जर्मनीका संसदीय राज्यसचिव डा कोफ्लर नेपाल भ्रमणमा आउँदै

जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रीका संसदीय राज्यसचिव डा. बार्बेल कोफ्लर चारदिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् । नेपालमा रहँदा राज्यसचिव डा. कोफ्लरले जर्मनी-नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला अधिकार र स्वास्थ्य तथा भोटेकोशी बाढीको प्रभावसम्बन्धी विषयमा ध्यान केन्द्रित गर्ने यहाँस्थित जर्मनी दूतावासले जनाएको छ । उनले नेपाल सरकार, नागरिक समाज तथा अन्तरराष्ट्रिय र स्थानीय साझेदारका प्रतिनिधिहरूसँग भेटघाट गरी जर्मनी र नेपालबीचको विकास सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गर्नेछिन् । जर्मनीको संघीय सरकारले भोटेकोशी बाढीको प्रतिकार्यका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग तत्काल मानवीय सहायता सञ्चालनका साथै प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र पुनर्निर्माणका लागि दीर्घकालीन विकास सहयोगमा खर्च गरिनेछ । बाढीका परिणाम र प्रभावित क्षेत्रको मानवीय अवस्थाबारे जानकारी लिन राज्यसचिव डा कोफ्लरले नुवाकोटको भ्रमण गर्नेछिन् । भ्रमणका क्रममा उनले स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा प्रभावित नागरिकसँग अन्तरक्रिया गरी स्थलगत रूपमा मानवीय सहायता र पुन:स्थापनाका आवश्यकताबारे जानकारीसमेत लिने जनाइएको छ । काठमाडौँमा राज्यसचिव डा. कोफ्लरले जर्मन विकास सहयोगबाट समर्थित स्थानीय स्वास्थ्य संस्थाहरूको भ्रमण गर्नेछिन् । साथै, उनले स्वास्थ्य क्षेत्रका सरकारी तथा नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गर्ने बताइएको छ । यसका अतिरिक्त, उनले नेपालका वर्तमान तथा भावी विकासक्रम र चुनौतीहरूबारे विस्तृत जानकारी लिन विभिन्न छलफलमा सहभागी हुनेछिन्। ती छलफलमा गत वर्ष भएको जेन जेड आन्दोलन तथा नेपालमा सङ्क्रमणकालीन न्यायका विषय पनि समेटिनेछन् । यस क्रममा राज्यसचिव डा. कोफ्लरले विकास सहकार्यका सबै तहबाट विभिन्न दृष्टिकोण बुझ्ने अवसर प्राप्त गर्नेछिन् । त्यसैले यो भ्रमण जर्मनी र नेपालबीच लामो समयदेखि कायम रहेको विकास सहकार्यमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । राज्यसचिव डा. सन् २००४ देखि जर्मन संसद्को सदस्य छिन् । उनी सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रीका संसदीय राज्यसचिवका रूपमा कार्यरत छिन् । यस भूमिकामा उनले जर्मनीको द्विपक्षीय तथा बहुपक्षीय विकास नीतिसम्बन्धी सहकार्यको समन्वय र कार्यान्वयनमा मन्त्रीलाई सहयोग गर्दै आएकी छन्। राज्यसचिव डा. कोफ्लरले यसअघि सन् २०२२ मा पनि नेपालको भ्रमण गरेकी थिइन् । त्यस क्रममा उनले नेपालका विभिन्न साझेदारसँग छलफल गरेकी छन् । यस वर्षको भ्रमणले दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने र विगतका प्रयासलाई निरन्तरता दिँदै अघि बढ्ने अवसर प्रदान गर्ने बताइएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

विपद् प्रभावित क्षेत्रमा २४ करोड ५० लाख मात्रै निकासा, कोषमा १८ अर्बभन्दा बढी मौज्दात
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पर्याप्त रकम मौज्दात रहे पनि भोटेकोशी एवं कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रमा न्यून रकम मात्रै निकासा भएको छ । विपद् प्रभावित क्षेत्रका स्थानीय तहमा हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १८ अर्ब २८ करोड रुपैयाँभन्दा ...

सरकारी निर्णयमा तीन तहको सीमा, फाइलको अवस्था सेवाग्राहीले अनलाइनबाटै हेर्न पाउने
सरकारी कार्यालयमा फाइल घुमाउने प्रवृत्ति अन्त्य गरी निर्णय प्रक्रिया छिटो, पारदर्शी र जवाफदेही बनाउन सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण र डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’कार्यान्वयमा ल्याएको छ । नियमावलीले निर्णय प्रक्रियामा टिप्पणीको तह सीमित गर्ने, सबै सार्वजनिक निकायमा विद्युतीय प्रणाली लागू गर्ने, फाइलको समयसीमा तोक्ने र ढिलाइ गर्ने कर्मचारीलाई जवाफदेही बनाउने व्यवस्था गरेको छ । नियमावलीअनुसार मन्त्रिस्तर वा केन्द्रिय प्रशासनिक निर्णय ...

आमसञ्चार क्षेत्रलाई समयानुकूल बनाउने एकीकृत ऐन निर्माण गर्छौं : मन्त्री तिमिल्सिना
१२ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउन प्रश्तावित आमसञ्चार विधेयक, २०८३ लाई सरोकारवालाको सुझाव समेटेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा प्रश्तावित आमसञ्चार विधेयकको मस्यौदामाथि सरोकारवाला निकाय तथा पदाधिकारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । आमसञ्चार ऐनलाई… ...

भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माण अघि बढ्छ : सचिव उपाध्याय
१२ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माणको काम अगाडि बढाउने बताएका छन् । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिमा भएको छलफलमा उनले तत्कालै पुननिर्माणको काम थाल्ने बताएका हुन् । पुनर्निर्माणकाको लागी अनुदान र सहुलियतपुर्ण ऋणको प्रयोग गर्ने उनले… ...


