सेप्टेम्बर त्रैमासिकमा आईफोन निर्माता एप्पलले निकै राम्रो प्रदर्शन गर्यो। यस अवधिमा कम्पनीले ११४.४८ अर्ब डलरको राजस्व आर्जन गर्यो, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो। यस समयमा कम्पनीले ३०.७ अर्ब डलरको खुद नाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ११.६३ प्रतिशतको वृद्धि हो। यस राजस्वमा आईफोनको बलियो बिक्रीको मुख्य योगदान रह्यो, साथै सेवा व्यवसायले पनि अघिल्लो वर्षको तुलनामा उत्कृष्ट प्रदर्शन गर्यो। अर्कोतर्फ, आईप्याड तथा वेयरेबल डिभाइसेज, घरेलु उपकरण र अन्य सहायक सामग्रीहरूबाट प्राप्त हुने राजस्वमा भने गिरावट आयो। एप्पलका उत्पादनहरूबाट प्राप्त राजस्व ८२.९ अर्ब डलर पुग्यो, जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो। यसमा मुख्यतया आईफोन र म्याकको बिक्रीमा भएको वृद्धिको ठूलो भूमिका रह्यो। सबै उत्पादन श्रेणी र क्षेत्रहरूमा गरी सक्रिय उपकरणहरूको कुल संख्या २.५ अर्ब नाघेको छ—यो अहिलेसम्मकै उच्च संख्या हो। यसैबीच, सेवा व्यवसायबाट प्राप्त राजस्व ३१.६ अर्ब डलर पुग्यो, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो। भिडियो, क्लाउड सेवा, भुक्तानी सेवा र विज्ञापनजस्ता क्षेत्रहरूमा निकै राम्रो प्रदर्शन देखियो—जसले कीर्तिमानी नतिजा हासिल गरे-त्यस्तै संगीत श्रेणीले पनि यस त्रैमासिकमा नयाँ कीर्तिमान कायम गर्यो। आईफोनबाट ५७.६ अर्ब डलर राजस्व प्राप्त भयो, जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो। धेरैजसो बजारहरूमा यसमा दोहोरो अंकको वृद्धि देखियो। साथै, नयाँ बजारहरूमा पनि कीर्तिमानी राजस्व प्राप्त भयो। सक्रिय आईफोनहरूको संख्या अहिलेसम्मकै उच्च स्तरमा पुग्यो। विश्वव्यापी रूपमा तथा अमेरिका, चीन, भारत र जापानजस्ता प्रमुख बजारहरूमा, आफ्ना डिभाइसहरू अपग्रेड गर्ने ग्राहकहरूको संख्याले पनि यस वर्ष नयाँ कीर्तिमान कायम गर्यो। आईप्याडबाट प्राप्त राजस्व ६.२ अर्ब डलर रह्यो, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले कम हो। यसको विपरीत, म्याकले १०.८ अर्ब डलर राजस्व आर्जन गर्यो, जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतको वृद्धि हो। यसमा म्याकबुक एयर र म्याकबुक प्रोको महत्त्वपूर्ण योगदान रह्यो। यस अवधिमा विकसित र उदीयमान दुवै बजारहरूमा उल्लेख्य वृद्धि देखियो। साथै, भारत र दक्षिण-पूर्वी एसियाली बजारहरूमा पनि नयाँ कीर्तिमानहरू कायम भए। यसैगरी, ‘वेयरएबल्स, होम एन्ड एक्सेसरीज’ श्रेणीले ८.३ अर्ब डलर राजस्व आर्जन गर्यो, जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतको गिरावट हो। The post एप्पल आईफोनको माग अत्यधिक, सेप्टेम्बर त्रैमासिकमा विश्वव्यापी रूपमा अहिलेसम्मकै सर्वाधिक राजस्व आर्जन appeared first on Technology Khabar.
एप्पल आईफोनको माग अत्यधिक, सेप्टेम्बर त्रैमासिकमा विश्वव्यापी रूपमा अहिलेसम्मकै सर्वाधिक राजस्व आर्जन

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






