काठमाडौं, मंसिर १२ । राज्यको महत्वपूर्ण निकाय प्रतिनिधिसभाको सभामुखजस्तो गरिमामय पदमा रहनुभएका डोलप्रसाद अर्याल शुक्रबार बुटवलस्थित लायन्स आँखा अस्पतालमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकर्ता भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ । लायन्स आँखा अस्पतालमा अस्पताल प्रशासनको छुट्टै कार्यक्रम आयोजना गरिएको भए पनि सोही परिसरको अर्को ठूलो हलमा रास्वपाका नगर, प्रदेश तथा संघीय तहका नेता–कार्यकर्ताको भेला आयोजना गरिएको थियो । पार्टीका नगर सचिव बाबुराम अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने नगर अध्यक्ष राजेश्वर पाण्डेले सभामुख अर्यालसमक्ष स्थानीय समस्याहरू राख्नुभएको थियो । सभामुख अर्यालले आफू साझा भूमिकामा रहेको बताउँदै जनताका समस्या राख्न आग्रह गर्नुभएको थियो । तर पार्टीका नेता–कार्यकर्ताको सहभागिता, पार्टी पदाधिकारीको अध्यक्षता र सञ्चालनमा भएको उक्त कार्यक्रमले सभामुखको निष्पक्ष तथा साझा भूमिकामाथि प्रश्न उठाएको छ । अस्पतालजस्तो स्वास्थ्य सेवा प्रदान गर्ने सार्वजनिक संस्थाको परिसरमा राजनीतिक दलको कार्यकर्ता भेला आयोजना गरिनु र त्यसमा सभामुख स्वयं प्रमुख अतिथि बन्नुले संस्थाको मर्यादा र राजनीतिक निष्पक्षताबारे गम्भीर प्रश्न खडा गरेको छ । अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीको चहलपहल भइरहेका बेला राजनीतिक कार्यक्रम सञ्चालन गरिनु झनै असान्दर्भिक देखिएको छ । सभामुख अर्यालले भने कार्यक्रममा कानुन निर्माण, विकास र जनप्रतिनिधिको जवाफदेहिताबारे मन्तव्य दिनुभएको थियो । उहाँसँगै रास्वपाका सांसदहरू मन्जु भुसाल, श्रद्धा कुँवर, तौफिफ खान र अमृता विकलगायतको पनि उपस्थिति रहेको थियो ।
अस्पतालको हलमा रास्वपाको कार्यकर्ता भेला, सभामुख अर्याल प्रमुख अतिथि

Read Complete Original Article
Published originally on जनताटाइम्स






