काठमाडौं, मंसिर १२ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयको मंसिर ११ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो । मन्त्रालयको निर्णयसँगै ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समेत फेरिएका छन् । निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ । गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । त्यसैगरी, अध्यागमन विभाग, कालिकास्थानका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सहसचिवका रूपमा सरुवा गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकमा नियुक्त गरिएको छ । मन्त्रालय तथा मातहतका निकायमा कार्यरत अन्य पाँच सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ । जसअनुसार गीता कुमारी हुमागाईँलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ । रामेछापमा लामाे समयदेखि प्रमुख जिल्ला अधिकारीकाे पद रिक्त थियाे । जसले गर्दा नागरिकका कतिपय काम राेकिएका थिए ।
गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा तथा पदस्थापना, ८ जिल्लाका प्रजिअ फेरिए

Read Complete Original Article
Published originally on जनताटाइम्स






