काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरे। उनी स्कट कुग्लेजिनको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए। त्यसैगरी, डविड मलानले १६ रन जोड्दा दीपेन्द्रसिंह ऐरीको बलमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए। ओपनर देव खनाल ७ रनमा हेमन्त धामीको बलमा एलबीडब्लू आउट भए भने अर्जुन साउद १५ रनमा कुग्लेजिनको बलमा बोल्ड भए। कप्तान सिकन्दर राजाले १५ रन र विवेक यादवले १७ रन जोडेका थिए। बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्लेजिनले २ विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक-एक विकेट हात पारे। अब सुदूरपश्चिम रोयल्सले जितका लागि जवाफी ब्याटिङ गर्नेछ।
चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १३० रनको लक्ष्य

Read Complete Original Article
Published originally on नेपालन्युज






