चितवन । मन्त्री सुनील लम्सालले चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण तथा व्यवस्थापनका लागि आवश्यक बजेटको इस्टिमेट तत्काल पठाउन र काम सुरु गर्न निर्देशन दिएका छन् । रंगशालाको अवलोकनका क्रममा मन्त्री लम्सालले निर्माण तथा व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै दुईदेखि तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । रंगशालाका प्रतिनिधिले निर्माण तथा व्यवस्थापनका लागि करिब ६० देखि ७० लाख रुपैयाँ आवश्यक पर्ने बताएपछि मन्त्री लम्सालले आवश्यक बजेटको विस्तृत इस्टिमेट तयार गरी पठाउन आग्रह गरे । उनले रंगशालामा फर्निसिङ, दर्शक बस्ने सिट र फ्लडलाइट जडानका लागि आवश्यक बजेटको छुट्टाछुट्टै इस्टिमेट बनाउन पनि निर्देशन दिए । साथै, भवन विभागसँग समन्वय गरेर काम अघि बढाउन आग्रह गर्दै बजेट व्यवस्थापन सरकारले गर्ने बताए । रंगशालाका प्रतिनिधिले काम सुरु गर्न आफूहरू तयार रहेको र दर्शक बस्ने सिट व्यवस्थापन मुख्य काम रहेको जानकारी गराएका थिए । यसका लागि प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको उनीहरूले बताएका थिए । त्यसपछि मन्त्री लम्सालले ढिलाइ नगरी निर्माणको काम सुरु गर्न र दुईदेखि तीन महिनाभित्र सम्पन्न गर्ने गरी टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिए । अवलोकनका क्रममा मन्त्री लम्सालले आगामी चौथो नेपाल प्रिमियर लिग (एनपीएल) चितवनमा आयोजना गर्न सकिने सम्भावनाबारे पनि चासो राखे । रंगशालाका प्रतिनिधिले होम–अवे फर्म्याटमा प्रतियोगिता सञ्चालन गर्ने हो भने चितवनलाई पनि आयोजनास्थलका रूपमा समेट्न सकिने बताए । रंगशाला पनि त्यस अवधिसम्म तयार हुने उनीहरूको विश्वास थियो । मन्त्री लम्सालले बजेटको इस्टिमेट, भवन विभागसँगको समन्वय, सिट व्यवस्थापन, फ्लडलाइट र टेन्डर प्रक्रियालाई तीव्रता दिन निर्देशन दिएका छन् ।
चितवन रंगशालामा काम थाल्न मन्त्री लम्सालको निर्देशन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






