गुगलले एप्पल कारप्लेमा जेमिनी एप उपलब्ध गराउन थालेको छ। यससँगै आईओएस प्रयोगकर्ताले कारको डिस्प्लेमार्फत जेमिनी लाइभसँग हात प्रयोग नगरी कुराकानी गर्न सक्नेछन्। यसअघि गुगलले एन्ड्रोइड अटो र गुगल बिल्ट–इन सुविधा भएका कारमा पनि जेमिनी उपलब्ध गराउन थालेको थियो। कारप्लेको स्क्रिनमा जेमिनीको आइकनमा थिचेपछि प्रयोगकर्ताले नयाँ कुराकानी सुरु गर्न वा हालै भएका कुराकानीमध्ये कुनैलाई निरन्तरता दिन सक्छन्। सडकमा ध्यान दिनुपर्ने अवस्थामा उनीहरूले कुराकानी बीचमै रोक्न, विषय परिवर्तन गर्न वा केही समयका लागि पज गर्न पनि सक्नेछन्। गुगलका अनुसार जेमिनी प्रयोग गरेर आफ्नो क्यालेन्डरमा रहेका कार्यक्रम हेर्न, नपढिएका इमेलबारे जानकारी लिन, दैनिक संक्षिप्त विवरण प्राप्त गर्न, स्थानीय ठाउँ तथा सेवाबारे सुझाव माग्न वा प्रस्तुतीकरणको अभ्यास गर्न सकिन्छ। जीएसएमएरिनाका अनुसार कारमा गरिएको कुराकानी प्रयोगकर्ताको आईफोनमा रहेको जेमिनी एपसँग पनि सिङ्क्रोनाइज हुन्छ। त्यसैले गाडी पार्क गरेपछि कुराकानीका क्रममा तयार भएका नोट वा सारांश मोबाइल एपमा उपलब्ध हुनेछन्। यो सुविधा क्रमशः आईओएसमा जेमिनी प्रयोग गर्ने सबै प्रयोगकर्तासम्म विस्तार गरिनेछ। जेमिनी लाइभले हाल समर्थन गर्ने सबै भाषामा यो सुविधा उपलब्ध हुने गुगलले जनाएको छ। यो सुविधा प्रयोग गर्न जेमिनी एपको पछिल्लो संस्करण आवश्यक पर्छ। साथै, एपमा माइक्रोफोन प्रयोग गर्ने अनुमति दिनुपर्ने र फोनबाट कम्तीमा एकपटक जेमिनी लाइभसँग कुराकानी गरिसकेको हुनुपर्नेछ। दैनिक संक्षिप्त विवरण (डेली ब्रिफ) सुविधा प्रयोग गर्नुअघि नै सक्रिय गरिसकेको हुनुपर्छ। डेली ब्रिफसहित केही व्यक्तिगतकरणसम्बन्धी सुविधा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता तथा यूरोपेली आर्थिक क्षेत्र र नाइजेरियाका प्रयोगकर्ताका लागि उपलब्ध छैनन्। The post एप्पल कारप्लेमा अब गुगल जेमिनी एप पनि उपलब्ध appeared first on Technology Khabar.
एप्पल कारप्लेमा अब गुगल जेमिनी एप पनि उपलब्ध

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






