काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु न्याय, समावेशी विकास तथा उत्थानशील सहर निर्माणलाई प्राथमिकता दिँदै सातबुँदे ‘काठमाडौं जलवायु घोषणा २०८३’ सार्वजनिक गरेको छ । काठमाडौं जलवायु कार्य सप्ताह २०८३ को समापन समारोहमा आइतबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त घोषणा सार्वजनिक गरेकी हुन् । मंसिर ७ देखि १३ गतेसम्म सञ्चालन भएको जलवायु कार्य सप्ताहका क्रममा प्राप्त ज्ञान, अनुभव, सुझाव तथा सिकाइलाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले घोषणा जारी गरिएको डंगोलले बताइन् । घोषणाले जलवायु परिवर्तनका कारण बढ्दै गएका बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट, वायु प्रदूषण तथा प्राकृतिक र सांस्कृतिक सम्पदामाथिको जोखिम न्यूनीकरण गर्न सामूहिक प्रयास र सहकार्यलाई जोड दिएको छ । महानगरपालिकाले जलवायु परिवर्तनसम्बन्धी विषयलाई विद्यालय तहको स्थानीय पाठ्यक्रममा समावेश गर्ने तथा बालबालिका र युवालाई नीति निर्माण, निर्णय प्रक्रिया र जलवायु समाधानका गतिविधिमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ । साथै, स्थानीय तथा रैथाने ज्ञान, सीप र वैज्ञानिक अनुसन्धानलाई विकास आयोजनासँग जोड्दै प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिने घोषणा गरेको छ । काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील सहरका रूपमा विकास गर्न वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन, आकाशे पानी संकलन तथा पुनर्भरण, नदी र खोलाको पुनर्जीवन, हरित क्षेत्र विस्तार, हिटी, पोखरी तथा राजकुलो संरक्षण र विद्युतीय सार्वजनिक यातायातको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी, स्वच्छ ऊर्जाको प्रयोग, ऊर्जा दक्षता अभिवृद्धि, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण तथा पानीको मितव्ययी उपयोगलाई नागरिकको दैनिक जीवनसँग जोड्ने प्रतिबद्धता पनि घोषणामा समेटिएको छ । जलवायु न्यायको अवधारणालाई केन्द्रमा राख्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय तथा अनौपचारिक बस्तीका बासिन्दालाई विशेष प्राथमिकता दिने उल्लेख गरिएको छ । महानगरपालिकाले जलवायु सुरक्षा कुनै सुविधा नभई प्रत्येक नागरिकको अधिकार भएको मान्यतालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । घोषणामा प्रतिबद्धता सार्वजनिक गर्नुमा मात्र सीमित नभई त्यसको प्रभावकारी कार्यान्वयन र परिणाम हासिल गर्न जोड दिइएको छ । यसका लागि स्पष्ट कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ । यसका अतिरिक्त स्थानीय, प्रदेश र संघीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र तथा अनुसन्धान संस्थाबीच सहकार्यको संयन्त्र विकास गरिने भएको छ । जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्दै काठमाडौंलाई जलवायु जोखिमसँग जुध्न सक्ने समावेशी र दिगो सहरका रूपमा विकास गर्ने महानगरको लक्ष्य रहेको छ ।
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि काठमाडौं महानगरको सातबुँदे जलवायु घोषणा

Read Complete Original Article
Published originally on नेपालन्युज






