चक्रवात ‘अर्नब’को प्रभाव : देशभर भारी वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशको मौसममा उल्लेखनीय फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ भने कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि वर्षा र हिमपातको आकलन गरिएको छ।

यसै क्रममा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना समेत रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको क्रम जारी रहनेछ। केही स्थानमा भारी वर्षा र हिमपातको समेत अनुमान गरिएको छ।

महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिएको छ। विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपातको जोखिम रहेको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना औंल्याइएको छ।

मौसममा आएको यो अचानक फेरबदलका कारण पाकेको धानबाली भित्र्याउनेलगायतका कृषि कार्यहरू आज र भोलि पूर्ण रूपमा स्थगन गर्न महाशाखाले विशेष अनुरोध गरेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकहरूलाई मौसममा सुधार नआउँदासम्म उच्च हिमाली क्षेत्रतर्फ नजान र त्यहाँ पुगिसकेकाहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

वर्षासँगै चिसो हवाहरी चल्दा तापक्रम घट्न सक्ने, जोखिमयुक्त बस्ती र सडक किनारमा पहिरो खस्ने तथा यसले सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित पार्न सक्ने भएकाले सम्पूर्ण सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सशस्त्र प्रहरीका ७ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन
सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानवस्रोत विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले आज एक सूचना जारी गर्दै गैरहाजिर रहेका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन भनेको हो। सूचनामा गैरहाजिर रहनुको मनासिब कारण खुलाउँदै सम्बन्धित कार्यालयमा उपस्थित ...

भुटानमा ठूलो बाढी, हिमताल फुटेको आशंका
भुटानको शिंताफू हिमताल फुटेका आशंका गरिएको छ । हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक बगाएको छ । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्याएपछि यातायात बन्द गरिएको छ । भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाइ सुरक्षित स्थानमा लैजान आग्रह गरेका छन् । पुनाखास्थित मो छु नदीमा गएराति आएको आकस्मिक बाढीले सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणालीमा आंशिक क्षति पुर्याएको ...