर विधाहरू थप गरेको छ ।गत वर्ष बैंक, वित्तीय संस्था र बीमा क्षेत्रलाई एउटै समूहमा राखेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मान गरिएको थियो । यस वर्ष भने बैंकिङ, जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त गरी चार छुट्टाछुट्टै विधा बनाइएको छ । जसअनुसार जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएका छन् । मझौला करदातालाई समेट्न कारोबार रकमका आधारमा पनि सम्मान गरिएको छ । वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने विधामा इम्पेरियल सेक्युरिटिज कम्पनी र ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्ने विधामा फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर उत्कृष्ट बनेका छन् । यस्तै, ‘प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद उत्कृष्ट करदाता’ शीर्षकको विशेष सम्मान भाटभटेनी सुपरमार्केटलाई प्रदान गरिएको छ । गत भदौको आन्दोलनमा १२ वटा स्टोरमा क्षति बेहोरेर पनि रोजगारी कटौती नगरी व्यवसाय र कर निरन्तर राखेको भन्दै विभागले २०औँ सम्मानका रूपमा भाटभटेनीलाई पुरस्कृत गरेको हो। गत वर्ष भाटभटेनी ’वस्तु व्यापार’ विधामा सम्मानित भएको थियो। गत वर्ष आन्तरिक राजस्व कार्यालय बागलुङलाई ‘उत्कृष्ट कार्यालय’ का रूपमा सम्मान गरिएकोमा यस वर्ष उक्त विधा हटाइएको छ । विभागले सबै २० वटै सम्मान करदातालाई मात्र प्रदान गरेको छ ।
कर सम्मानमा विधा थपेर १६ बाट २० पुराइयो,वित्तीय क्षेत्र चार विधामा विभाजन

Read Complete Original Article
Published originally on टक्सार





![दार्चुलाको हुनैनाथ मन्दिर र आसपासको प्राकृतिक दृश्य [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-16_9e7d0960_GdHK2Blq8G.jpeg)
